देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा सुरु

देशान्तर

सुर्खेत -कर्णाली प्रदेशमा आँखा उपचार सेवा सुरु गरिएको छ ।

प्रदेश अस्पतालका अनुसार आजदेखि आँखा उपचार सेवा सुरु गरिएको हो । आँखा उपचार सेवा सुरु गरेसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।

अस्पतालका निर्देशक डा। डम्मर खड्काले आँखा रोगको विभाग सुरुवात गरेर उपचार सुरु गरिएको जानकारी दिए । बिरामीहरुको आँखाको उपचारका लागि छुट्टै बाहिर पठाउनुपर्ने बाध्यता रहे पनि अबदेखि समान्य उपचार यही गर्न सकिने उहाँको भनाइ छ । अहिलेसम्म सुर्खेत आँखा अस्पतालमा मात्रै आँखाको उपचार हुन्थ्यो ।

प्रदेश अस्पतालका अनुसार आँखा उपचार सेवाका लागि दुई जना आँखारोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो । उहाँले भन्नुभयो, ‘अस्पतालमै भर्ना भएका बिरामीहरुको आँखा हेर्नुपर्ने हुन्छ । चोटपटक लागेकाको बिरामीहरु आउँछन् । उनीहरुलाई आँखाको उपचार सेवा दिनुपर्यो भने छुट्टै अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो । अब बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।’

उहाँले यही आर्थिक वर्षमा तत्काल आँखाको शल्यक्रिया सेवा पनि सुरु गरिएको जानकारी दिए ।