देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा साढे ८८ हजार सङ्क्रमित घरमै

देशान्तर

काठमाण्डौँ – कोरोनाभाइरसको तेस्रो लहर सुरु भए यता देशभर सङ्क्रमितको सङ्ख्या बढ्दो छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार हाल ८८ हजार ६४२ जना सङ्क्रमित घरमै आइसोलेसनमा बसिरहेका छन् ।

दोस्रो लहरको तुलनामा यसपटक अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या कम रहेको मन्त्रालयले जनाएको छ ।

बिहीबारसम्म १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा, २५७ जना आईसीयू तथा ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । यसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । बागमतीमा ६१ हजार ७४ जना होम आइसोलेसन, १ हजार १०१ जना जना संस्थागत आइसोलेसनमा, १८९ जना आईसीयूमा तथा ४० जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको कोरोना परीक्षण गर्दा ८ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ५ हजार ८१६ तथा एन्टिजेन विधिबाट २ हजार २०१ जनामा सङ्क्रमण पुष्टि भएको हो । थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँ जिल्लामा २ हजार ४०२ जना रहेका छन् ।

त्यस्तै, ललितपुरमा ५२१, भक्तपुरमा २२०, मोरङमा २८१, सुनसरीमा १५८, चितवनमा १२७, कास्कीमा ३९३, रुपन्देहीमा १४३ र कैलालीमा १८४ जना रहेका छन् । हाल काठमाडौँ जिल्लामा ३८ हजार ८५९, ललितपुरमा १० हजार ३९० तथा भक्तपुरमा ५ हजार ६१४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

५ सयभन्दा माथि उपचारार्थ सङ्क्रमितहरू भएका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ६८७ जनाले ज्यान गुमाइसकेका छन् । यही अवधिमा थप ५ हजार २९२ जना निको पनि भएका छन् ।

नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ३७ हजार ४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ८९।१ प्रतिशत रहेको छ ।