काठमाडौं । प्रायः गीतमा प्रितका विषय समाबेश गरिन्छ । श्रोता दर्शकको रोजाइमा पनि माया पिरतीका विषय पर्दछन् । तर यो पटक सर्जक एकनारायण भण्डारीले लोकगीतमा मीतका कुरा समावेश गरेका छन् ।
सरल सिर्जनाका धनी मानिएका सर्जक भण्डारीले यो गीतमा निकै जोखिम मोलेका छन् । फरक कथावस्तुमा गीत चल्न सक्ने आशाका बीचमा आफैंले गाएका छन् । यसअघि आफ्नै सिर्जना ‘आँखा खोल्छु होला’मा पहिलो पटक स्वर रेकर्ड गरेका थिए । भण्डारीका लागि ‘जुम्लाबाट आउनुभयो मीत’ दोस्रो रेकर्ड हो ।
‘आँखा खोल्छु होला’ माया पिरतीमा आधारित थियो भने दोस्रो रेकर्डिङ मितेरी सम्बन्धमा केन्द्रित छ । डिजिटल बजारमा नयाँ प्रयोगलाई मन पराउने आशाले सायद गीतमा मितेरी साइनोको प्रसंगलाई ल्याएर मौलिकतालाई प्रस्तुत गरेको सहज आकलन गर्न सकिन्छ । गीतमा शब्द, संगीत र स्वर भण्डारीकै रहेको छ ।
उनको यो गीत सफल बने उनले गायकको परिचय स्थापित गर्नेछन् । गीतमा जुम्लाबाट आउनुभएको मीतको कुरा, मीतले साथैमा ल्याउनु भएको कोसेली जिम्बु, सिलाजित, हिङ, बोजो, सियो र खिप ल्याएको र त्यसको साटोमा आफूले मितलाई कोदो उपहार दिएको प्रसंगलाई मिठासपूर्वक प्रस्तुत गरिएको छ । नेपाली समाजमा हराउँदै गएको मितेरी साइनोलाई सर्जक भण्डारीले ब्युँत्याइदिएका छन् । जस्ले मौलिकतालाई उजागर गरिदिएको छ ।
कुमार केसीको निर्देशनमा निर्माण गरिएको गीतको भिडियोमा गीतको भावलाई आकर्षक तवरले उतारिएको छ । सुधीर श्रेष्ठ र विजय पुनले मीतको भूमिका निर्वाह गरेका छन् भने, सृजना जीसी मितिनीको भूमिकामा छिन् । गीतलाई एकनारायण भण्डारी यूटुबबाट अपलोड गरिएको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको यो गीतले दुई लाख नजिक भ्युज बटुलेको छ ।
सर्जक भण्डारी हरेक विधाका गीत सृजनामा पोख्त मानिन्छन् । लोकगीत लेखनबाट उदाएका भण्डारीले लेखेका थुप्रै चलचित्र र आधुनिक गीतहरू लेकप्रिय छन् । उनले लेखेका ‘डाँफे नाचेर’, ‘सुपारी चाम्रो’, ‘लालुपाते नुग्यो भुइँतिर’, ‘रातो पछ्यौरी’, ‘छिपछिपे पानीमा लेउ’, ‘सोल्टी राजाको टुम्लेट’लगायतका दर्जनांै गीत सर्वाधिक मन पराइएको गीतभित्र पर्दछन् ।
प्रतिक्रिया