देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘जीवनयात्राका तरंगहरू’मा तरंगित बन्दा

देशान्तर

जीवन अनेक उल्झन, खुसी, उमंंग, दुःखहरूको यात्रा हो । जीवन चलायमान छ । यो भौतिक, मानसिक दुवै रूपले गति गरिरहन्छ अथवा हिँडिरहन्छ ।

जीवनलाई चलाउने कुराहरू छन्, जस्तो कि– रोग, भोक, इच्छा, कामना, महत्वाकांक्षा, अभाव, आवश्यकता आदि । यिनै कुराहरूले जीवनलाई कहिले यता त कहिले उता दौडाउँछन् ।

यही चलायमान जीवनका इच्छा, आकांक्षा र आवश्यकता पूरा गर्न हामी घरदेश छाड्न बाध्य बन्छौं । परदेशमा समय, श्रम र पसिना दिन्छौं । कतिपयका रहर भए पनि धेरै नेपालीको यो अवस्था बाध्यता पनि हो ।

रहर होस् वा बाध्यताले घरदेश छाडेर सपनाको देश मानिने अमेरिका उडेका हुन्, धर्मराज कोइराला ।

भनिन्छ नि– देश के हो भन्ने कुरा परदेशमा थाहा हुन्छ । हो, यस्तै देखिन्छ पनि परदेशिएकाहरूका भावना र कुरा पढ्दा, सुन्दा ।
धर्मराज कोइरालाका भावनाहरू पढ्दा र सुन्दा पनि यो तथ्य महसुस हुन्छ ।

कोइरालाले भर्खरै ‘जीवनयात्राका तरंगहरू’ नामक कविताकृति प्रकाशन गरेका छन् । यस कृतिमा कोइरालाले परिवार, समाज, राजनीतिदेखि मानवीय जीवनका बाध्यता, उतारचढावलाई कविताका विषय बनाएका छन् ।

सबैजसो कविता पिंगल छन्दमा रचना गरिएका छन् भने केही गीति छन्दमा पनि लेखिएका छन् ।

राजनीतिशास्त्र लामो समय प्राध्यापन गरेका कोइराला युवाकालमा अध्ययन गरेको संंस्कृत साहित्यबाट निकै प्रभावित रहेछन् भन्ने यसले देखाउँछ ।

लगभग डेढ दर्जन पिंगल छन्दको प्रयोग यस कृतिमा पाइन्छ । ११ अक्षरको उपजाति, १२ अक्षरका भुजंगप्रयात, स्रग्विणी, तोटकदेखि १९ अक्षरको शार्दूलबिक्रीडितसम्मका छन्द कोइरालाले प्रयोग गरेका छन् कवितामा ।

छन्द भन्नेबित्तिकै धेरै स्रष्टाका हात–पाउ गल्छन् । छन्द भनेको केके न गाह्रो चिज हो भन्ने लाग्छ धेरैलाई । यसको कारण अध्ययन र अभ्यासमा अल्छी गर्नु मात्र हो । कोइरालाका कविता पढ्दा उनी सिद्धहस्त छन्दकवि जस्ता लाग्छन् । उनकै भनाइमा उनले भारतका विभिन्न ठाउँमा संंस्कृत पढ्दा पढेका र अभ्यास गरेका आधारमा उनले छन्दकविता रचना गरेका हुन् । उसो त, नेपाली समाजमा बच्चा जन्मिएदेखि छन्द सुन्छ । लोरीदेखि हजुरबा, हजुरआमाले गाउने भजन, पढ्ने विभिन्न शास्त्र र उपनिषद्को प्रभाव स्वतः हुन्छ ।

छिरौं कृतिभित्र ।
कवि कोइरालाले यस कृतिभित्रका कवितामा जवानीका उमंग, प्रेमका उच्छाल, प्रणयका कामना गरिएका कविता संंगृहीत गरेका छन् । केही कवितामा जीवनका आरोह–अवरोहका सन्दर्भ आएका छन् भने केही अग्रज स्रष्टाप्रतिको सम्मानमा पनि कविता सिर्जना गरेका छन् कोइरालाले ।

माटोको सुगन्ध, पुर्खाको गाथा, स्वाभिमानको उचाइ पनि कवितामा अभिव्यक्त छ । प्रकृतिको सौन्दर्यगाथा, सांस्कृतिक सम्मान र प्रेम कवितामा आएका छन् । केही कविता वर्तमान राजनीतिक नेतृत्वका दुष्चरित्र, बेइमानी, अस्थिर र अराजक प्रवृत्तिप्रतिको उद्घाटन पनि गरिएको छ ।
सबैजसो कविता शास्त्रीय छन्दमा रचना गरिएका छन् । छन्दमा लेख्न निकै होसियारी अपनाउनुपर्छ । शब्द चयनदेखि यति र गतिको व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्छ । यतिले मात्र छन्दमा प्रभावकारी र स्तरीय रचना गर्न सकिँदैन, विषयको उपयुक्त छनोट र प्रस्तुतिमा कलात्मकताको लेप पनि आवश्यक पर्छ ।

यस हिसाबले हेर्दा पनि कोइरालाका कवितामा धेरै खोट लगाएर चर्को आलोचना गर्नुपर्ने ठाउँ धेरै भेटिँदैन । केही कवितालाई थोरै परिष्कार गरेका भए, केही कवितामा छन्दभंगको दोषबाट बचेका भए अझ सुन्दर हुन्थ्यो भन्ने चाहिँ पाठकलाई लाग्न सक्छ ।
मनपरेका केही पद्यः
तिमी केशरी फूलमै मग्मगाऊ
तिमी रागिनी रागमै झुन्झुनाऊ
तिमी निर्झरी सागरैसम्म जाऊ
तिमी चाँदनी चाँदमै मुस्कुराऊ ।
(उनैप्रति, पृः १)

हिमालको दुखाइमा मधेस रुन्छ तापले
मधेसको डुबाइमा हिमाल रुन्छ रापले
पहाड वक्ष–टाउको हिमाल ताज देख्दछु
मधेस फाँटबाट यो कथा सदैव लेख्दछु ।
(राष्ट्रियता, पृः ४७)