विष्णु खत्री, लोकसंगीतको स्थापित नाम । ‘जाम्मु काश्मिरमा’ गाएर लाहुरेको कथा उजागर गरेका खत्रीले ‘अन्तरजातीय बिहे’ गाएर समाजमा व्याप्त छुवाछूत र विभेदका विषयलाई उठान गरे । ‘भरिया दाइ’ गाएर भरिया बनेर परिवार पालेका दुःख बोलेका उनले जनयुद्धका क्रममा बेखबर बनेकाहरूको अवस्था पहिचानमा दबाब दिन ‘कि सास चाहियो’ जस्ता प्रगतिशील गीत गाए । कहिले परदेशी नेपालीको पीडालाई ‘सुनको जलप’जस्ता दर्जनौं गीतबाट प्रस्तुत गरे ।
उनका माया पिरतीमा आधारित थुप्रै गीत लोकप्रिय छन् । उनका ‘डालीको फूल’, ‘मुस्ताङ लेतेमा’, ‘धरोधर्म सत्य’, ‘झरनाको पानी’लगायतका लोक तथा दोहोरी गीत लोकप्रिय छन् । उनै गायक खत्रीले सक्रिय राजनीति थालेका छन् । बागलुङको गल्कोटमा जन्मेका उनले गल्कोट नगरपालिकाबाट राजनीति सुरु गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) गल्कोट नगर कमिटीका उपाध्यक्ष बनेका उनले राजनीति र गीतसंगीत एकैसाथ अघि बढाउने योजना बुनेका छन् । उनी कलाकारितामा पढेलेखेका कलाकारमा गनिन्छन् । उनले अंग्रेजी र सोसोलोजीमा डबल डिग्री गरेका छन् । उनै लोकगायक तथा माओवादी केन्द्र गल्कोट नगर कमिटीका उपाध्यक्ष विष्णु खत्रीस“ग सहकर्मी शिखरजंग श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश :
लोकगीत गायनमा सफल तपाईंले राजनीतिक यात्रा किन सुरु गर्नुभयो ?
मैले जति पनि गीत गाए अधिकांश गीत समाज रूपान्तरणका लागि थिए । साथमा मनोरञ्जन त थियो नै । मलाई सानो कुराले पनि छुने भएकाले समाजमा हेपिएका, पिल्सिएका, उत्पीडिनमा परेकाहरूका विषयलाई गीत सिर्जनामा उठाउने गर्थे । ती गीतहरूको माध्यमबाट पनि चेतना अभिवृद्धिमा सहयोग पु¥याउन सहयोग गरेको अनुभूति छ । कलाकारिता मनोरञ्जनमा मात्र सीमित हुनु हुँदैन । समाज परिर्वतन र रूपान्तरणका लागि पनि प्रयोग हुनुपर्छ भन्ने मान्यता बोकेको व्यक्ति हुँ । एउटा नेताको भाषणभन्दा चेतना प्रवाहका लागि कलाकारिता प्रभावकारी देखिन्छ । सोहीअनुसार गीतसंगीतबाट समाज रूपान्तरणमा योगदान गरे ।
आफू जन्मे, हुर्केको बागलुङको गल्कोटलाई चिनाउनका लागि केही गीत गाए । जन्मभूमिको विकास र समृद्धिका लागि कुनै न कुनै राजनीतिक दलसँग प्रत्यक्ष जोडिएर अघि बढ्नुपर्ने आवश्यकता ठाँने। किनभने, अहिलेको परिस्थिति भनेको राजनीति बिना विकास असम्भव जस्तै मानेको छु । सोहीअनुसार जन्मभूमिकै लागि केही गर्नुपर्छ भन्ने सोच बनाएको थिए । यो पटक पार्टीले पनि उपयुक्त पात्र सम्झिएर जिम्मेवारी दिएको छ ।
माओवादी केन्द्र नै किन रोज्नुभयो, अन्य पार्टी पनि थिए नि ?
सबै पार्टीका विकासका एजेन्डा राम्रा छन् । जुनसुकै पार्टीका भए पनि राम्रा छविका नेताहरूलाई सम्मान गर्छु । सोही सम्मानभावले व्यवहार पनि गर्दछु । तर परिर्वतनको एजेन्डामा कन्भिन्स भएकाले नेकपा (माओवादी केन्द्र) रोजे । सोही पार्टीबाट तल्लो तहबाट राजनीति थालेको छु । पछिल्लो माओवादीले उठाएको एजेन्डा स्थापित भएको छ । जनताका प्रतिनिधिबाट संविधान, संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेशिताको सिद्धान्त मुलुकमा स्थापित बनेको छ । यी सबै एजेन्डा माओवादीको थियो । यी कुराले परिर्वतनको पर्याय भनेको माओवादी नै हो भन्ने लागेर सोही पार्टीबाट राजनीति सुरु गरेको हुँ ।
माओवादी केन्द्रप्रति कहिलेदेखि झुकाव राख्नुहुन्थ्यो ?
आस्थाको कुरा गर्ने भने दुई दशकदेखि नै झुकाव राख्छु । त्यसपछि पार्टीको सदस्यता पनि लिएको थिएँ । यो पटकदेखि काँधमा जिम्मेवारी बोकेरै राजनीतिमा होमिएको छु । मलाई के लाग्यो भने गाउँमा खानेपानीको आवश्यकता भो । व्यवस्थित बनाउन आवश्यक भो भने पनि स्रोत माग्नका लागि कुनै न कुनै राजनीतिक पार्टीको सहारा लिनुपर्ने परिस्थितिका कारण पनि सक्रिय राजनीति सुरु गर्नुप¥यो ।
खासगरी कलाकारितामा लागेका व्यक्तिमा राजनीतिक चेतना कमजोर हुन्छ भन्ने पनि गरिन्छ । तर तपाईं त राजनीतिमा होमिएर फरक नजिर प्रस्तुत गर्नु भो नि ?
म कुरामा भन्दा काममा बढी ध्यान दिन्छु । राजनीतिमा पनि फगत भाषणभन्दा पनि व्यावहारिक परिर्वतनमा जोड दिने मनसायसहित राजनीतिको मैदानमा आएको छु । कलाकारितामा पढेलेखेका मान्छे हुदैनन् भन्ने कुरा पनि चल्थ्यो । त्यसलाई काउन्टर दिन हामीजस्ता थुप्रै व्यक्ति कलाकारितामा छन् । आज राजनीतिक चेतना कमजोर हुन्छ भन्ने गरिन्छ । यहाँ राजनीतिक चेतना बलिया भएकाहरूले आफ्नो परिर्वतनका लागि बढी ध्यान दिए । समाज परिर्वतनलाई हलुका रूपमा लिए । जस्ले गर्दा जनताले अपेक्षा गरेका विकासको अनुभूति गर्न पाएनन् । अब कलाकारितामा लागे व्यक्तिले पनि राजनीति गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्नुछ । चिरफार गर्नुछ । त्यसकारण आज म राजनीतिमा छु ।
अब गीत सिर्जना र गायन क्षेत्र छोड्नु हुन्छ त ?
हुदैन । गीतसंगीतको यात्रा कहाँ छाड्न सक्छु र । राजनीतिसँगै जनताको समस्या उठानमा गीत गाइरहन्छु । संगीत यात्रा रोकिदैन । राजनीतिमार्फत जनताको सेवा गर्ने विषय भो । संगीतले अहिलेसम्म बचाएको छ । गायन, सिर्जना र राजनीतिलाई एकैसाथ अघि बढाउने सोचमै छु । राजनीतिमा लाग्नेबित्तिकै गीतसंगीत चटक्कै बिर्सने भन्ने हुँदैन । किनकि, हिजोेदेखि राजनीतिमा रहेका व्यक्तिले पनि कलाकारिताले दिएको लोकप्रियताले गर्दा नै राजनीतिमा आज मलाई स्पेस दिनुभएको छ भने मैले संगीत छाड्नै कुरै रहँदैन ।
विष्णु खत्रीले संगीतको लोकप्रियतालाई भजाएर फाइदा लिनका लागि राजनीति सुरु ग¥यो भन्लान् नि ?
राम्रो प्रश्न उठाउनुभयो । भन्नेहरूको मुख टाल्न कहाँ सकिएला र ? यति भन्न सक्छु कि लोकप्रियतालाई भजाएर फाइदा लिन खोज्ने हो भने मैले पार्टीमा अलि ठूला पदमा बार्गेनिङ गर्थे होला वा राजनीतिक नियुक्तितर्फ आँखा लाउथे होला नि । किन, तल्लो तहबाट राजनीति गर्न आँटे भने राम्रो गर्दै गएपछि जनताले विश्वास गरे भने जनताको हितमा काम गर्न सके भने यसै हाईहाई हुन्छु नि । आजसम्म गीत संगीतले बचाएर यहाँसम्म ल्यायो । मलाई कुनै लोभ लालच छैन । निस्वार्थ जनताको सेवामा खट्न सकुँ । यही नै मेरो चाहना हो । हिजो संगीतको माध्यमबाट सामाजिक क्रान्तिमा होमिएको म अब परिर्वतनका लागि राजनीतिक क्रान्तिमा होमिएको हुँ ।
त्यसो भए तपाईंको राजनीतिक गन्तव्य के त ?
मेरो राजनीतिक गन्तव्य भनेकै जनताको सेवा हो । विकास हो, समाजको समृद्धि र समुन्नति हो । अरू कुनै लोभ लालच छैन । मलाई के थाहा छ भने राजनीति गर्नेहरूले एउटा संस्कृतिको बारेमा हेक्का नराख्दा नेपाली संस्कृति लोपोन्मुख बन्दैछ । विदेशी संस्कृतिको मारमा पर्दैछ । संस्कृति मन्त्रीले नेपाली संस्कृतिको प्रर्वद्धनमा के गर्छन् । के गरे ? हेर्नुस् त । भोलि म राज्यको कार्यकारी ठाउँमा पुगे भने काम गरेर देखाउने मनसायसहित राजनीतिमा आएको हुँ । भोलि कति गर्न सक्छु, त्यो समयले देखाउला ।
मैले भन्न खोजेको चाँही राजनीति गरेपछि एकदिन सांसद, मन्त्री वा कुनै पद हत्याउँला भन्ने सोच त होला, तपाईंमा पनि ?
त्यो त विकासका चरण हो नि । आज मैले गल्कोटबाट राजनीति सुरु गरे । भोलि मैले राम्रो गर्दै जनताको मन जित्दै गए भने सांसद, मन्त्री बन्ने दिन नआउला भन्न सकिन्न । त्यो सबै मेरो राजनीतिक क्रियाकलापमा भर पर्ने कुरा भयो । एउटा अफिसमा कार्यालय सहयोगीबाट छिरेको कुनै व्यक्ति उनको संघर्षबाट पछि सोही अफिसको हाकिम पनि बन्न सक्छ नि, सक्दैन् र ? गीतसंगीतमा लागेका हजारौं कलाकार छन् नि, त्यसमध्ये जनता र समाजका समस्या उठान गरेर सिर्जना र गायनमा होमिने सीमित कलाकार मात्रै छन् नी । त्यस्तै, राजनीतिमा पनि त्यस्तै हो । राजनीतिमा होमिएका लाखौं नेता कार्यकर्ता छन् । उनीहरूमध्ये राम्रा काम गर्ने जनताको मन जितेर सांसद, मन्त्री, प्रधानमन्त्री पनि बनेका छन् । कतिपय सधैं कार्यकर्ता नै भएर पनि बाँचिरहेका छन् ।
अन्त्यमा विष्णु खत्रीले राजनीति सुरु गरे पनि तपाईंका गीत सुन्न बानी परेकाले श्रोता दर्शक निराश हुनुपर्ने अवस्था आउँदैन ?
आउँदैन । ढुक्क हुनुहोस् । हिजो जनताकै गीत गाएकै कारण आज विष्णु खत्रीको परिचय पाएको हुँ । छिट्टै सरकारलाई दबाब सिर्जना गर्ने प्रगतिशील गीत सार्वजनिक गर्ने तयारीमा छु । हिजो गीत मात्रै गाउथेँ, अब राजनीति पनि गर्छु । दुवै तर्फबाट परिर्वतनका खातिर सक्रिय हुन्छु ।
प्रतिक्रिया