बेगले चलिरहेछ
यी समयहरू हतार हतार
जसरी
सेकेन्ड, मिनेट र घण्टा हुँदै
दौडिरहेछ घडीका पौजाहरू
मलामीहरू मुर्दा बोकेर घाटतिर दौडे जस्तै
बिरामी बोकेर समाजसेवी अस्पताल दौडे जस्तै
एक बिद्यार्थी अन्योल भविष्यमा खुसी पाउने आशामा विद्यालय दौडे जस्तै
दौडिरहेछ मेरो मनस्थितिमा ती नमिठा यादहरू
म निशब्द छु ,
आवाजहरू विलीन भएका छन् सन्नाटा छाएका छन् मेरा वरिपरि
ठप्प भएको छु, दृष्टिविहीन जस्तै एकोहोरो भएको छु
म पागल जस्तै भएको छु
कठैबराको भाव प्रस्तुत गर्दैछन् र चडाउँदै छन् भेटी
मलाइ स्पर्श गर्न आउनेहरू
म कहाँ जाऊ, कस्लाई भनौ र कसरी भनौ
रातो रङ मेरा लागी अभिशाप बनेको छ
बालापनका ती राता मिठाइँ, जामा र रिबनले मोहित बनेकी म
आज तिनै राता रङबाट अछुतो र टाढा भएको छु
हिजो बाबाको काख, दाइको हात, काकाको साथ र मामाको स्नेह बटुल्दै हुर्केकी म
आज पुरुष नामले पनि रुने, कराउने चिच्याउने र तर्सिने भएको छु
म पनि फुल्न चाहन्छु मखमली फूलहरू झै
म पनि आफ्ना रहरहरूलाई गन्तव्य दिन चाहन्छु
तर विडम्बना….
ती भागरथी र निर्मला जस्तै म पनि एक हुँ
एउटै छन् हाम्रा पीडाहरू
उस्तै छन् भोगाइहरू
फरक यत्ति छ
तिनी मारिए भने
म दिनहुँ शोषित भएर
जिउँदो लास झैं भएको छु
जिउँदो लास झैं भएको छु
रचनाकार- सुशीला भट्ट
नुवाकोट, नेपाल
प्रतिक्रिया