देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनसँगको इन्धन खरिद प्रक्रिया कर छुटमा अड्कियो

देशान्तर

काठमाडौं । चीनको राजधानी बेइजिङमा चालु रहेको नेपाल आयल निगमको प्राविधिक टिम र पेट्रो चाइनाबीचको वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको भएपनि कर छुटमा समस्या परेको वार्तामा सहभागीले बताएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

नेपाल आलय निगमका निमित्त निर्देशक सुशील भट्टराईले वार्ता सकारात्मक रुपमा अघि बढेको तर कर छुटको विषयले वार्ता अलमलमा परेको बताए । प्राविधिक टोलीमा सहभागी अर्का सदस्य दीपक बराल भने सोमबारै नेपाल फर्किएका छन् । प्राविधिक टोलीको काम लगभग सकिएकाले दीपक बराल फर्किएका हुन् ।

बाँकी केही काम गर्नुपर्ने र पछि मन्त्रालयस्तरको टोलीका लागि केही गृहकार्य गर्न बाँकी भएकाले दूताबासको आग्रहमा आफू बेइजिङमा रहनु परेको भट्टराईले बताए । पट्रोल र डिजेल आपूर्तिमा धेरै कुरा सकारात्मक भएको र अब एलपी ग्यास आपूर्तिमा केही कुरा हुन बाँकी रहेको उनले बताए ।

पेट्रो चाइनासँगको वार्तामा सबै कुरा सहमति भए पनि कर छुटमा अडिएको भट्टराईले बताए । नेपाल सरकारले चीन सरकारलाई आन्तरिक कर छुट दिनका लागि लेखेको पत्र सोमबारमात्र प्राप्त भएकाले पनि वार्ताले ठोस नतिजा दिन नसकेको हो । नेपालले मौखिक रुपमा राखेको कर छुटको प्रस्तावलाई चीनले सकारात्मक रुपमा लिएको छ । अब नेपालले लिखितरुपमै पत्र आएकोले त्यसको जवाफ चीनले के कस्तो दिन्छ त्यसैको पर्खाइमा आफू बसेको भट्टराईले बताए ।

आन्तरिक कर, भ्याट र स्थानीय कर गरेर चीन सरकारले पेट्रोलियम पदार्थमा ६७ प्रतिशतसम्म कर लगाउने गरेको छ । आफ्ना नागरिकलाई पेट्रोलियमभन्दा विद्युतीय सवारी साधनमा आकर्षित गर्न तथा सार्वजनिक सवारी साधनप्रति तान्नका लागि यस्तो कर लगाइएको हो । यो कर छुट दिने हो भने नेपाली बजारमा भारतकोभन्दा सस्तो दरमा उच्च गुणस्तरको पेट्रोल आपूर्ति हुने भट्टराईले दावी गरे ।

तर, वर्षमा सरदर ४० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ खरिद गर्दा लाग्ने कर सानोतिनो नहुने भएकाले दुवै सरकार बसेर मात्र यसको छिनोफानो हुने भट्टराईले बताए । भट्टराईका अनुसार यसपटक पेट्रोलियम पदार्थ आपूर्ति गर्नका लागि नेपालले जसरी भए पनि चीनसँग सम्झौता गर्नै पर्ने बाध्यता रहेको छ । यदि भारतले लगाएको नाकाबन्दी तुरुन्तै हटे पनि सम्झौता हुन आवश्यक ठानेर नै आफूहरु आएको उनले बताए । अप्ठ्यारो पर्दा सहयोग मात्र माग्ने र अनुदानमा पेट्रोलियम पदार्थ माग्ने तर व्यापारिक सम्झौता नगर्ने हो भने नेपालको विश्वसनीयता नामेट हुने भएकाले पनि कठिनाइको बावजुद सम्झौता हुन लागेको उनको भनाइ छ ।

चीनबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न आमरुपमा कुरा गरेजस्तो र नेपालीहरुले आशा गरेजस्तो सजिलो चाहिँ छैन । भौगोलिक विकटतासँगै मौसमी प्रतिकूलले पनि नेपाली ढुवानीकर्तालाई अप्ठेरो पर्नेछ ।

चीनले केरुङबाटभन्दा सिगात्सेबाट नै पेट्रोलियम पदार्थ दिन इच्छा व्यक्त गरेको तर त्यहाँसम्म गएर ल्याउन नेपाललाई अप्ठेरो पर्ने भएकाले तत्कालको हिउँदे समयमा केरुङबाटै पेट्रोलियम पदार्थ आपूर्ति गर्न अनुरोध गरिएको नेपाली दूताबासका एक अधिकारीले कान्तिपुरलाई बताए ।

सिगात्सेसम्म पुग्दा दीर्घकालीन रुपमा नेपाललाई पनि हित हुने गर्छ किनभने केरुङदेखि सिगात्सेसम्म नेपाली सवारी साधनले अनुमति पाउनु भनेको ऐतिहासिक सफलता र व्यापारमा दुरगामी सकारात्मक असर पुग्ने भए पनि हिउँदको समयमा नेपाली चालकहरु ट्याङ्कर लिएर सिगात्से पुग्न नसक्ने भएकाले तत्कालका लागि केरुङबाटै पेट्रोलियम पदार्थ दिन आग्रह गरिएको उनले बताए ।

अन्तर्राष्ट्रिय बजार मूल्य सँगसँगै चिनियाँ बजारमा पेट्रोलियमको मूल्य पनि घटबढ हुने गरेको छ । सोमबारको मूल्य अनुसार बेइजिङमा उच्चस्तरको पेट्रोल ९९५० को बजार मूल्य ६।१६ चिनियाँ युआन रहेको छ । नेपाली मूल्यमा यसको रुपान्तरण एक सय तीन रुपैयाँ अठार पैसा हुन आउँछ । त्यसैगरी त्योभन्दा अलिक कम गुणस्तरको पेट्रोल (९२) को बजार मूल्य ५.७९ चिनियाँ युआन अर्थात् लगभग ९७ रुपैयाँ पर्छ । सबैभन्दा सस्तो मूल्यको पेट्रोल (९०) को बजार मूल्य ५.४२ युआन अर्थात् लगभग ९१ रुपैयाँ पर्न आउँछ ।

सोमबार राजधानी बेइजिङमा डिजेलको मूल्य ५.४१ युआन अर्थात् ९० रुपैयाँ ६१ पैसा तोकिएको छ । राजधानी बेइजिङमाभन्दा चीनको स्वायत्त प्रदेश तिब्बतमा पेट्रोल सरदर नेपाली एघार रुपैयाँ महङ्गो पर्छ ।

]]>