देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘ओमिक्रोनलाई सामान्य नठानौँ’

देशान्तर

विश्वभर तीव्र गतिमा फैलिएको ओमिक्रोन भाइरसको फैलावट नेपालमा पनि निकै तीव्र देखिएको छ । माघको तेस्रो हप्तासम्म दैनिक संक्रमितको संख्या २० हजार नाध्न सक्ने प्रक्षेपण सरकारले गरेको छ । संक्रमितमध्ये अस्पताल भर्ना हुनेको संख्या भने कम रहनु तेस्रो लहरको सुखद पक्ष हो । यसको अर्थ ओमिक्रोन सामान्य भाइरस हो भन्ने बुझ्नु घातक हुन सक्छ ।

कोभिड—१९ र डेल्टा भेरियन्टभन्दा ओमिक्रोन फरक भाइरस हो । डेल्टाभन्दा ओमिक्रोन ५ गुणा चाँडो सर्छ । प्रत्येक एक डेल्टा संक्रमितले २ देखि ३ जनालाई भाइरस सार्न सक्थ्यो भने एक ओमिक्रोन संंक्रमितले ८ देखि १० जनालाई संक्रमित बनाउन सक्ने विभिन्न अध्ययनले देखाएको छ । दोस्रो भेरियन्ट डेल्टामा स्वाद हराउने लक्षण देखिएको थियो । स्वाद हराउना साथ मलाई कोभिड लाग्यो भन्ने र परीक्षण गराउने परिपाटी बढी थियो भने ओमिक्रोनमा त्यस्तो खास लक्षण देखिएको छैन् । रुघाखोकी लाग्ने, घाँटी दुख्ने, पखाला चल्नेलगायतका लक्षणमै ओमिक्रोन संक्रमण पुष्टि भएको छ । तर स्वाद हराउने लक्षण देखिँदैन भन्ने पनि होइन । कोरोनाको विकसित रूप भएकाले ओमिक्रोन पनि यसअघिका भाइरसजस्तै घातक बन्न सक्छ ।

ओमिक्रोन संक्रमितमा धेरैजसोमा रुघाखोकी नै देखिएको छ । तर रुघाखोकीले मानव स्वास्थ्यमा असर नै नगर्ने त होइन । रुघाखोकीले दीर्घ रोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रभाव पाथ्र्यो नै । रुघाखोकीकै लक्षणमा ओमिक्रोन पुष्टि भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई त प्रभावित बनाउने नै भयो ।

अहिले अस्पताल भर्ना भएका संंक्रमित हेर्दा दीर्घ रोगी र ज्येष्ठ नागरिक बढी छन् । बालबालिका पनि ओमिक्रोन संंक्रमण बढिरहेको छ । डेल्टाको अनुपातमा कम असर गर्ला तर असर त गर्छ नै । त्यसकारण सचेतना अपनाउनु पर्छ । पूरा मात्रामा खोप लगाइसकेका स्वास्थ्यकर्मीलाई पनि संक्रमण भएको छ । कतिपयलाई अक्सिजनको मात्रा कम भएर, निमोनिया भएर अक्सिजन दिनुपर्ने अवस्था पनि देखिएको छ । त्यसैले म कोरोनालाई जितिहाल्छु भनेर खेलाँची गर्ने समय छैन । एक सयमा हेर्दा जटिलता कम देखिएला तर एक जनामा जटिलता हुनु भनेको उस्को लागि शतप्रतिशत नै हो नि ।

सरकारले जारी गरेको र विज्ञहरूले सुझाएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना पर्नुपर्‍यो । सचेत बन्न सके ओमिक्रोनको सामना गर्न सक्छौ तर यो भाइरस केही होइन भनेर हलुका रूपमा दिनु भएन । तर स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कमजोरी देखिएको छ । मास्क नलगाउने, भीडभाडमा जाने, सरसफाइमा ख्याल नगर्ने जस्ता उपाय अपनाउने क्रममा कमजोरी देखिएको छ । ओमिक्रोन भाइरस कमजोर छ भन्ने बुझाइले पनि हलुका रूपमा लिइएको होला । त्यति कमजोर पनि नठानौं । यसको संक्रमणबाट कुनै असर नदेखिने भन्ने पनि होइन । त्यसैले स्वास्थ्यका मापदण्ड पालना गर्नु नै भोलिको संकटबाट बच्नु हो ।

ओमिक्रोनबाट बढिजसो बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिक प्रभावित बन्छन् । विद्यालय बन्दग रिएकाले बालबालिकाहरू घरमा छन् । उनीहरू बाहिरबाट संक्रमित हँुदैनन् । हुन्छन् भने आफ्ना अभिभावकबाट वा दाइदिदीबाट संक्रमित हुन्छन् । अहिले १२ वर्ष माथिकालाई खोप लगाइरहेकाले त्यसभन्दा मुनिकाको लागि खोप पनि आइपुगेको छैन । यही अवस्थामा बालबालिका संक्रमित हुँदा युवा पुस्ताले जस्तो सामना गर्न सक्दैनन् ।

फोक्सोमा समस्या देखिएला वा घाँटी दुख्ला, रुघाखोकी र ज्वरोलाई पनि पचाउन गाह्रो हुन्छ । यसमा घर बाहिर निस्कने अभिभावक निकै सचेत हुनुपर्छ । एक त बाहिर डुल्दा आवश्यक सावधानी अपनाउनुपर्‍यो । अर्को घरभित्र आइसकेपछि बालबालिकालाई ओमिक्रोनबाट जोगाउन भौतिक दूरी कायम गर्ने लगायतका सुरक्षाका उपाय अपनाउनुपर्‍यो ।

अभिभावकले आफ्नो परिवारको सदस्यलाई हेरेर पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना अनिवार्य देखिन्छ । बालबालिकालाई मात्र होइन्, दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई ओमिक्रोन संक्रमण र असरबाट जोगाउनका लागि हरेक अभिभावक जोगिन आवश्यक छ । यस्ले गर्दा परिवारका सदस्यलाई अप्रिय घटना वा सम्भावित संकटबाट बचाउन सकिन्छ ।

अहिले विद्यालय बन्द छन् । यसको अर्थ विद्यार्थीलाई खेल्नका लागि बिदा दिएको होइन । विद्यालयमा ओमिक्रोन संक्रमणको जोखिम उच्च देखिएकाले नियन्त्रणको प्रयासस्वरूप विद्यालय बन्द गरिएको हो । भीडभाडमा एकैपटक धेरैमा संक्रमणको जोखिम भएकाले विद्यालय बन्द गर्ने निर्णयमा सरकार पुगेको हो ।

त्यसकारणले आफ्ना बालबालिकालाई अभिभावकले साथीभाइबीच समूहमा खेल खेल्न वा जमघट गर्ने कार्यमा कस्नुपर्छ । खेलकुदका कार्यक्रममा भीडभाड बढी हुने भएकाले पनि संक्रमणको जोखिम बढी हुन्छ । फेरि घरभित्रै बस्दा पनि बालबालिकाहरू मोबाइल वा टेलिभिजनमा गेम वा कार्टुन हेरिराख्ने गर्दछन् । उनीहरूलाई त्यो हेराई लतको रूपमा विकास नहोस् भन्नका लागि अभिभावकको सक्रियतामा बौद्धिक र ज्ञानवद्र्धक खेलहरू खेलाउन सकिन्छ । जस्ले बालबालिकालाई रमाइलो सँगै फ्रेस बनाउन सहयोग गर्छ ।

यूकेमा गरेको एउटा अध्ययनले के देखाएको छ भने, खोप नलगाएका मानिस लगाएको तुलनामा १० गुण बढी अस्पताल भर्ना हुनुपर्ने सम्भावना छ । खोपले इन्फेक्सनलाई रोक्छ । ओमिक्रोनलाई पनि केही हदसम्म रोक्छ । खोपको मात्राअनुसार त्यसको प्रभावमा भर पर्ने भो । खोप लगाएकोमा ओमिक्रोन संक्रमण हुँदैन भन्ने होइन । तर अस्पताल नै भर्ना हुनुपर्ने अवस्थाबाट टाढा राख्दछ । यद्यपि, खोप लगाएका मानिस अस्पताल भर्ना नै हुनु परेमा पनि उस्को मृत्यु हुने सम्भावना निकै कम हुन्छ । संक्रमितको स्वास्थ्य अवस्था कम जटिल हुन्छ । खोप लगाएका र नलगाएकाहरू मानिकै फरक छ । त्यसकारणले आफ्नो स्थानीय सरकार, नजिकको अस्पताल, खोप केन्द्रहरूमा सम्पर्क गरेर खोप लगाउनबाट पछि हट्नु हुँदैन ।

अन्त्यमा म के भन्छु भने ओमिक्रोनलाई सामान्य रूपमा नलिउँ । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरौं । खोप लगाउन छुटेकाहरूले पूरा मात्राको खोप लगाऔँ । अब एक डेढ महिनाको समस्या हो । त्यो अवधि अलि अनुशासित र संयमित भएर बाचौँ । त्यसपछि फेरि स्वतन्त्रतापूर्वक मास्कलाई भुलेर हिँडडुल गर्ने दिन फिर्नेछ ।