देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालका ५ यूवाले लेखाए गिनिज बुकमा नाम

देशान्तर

काठमाण्डौँ । नेपाली ५ यूवाले विश्व रेकर्ड कायम गरेका छन् । पत्रकारिता र कलाकारितामा लागेका ५ यूवाले विश्वकै अग्लो स्थानमा म्यूजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ज गरेका हुन् ।

५०२० मिटरको उचाई सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर छायांकन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको हो । गिनिज बुकको मान्यतासँगै यसअघि हाइएष्ट अल्टिच्यूड म्यूजिक भिडियो अन ल्याण्ड शिर्षकमा नेपाली यूवाहरु सञ्च बहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको छ ।

‘सुन्दर हिमाल’बोलको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे)ले लेखेका हुन् भने गीतमा डिआर अटुको संगीत र टेक नाछिरिङको स्वर रहेको छ । कोरस गायनमा माया गुरुङ र शिखर जंग श्रेष्ठ (गजरकोटे)ले साथ दिएका छन् । स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बर सिंह राई र किबोर्ड टेक नाछिरिङले बजाएका छन् । रेकडिष्टको भूमिका शिखर जंग श्रेष्ठ (गजरकोटे)ले निर्वाह गरेका छन् ।

खारेमै सुट गरिएको म्यूजिक भिडियोको निर्देशन बुद्धिराज राई (दुर्लभ जन्तरे)ले गरेका छन् । निर्देशक राईसँगै मोडल तथा डान्सर सृजना किराँती, पत्रकार तथा गीतकार शिखर जंग श्रेष्ठ (गजरकोटे) र पर्यटन व्यवसायी लक्ष्मण कार्की लगायतले अभिनय गरेका छन् ।

गंगाराम राईको छायांकन रहेको भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो । गीत रेकर्डिङ र भिडियो छायांकनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो । रेकर्ड राखेको गीत र भिडियो केही दिनमै टेक नाछिरिङको यूटुव च्यानलबाट सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।