काठमाडौं-राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना कर्मचारीलाई एकै पटक कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
आकस्मिक कक्ष, वार्ड, प्रशासन कर्मचारी, ब्लड ब्यांक, फिजियोथेरापी, आईसीयूमा कार्यरत स्वास्थ्य तथा कर्मचारी एकै पटक सङ्क्रमित भएका हुन् । अस्पतालको आकस्मिक कक्षबाट कोरोना सङ्क्रमण फैलिएको अस्पतालका निर्देशक डा. प्रमोद जोशीले बताए ।
कोरोना सङ्क्रमित बिरामी सबैभन्दा पहिले आकस्मिक कक्षमै आउने हुन् । ट्रमा सेन्टरका सङ्क्रमित कर्मचारीमध्ये सबैभन्दा बढी आकस्मिक कक्षमा कार्यरत नै छन् ।
आकस्मिक कक्षमा कार्यरत दुई कन्सल्टेन्ट चिकित्सक, दुई जना रेजिडेन्ट डाक्टर, एक जना हेल्थ असिस्टेन्ट र सात जना नर्स सङ्क्रमित भएका हुन् ।
त्यस्तै, विभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफ, ब्लड ब्यांकमा कार्यरत पाँचै जना कर्मचारी, फिजियोथेरापीमा ६ जना, ल्याबका सात जना र आईसीयूमा कार्यरत सात जनामा सङ्क्रमण पुष्टि भएको हो।
अस्पतालमा ५१५ कर्मचारी कार्यरत छन्। चिकित्सक तथा नर्सहरू सिफ्ट अनुसार काम गर्ने भएकाले कोरोनाले कर्मचारीको अभाव हुन थालेको हो।
प्रतिक्रिया