देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस सभापति कोइराला र मधेसी गठबन्धनबीच छलफल

देशान्तर

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग सङ्घीय समावेशी मधेसी गठबन्धनका नेताहरुले आफ्ना मागका बारेमा छलफल गरेका छन् । 

कोइराला निवास महाराजगञ्जमा आज भएको छलफलमा गठबन्धनका नेताहरुले तराई–मधेस र थरुहट क्षेत्रमा भइरहेको आन्दोलनको उचित सम्बोधनका लागि गठबन्धनले अघि सारेको संविधान संशोधनको नौ सुत्रीय मागका बारेमा ध्यानाकर्षण गराएका छन् । 

गठबन्धनले सभापति कोइरालालाई आफ्ना मागको बारेमा जानकारी गराउँदै त्यसमा सामान्य छलफलसमेत भएको तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले जानकारी दिए । 

गठबन्धनका नेताहरुले मधेसको आन्दोलनका माग सम्बोधनका लागि काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को समान धारणा नभइ समस्या समाधान हुन नसक्ने बताएका थिए । 

काँग्रेसले तराई आन्दोलनको माग सम्बोधनका लागि व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधनको प्रस्ताव अपर्याप्त भएको भन्दै गठबन्धनले आन्दोलनको मागको समग्र विषयलाई हेर्न र एउटै प्याकेजमा संशोधनको प्रक्रियालाई अघि बढाउन आग्रह गरेको संयोजक गुप्ताले बताए ।

भेटमा सभापति कोइरालाले उक्त मागका बारेमा पार्टीमा छलफल गरिने बताएको उनले जानकारी दिए । 
मधेस आन्दोलनको मागका बारेमा सबै तराई केन्द्रित दलका समान माग रहेको बताउँदै गुप्ताले सीमाङ्कनका साथै प्रतिनिधित्व प्रणाली र समावेशीकरणका विषय नै मुख्य माग रहेको अवगत गराए । 

गठबन्धनमा तराई मधेस राष्ट्रिय अभियानका साथै शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस सदभावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) सहभागी थिए । 

]]>