देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यक्ष/महासचिवज्यू, अब त ‘नैतिकता’ देखाइदिनुहोस्

देशान्तर

समग्र नेपाली लोकतान्त्रिक स्रष्टा/लेखकहरूको नेपाली लेखक साझा संस्था छ– नेपाली लेखक संघ । २००८ सालमा बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटाहरूले स्थापना गरेको भनिएको यस संस्थालाई ‘कांंग्रेसी लेखक/स्रष्टाहरूको संस्था’ भनेर पनि चिनिन्छ । कांग्रेस भन्नु र लोकतन्त्र भन्नु पर्याय जस्तै मानिएर यस्तो ठानिएको होला वा बीपीले सुरु गरेको संस्था भन्ने ठानेर यस्तो सोचिएको पनि हुन सक्छ ।

जे होस्, लेखक संघले आफूलाई पनि कांग्रेस पार्टी निकट नै बताउँदै आएको छ तर कांग्रेसबाट औपचारिक र वैधानिक रूपमा संघले कुनै यस्तो हैसियत भने प्राप्त गरेको छैन अर्थात् नेपाली लेखक संघ कांग्रेसको भ्रातृ वा शुभेच्छुक संस्थाका रूपमा आजका मितिसम्म दर्ज भएको पाइँदैन ।

लेखक/स्रष्टाहरू संगठित हुनु आजको समयमा स्वाभाविक र आवश्यक नै ठानिन्छ । अझ एउटै विचार र आदर्शमा आबद्ध लेखक/स्रष्टाहरू एकबद्ध हुँदा भाषा, साहित्यका क्षेत्रमा अर्थपूर्ण योगदान हुन सक्ने कुरामा पनि आश्वस्त हुन सकिन्छ । तर, लेखक/÷स्रष्टाहरूमा लेखकीय स्वतन्त्रता अर्थात् अमूक राजनीतिक ‘धर्म’सँगको निकटता वा बन्धन वा भक्ति भने स्वाभाविक मानिँदैन । तथापि, हामीकहाँ लेखक/स्रष्टा वा कुनै पनि क्षेत्रका व्यक्तिहरूमा राजनीतिक असंंलग्नता खोज्नु ‘स्यालको सिङ’ खोज्नु बराबर हो ।

सन्दर्भ नेपाली लेखक संघकै ।
नेपाली लेखक संघ ‘बडेबडे’ लेखक/स्रष्टाहरूले जन्माएको र पछिल्लो समय आजका ‘हेभीवेट’ लेखकहरू डा. तुलसीप्रसाद भट्टराई, डा. विष्णुविभू घिमिरे, कृष्ण धरावासी आदिहरूले पुनर्जीवन दिएर हुर्काएको संंस्था हो । यसलाई समग्र प्रजातन्त्रप्रेमी (वादी ?) लेखक÷स्रष्टाको विश्वास र भरोसाको साझा मञ्च बनाउन प्रयास भइरहेकै हो । लोकतन्त्रमा विश्वास गर्नेहरूको संंस्था भएकाले अघिल्ला नेतृत्वले यस संस्थाको नेतृत्व बडो लोकतान्त्रिक विधि र प्रक्रियाबाटै त्यागेका वा हस्तान्तरण गरेका हुन् ।

तर, वर्तमान नेतृत्वले भने बडो अनौठो गरिरहेको छ । २०७३ वैशाखमा चुनिएको वर्तमान नेतृत्वले विधानतः तीन वर्षको वैधानिक कार्यकाल सकेको पनि झन्डै तीन वर्ष नै भएको छ । यसबीचमा न विधानतः हुनुपर्ने वार्षिक साधारणसभा एउटा पनि गरेको छ वा न त अधिवेशन गरेर वैधानिक रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै नेतृत्व हस्तान्तरण गरेको छ ।
उसो त, वर्तमान नेतृत्वले केन्द्रीय समितिको बैठक डाक्न पनि सकेन यसबीचमा भने सचिवालय बैठक बोलाउने हिम्मतसमेत पुगेको छैन नेतृत्वको । यसका कारणबारे लेखक संघका सदस्यहरूबीच व्यापक चर्चा र आलोचना व्याप्त छ । संघकै केन्द्रीय पदाधिकारी र सदस्यहरू भन्छन्, ‘लेखक संघका अध्यक्ष श्रवण मुकारुङ र महासचिव डा. रत्नमणि नेपाललगायतका केही व्यक्तिहरूले आर्थिक र नैतिक अनियमितता गरेकाले बैठक र अधिवेशनबाट भागिरहेका छन् ।’

उनीहरूको आरोप छ, ‘यसबीचमा संघले गरेका कामकारबाहीबारे कुनै निर्णय भएका छैनन् भने आर्थिक पारदर्शिता बिलकुल छैन । अध्यक्ष र महासचिवको मिलेमतोमा व्यक्तिहरूलाई निर्णय नगरी पैसा बाँडिएको छ । समितिमा कुनै पनि आर्थिक कारोबारको हिसाब बुझाइएको र निर्णय गरिएको छैन ।’

अझ कोरियामा भएको एक कार्यक्रममा अध्यक्ष र महासचिव समितिलाई जानकारी नदिई गएको, त्यहाँबाट कोरियाली र नेपाली कविको पुस्तक कोरियाली भाषामा छापेको तर ककसका कविता राख्ने भनेर तथा कोरिया कोको र कसरी जाने भनेर समितिमा कुनै निर्णय नगराएको, कोरिया जाने–आउने आर्थिक व्यय कसले र कसरी बेहोर्ने भन्ने पनि जानकारी र निर्णय नगराएको उनीहरूमाथि आरोप छ ।

अध्यक्ष र महासचिवले केन्द्रीय समितिका केही सीमित व्यक्तिबाहेकसँग कुनै परामर्श, सल्लाह र सुझाव नलिई आफ्नो हितअनुकूलका काम मात्र गरेको, संस्थागत हितका काम कुनै नगरेको, संस्थाको नवीकरणसमेत नगरेर संस्थालाई अवैधानिक बनाउन खोजेको, पदावधि सकिएको तीन वर्ष हुन लाग्दासमेत पद छाड्न नचाहेको आरोप पनि छन् ।

त्यति मात्र होइन, राजनीतिक नियुक्ति र भागबन्डामा लिप्त भएको, नियुक्ति खाने बेलामा ‘मेरो रगतमा त एमाले नै छ नि– कांंग्रेसमा गए पनि’ भन्दै केपी ओलीका आसेपासेकहाँ अध्यक्षले धाएको आरोप पनि चर्को बनेको छ ।

समग्रमा, लेखक संघलाई अनिर्णयको बन्दी बनाएको, यसबीचमा संस्थाको हितका कुनै कार्यक्रम नगरेको, पदलोलुप र आर्थिक अनियमितता गरेको, पदीय दायित्व र इमान अनि निष्ठा गुमाएको र संंस्थालाई बदनाम गराएको अध्यक्ष मुकारुङ र महासचिव नेपालमाथि गम्भीर आरोप लागिरहँदा पनि उनीहरू ले अझै इमान र नैतिकता प्रदर्शन गरेका छैनन् । यसबाट उनीहरूमाथिका आरोप अझ बलिया बन्दै गएका छन् । अझ कडा ढंंगले प्रश्नहरू उठिरहेका छन् ।

र, एउटा भिन्न नाम, प्रतिष्ठा र इज्जत कमाइरहेका अध्यक्ष मुकारुङ तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका ‘विद्वान्’ प्राज्ञिक व्यक्तित्व महासचिव डा. रत्नमणि नेपालको इमान, नैतिकता, आदर्श र निष्ठा धुलिसात् नहोस्, माथि उल्लेख भएका आरोपलाई असत्य र निस्तेज साबित गरिदिऊन् उनीहरूले भन्ने यो पंक्तिकारको कामना छ ।

यसका लागि उनीहरूमा आँट र साहस छ भने आफूले पदबाट राजीनामा दिएर आफूमाथि लागेका सबै आरोपमाथि छानबिन गर्न आह्वान गरून् र छानबिनपछि चोखिएर सम्भावित कलंकको टीका लाग्नबाट बचून् । यो हार्दिक शुभेच्छा पूरा गर्न अध्यक्ष र महासचिवले थोरै ‘नैतिकता’ देखाइदिऊन् ।