काठमाडौँ ।‘हिम्पी’ संगीत पारखीको लागि नयाँ शब्द हो । थुलुङ ,राई समुदायको भाषामा ‘कान्छी’लाई ‘हिम्पी’ भन्ने गरिन्छ । सोही शब्दलाई गायक कुमार प्रयासले गीतमा प्रयोग गरेका छन् ।
उनले गीतको नाम नै ‘हिम्पी’राखेर सार्वजनिक गरेका छन् । ज्योप्पा म्युजिकमार्फत सार्वजनिक गीतमा गायक प्रयासकै शब्द र संगीत रहेको छ । थुलुङ भाषामा ज्योप्पाको अर्थ सबैभन्दा राम्रो भन्ने लाग्छ ।
रंकाशु स्टुडियोमा रेकर्ड गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङ देवेश राईले गरेका छन् । सुरज तामाङको निर्देशनमा तयार नग्मा श्रेष्ठ, सञ्जीव नाछिरिङ र कुमार प्रयासले अभिनय गरेका छन् ।
सरल कथामा प्रस्तुत गरिएको गीतको भिडियोमा गीतको भावअनुसार वियोगलाई प्रस्तुत गरिएको छ । विशाल थापाले छायांंकन गरेको भिडियो सम्पादन सनम मगरले गरेका हुन् ।
सोलुखुम्बुको लोखिममा जन्मेका गायक प्रयासले यसअघि पनि आधा दर्जनभन्दा बढी गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् । उनका ‘ऋणै ऋणको भारी बोक्दै’, ‘मिठुको भट्टी पसल’, ‘जुनको आँसु’, ‘प्रवेश निषेध’लगायतका गीत दर्शक श्रोताले मन पराएका छन् ।
उनको कम्पोजिसनमा ‘परेलीको बाटो हुँदै’बोलको गीत गायिका श्रेया राईले गाएकी छिन् ।
प्रतिक्रिया