देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस पार्टी कुन दिशा उन्मुख हुन्छ ?

देशान्तर

चौधाैं महाधिवेशनपश्चात् सम्माननीय प्रधानमन्त्री एवं नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा पहिलो कार्यकालमा भन्दा बढी शक्तिशाली सभापति भएर उदाएका छन् । शक्तिशाली सभापतिको दोस्रो कार्यकालमा नेपाली कांग्रेस कुन दिशा उन्मुख हुन सक्छ ? यसै प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको छ यस आलेखमा ।

सभापति देउवा कांग्रेसजनबीच लोकप्रिय भएको हुनाले उनी दोस्रो कार्यकालको निमित्त निर्वाचित भएका होइनन् । यदि त्यसो हँुदो हो त दोस्रो चरणको निर्वाचन आवश्यक हुने थिएन । मतसंख्यालाई लोकप्रियताको मापदण्ड मान्ने हो भने पनि निर्वाचित एक तिहाइ केन्द्रीय सदस्यहरूले सभापति देउवाले प्रथम चरणमा प्राप्त गरेको भन्दा बढी मत पाएका छन् । त्यसैगरी प्रमुख चार पदाधिकारी (उपाध्यक्ष–२ तथा महामन्त्री–२) मध्ये केवल एक (उपसभापति) मात्र देउवा गुटबाट निर्वाचित भएको हुनाले पनि सभापतिको लोकप्रियताको आकलन गर्न सकिन्छ । तर पनि वास्तविकता भनेको देउवा पुनः सभापति पदमा निर्वाचित भएका छन् । तथा तिनको गुट सदस्यहरू केन्द्रीय कार्यसमितिमा अभूतपूर्व वर्चस्व कायम भएको छ । कांग्रेस दल भविष्यमा कुन दिशा उन्मुख हुन्छ त्यसमा सभापतिको भूमिका अहम्ं हुने निश्चित छ ।

पार्टी सभापतिको पहिलो प्रथम पाँचवर्षे कार्यकालमा दलले हासिल गरेको उपलब्धिहरूबाट अधिकांश कांग्रेसजन असन्तुष्ट थिए । कांग्रेसजन दल गतिशील होस् भन्ने चाहना राख्छन् । विगत पाँच वर्ष दल न हासको, न कुखुराको चालमा सञ्चालन भएको थियो । दोस्रो कार्यकालका निमित्त लागि त सभापतिलाई राम्रैसँग मापन गरेका थिए फैलिँदै गरेको असन्तुष्टिको चाप र ताप । जित हासिल नहुने लडाइँ नलड्न सिपालु सभापतिले पाएको भए चौधौं महाधिवेशन सम्पन्न हुन दिँदैनथिए ।

चौधौ महाधिवेशनको प्रमुख मुद्दा सभापतिको विस्थापन थियो । देउवाको विकल्प उमेद्ववारको खोजीमा अधिकांंश कांग्रेसजन लागिपरेका थिए । उनीहरू त्यस्तो प्रभावशाली नेताको खोजीमा थिए जसले नेपाली कांग्रेसलाई पुनर्जीवन देओस् । दल र आम नागरिकबीच पातलिँदै गएको सम्बन्धलाई मजबुत तुल्याओस् । शिर निहुरिएका कार्यकर्ताहरूको मनोबल उकास्न सकोस् । सक्षम, निष्कलंंक, चलायमान व्यक्ति तथा दूरगामी सोच भएको नेता चयन गर्न पाए दलले गुमाएको छवि पुनस्र्थापन गर्न सम्ंभव हुन्छ भन्नेमा अधिकांश कांग्रेसजन विश्वस्त थिए ।

विगत पाँच वर्षदेखि निरन्तर ‘वरिष्ठ नेता’ पगरी गुथेर ‘स्थापनइतर पक्ष नेता’ले आफूलाई वैकल्पिक सभापतिका रूपमा स्थापना गर्न भरमग्दुर असफल कोसिसहरू गरेकै हुन् । देउवाभन्दा तिनी प्रभाबशाली सभापति हुन सक्लान् भन्नेमा अधिकांंश कार्यकर्ता विश्वस्त हुनै सकेनन् । पारिवारिक विराशतको हकदाबी गर्ने चार स्वर्गीय नेता पुत्रपुत्री मैदानमा उत्रिए । चारै जनाले देउवालाई सत्तोसराप पनि गरे । सभापतिको कटु आलोचना गरेर लोकप्रियता आर्जन गर्ने दौड भयो । तर, कुनैले पनि देउवाभन्दा बढी सक्षम तथा प्रभावकारी भएको वा हुन सक्ने प्रमाण जुटाउने सामथ्र्य प्रदर्शन गर्न सफल रहेनन् । बदलिँदो आर्थिक, राजनैतिक, सामाजिक तथा विश्व परिवेशमा नेपाली कांग्रेसलाई कुन दिशा उन्मुख गर्ने सर्जनाशील सोचको चरम अभाव रह्यो चुनावी मैदानका उम्मेदवारहरू । दललाई नयाँ काँचुली पहिर्‍याउने भरपर्दो एकल उम्मेद्ववार थिए डा. शेखर कोइराला । डा.कोइराला हाबी भए भने आफूहरूले देउवाको नेतृत्वमा खाइपाइ आएको सुखचैन गुम्ने सम्भाबना भएको हुनाले स्थापन र स्थापनइतर गुटका प्रमुखहरू देउवाकै पक्षमा खडा भए । सभापतिलाई गाली गरेर तिनीबाट प्राप्त हुने लाभ मोह त्याग्ने हिम्मत उनीहरूले गर्न सकेनन् ।

प्रथम जनआन्दोलनको सफलतापश्चात देउवाले छरिएका परस्पर विरोधी राजनैतिक शक्तिहरू समेटेर सत्ताको शिखर पुग्न सफल हँुदै आएका छन् । कस्ले सोचेको थियो जुन नेताले आफ्नै नेतृत्वमा रहेको सरकारले गरेको तीनै तहको निर्वाचनमा दललाई ‘लज्जास्पद हार’ को भारी बोकाएर पनि पुनः सभापति पद प्राप्त गर्न सक्लान् भन्ने ? चार वर्ष नबित्दै तिनी पुनः प्रधानमंत्री पद आसीन होलान् भन्ने कल्पना पनि सायद धेरैथोरैले मात्र गरेका थिए होलान् । पटकपटक सत्तासीन हुने देउवाको राजनैतिक साख भने क्रमिक रूपमा गिर्दो छ ।

आम नागरीकबीच जति विद्यार्थी नेता देउवा लोकप्रिय थिए त्यति गृहमन्त्री देउवा हुन सकेनन् । गृहमन्त्री देउवाको दाँजोमा प्रधानमन्त्री देउवा कहीले पनि लोकप्रिय हुन सकेनन् । शक्ति सञ्चय गर्न सफल तर लोकप्रियता गुमाउँदै जानु पछाडिका अनैकौ कारणहरू (मनोवैज्ञानिक, सामाजिक, आर्थिक राजनैतिक आदि) होलान् तर सत्ता प्राप्तिका निमित्त मरिहत्य गर्ने प्रवृत्ति तथा सत्तामा टिक्नका निमित्त जुनसुकै सौदाबाजी गर्न पनि हरदम तयार हुने तिनले आर्जेको पहिचान कारणहरू प्रमुख हुन् । देउवाले प्रदर्शन गरेका अनेक चारित्रिक गुणहरूमध्ये (बिरलै कुनै पनि राजनैतिक नेतामा नहुने गुण) लोकप्रियता प्राप्तिप्रतिको तिनको शून्य चाहना हो । सत्ता बाहिर हुँदा होस् अथवा सत्तासीन हुँदा लोकप्रिय हुनका निमित्त तिनले अख्तियार गरेको पहलकदमीहरूको उदाहरण पाइँदैन । गुम्दै गरेको लोकप्रियतालाई पुनस्र्थापन गर्ने प्रयासका उदाहरणहरू भेटिने कुरै भएन ।

यदि चार वर्षपछि कुनै नाटकीय परिवर्तन भएन भने दलको संवैधानिक प्रावधानअनुसार देउवा पुनः प्रधानमन्त्री हुन सक्छन् तर दल सभापति हुन पाउँदैनन् । आउँदो चार वर्षको अवधिमा तिनले लोकप्रियता आर्जन गर्ने पहलकदमी गर्लान् भन्ने सोच राख्नु औचित्यहीन छ । त्यसैगरी तिनको नजर सत्तासीन हुने उद्देश्यबाट अन्यत्र पर्ला भन्ने कल्पना गर्नु पनि सायद अप्राकृत हुनेछ । उसै पनि एकल निर्णय गर्न माहिर देउवाका निमित्त केन्द्रीय कार्यसमितिमा आफ्नो गुटको (८२ प्रतिशत) बर्चस्व हुनु एक प्रकारले बरदान हो तिनलाई छाडा हुनका निमित्त । स्थापित सत्य हो नेताले छाडा हुने अवसर पाए भने जुन पनि खड्गप्रसादमा परिवर्तन हुन सक्छन् । देउवालाई छाडा हुने थुप्रै अवसरहरू मिलेका छन् । देश केही महिना पछि चुनावमय हुनेछ । सभापतिलाई वर्तमान गठबन्धन नेताहरूले ‘लालीपप’ देखाइसकेका छन् । गुमेको वैधता जोगाउन पुष्पकमल दाहाल र माधव नेपालका निमित्त विद्यमान गठबन्धनलाई निरन्तरता दिनु अत्यावश्यक छ । तिनका निमित्त ‘डुबते को झिल सहारा’ भएका छन्् देउवा । आउँदा दिनहरूमा उनीहरूले देउवालाई प्रधानमन्त्री पदमा निरन्तरता दिने वचन-प्रतिबद्धता सार्वजनिक पनि गर्नेछन् । ६ पटक प्रधानमन्त्री पद प्राप्त हुने प्रस्तावले सभापति माथि के, कस्तो प्रभाव पर्नेछ त्यसको बखान आवश्यक परोइन ।

नेपाली कांग्रेस दलको स्वार्थका निमित्त सैद्धान्तिक तथा रणनैतिक कारणहरूले गर्दा आगामी तिनै तहको चुनावहरूमा कुनै पनि राजनैतिक दल वा शक्तिसँग गठबन्धन गर्नु अहितकर हुनेछ । वर्तमान पाँचदलीय गठबन्धन खडगप्रसादको ज्यादतीबाट मुलुकलाई राहत तथा निकास दिनका निमित्त ऐतिहासिक आवश्यकता थियो । आउँदा दिनहरूमा त्यस्तो अवस्था आउने सम्भावना न्यून छ । देश पुनः खडगप्रसादको चंंगुलमा फस्नेवाला छैन । नेपाली कांग्रेसलाई चुनौती दिने तात्कालीक अवस्थामा अर्को दल अथवा गठबन्धन निर्माण भइहाल्ने परिस्थिति पनि छैन । यदि त्यस्तो अवस्था आएकै खण्डमा पनि कांग्रेस एक्लै सामना गर्ने अवस्थामा छ ।

समकालीन इतिहासबाट पाठ सिक्ने हो भने नेपाली कांग्रेसका निमित्त दक्षिण अथवा वामपन्थी दुवै विश्वासिला सहयात्री भएको दृष्टान्त पाइँदैन । अर्कोतर्फ तात्कालिक लाभकै निमित्त नै किन नहोस् ‘सिद्धान्तहीन सत्तामुखी दल’को कलंकबाट उन्मुक्ति पाउनकै लागि पनि कांग्रेसका निमित्त अपवित्र गठबन्धन त्यागेर अगािड बढ्नुको विकल्प छैन । नेपाली कांग्रेसको एउटा खेमा सत्ता साझेदारीकै निरन्तरता चुनाब अघिसम्म मात्र सीमित रहोस् भन्ने अडानमा छ । दुर्भाग्य उक्त खेमा पार्टी सभापतिको विरोधीहरूले भरिएको छ । सभापतिका अनुयायीहरूले यस अडानलाई सभापति विरोधी अर्को तुकहीन लफडाको संज्ञा दिने संम्भाबना पनि छ ।

लोकतान्त्रिक दलमा विरोधी धारणाको सुनुवाइ नहुने संस्कार हाबी हँुदै गरेको छ । चुनावी मैदानमा अन्य दलसँग गठबन्धन नगर्ने प्रस्तावलाई बलपूर्वक तुहाउने प्रयास हुने नै छ । दलभित्र र बाहिरबाट निहीत स्वार्थ हित संंरक्षणका खातिर गठबन्धनलाई निरन्तरता दिन सशक्त प्रयास पनि हुने नै छ । पार्टी सभापतिले विगतमा प्रदर्शन गरेको चरित्रलाई आत्मासात् गर्ने हो भने तिनका निमित्त गठबन्धनमा सामेल हुनु भनेको ज्योतिषको भविष्यवाणीलाई सही तुल्याउने सुरक्षित विकल्प ठहरिन सक्छ । कांग्रेसजनका निमित्त भने यो दुर्गामी असर पर्ने महत्वपूर्ण निर्णय साबित हुने प्रबल सम्भाबना छ । सभापतिलाई पार्टी हित विपरीतको निर्णय गर्नबाट बर्जित गर्न कार्यकर्ता जति चनाखो भएर सक्रिय हुनेछन् त्यसैले कांग्रेसले भविष्यका निमित्त तय गर्ने मार्गको कोशेढुंगा प्रमाणित हुने प्रचुर सम्भावना छ ।