देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय एकताको अगुवाइ काँग्रेसले गर्छ : सिटौला

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय एकताको अगुवाइ नेपाली काँग्रेसले गर्ने बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घले आज यहाँ आयोजना गरेको ‘संविधान उत्तर राजनीति र यसको कार्यान्वयनमा देखापरेको चुनौती’ विषयक अन्तक्र्रियामा महामन्त्री सिटौलाले राजनीतिक स्थायित्वका लागि राष्ट्रिय एकताको अगुवाइ काँग्रेसले गर्ने बताएका हुन् ।

संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको औँल्याउँदै उनले भने, “बिनाराष्ट्रिय एकता संविधान कार्यान्वयन हुन सक्दैन, राष्ट्रिय एकताबिना कुनै पनि निर्वाचन सम्भव छैन, त्यसैले मुलुकलाई अहिले राष्ट्रिय एकता आवश्यक छ ।”

नयाँ बनेको संविधानले सबै क्षेत्रको भूगोललाई समेटेको स्पष्ट पार्दै उनले भने, “कुनै प्रदेश हिमाल, पहाड, तराई जोडिएको, कुनै हिमाल र पहाड जोडिएको, कुनै तराई मधेसमात्र र कुनै पहाड तराईमात्र भएकाले सङ्घीयताले सबै क्षेत्र समेटेको छ ।”

उनले निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्याका आधारमा मात्र नभई सबै क्षेत्रलाई र सबै जनताको भावनालाई समेटेर तोक्ने स्पष्ट पारे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले मुलुकमा भएका विभिन्न आन्दोलन नेपाली काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनका लागि पनि काँग्रेसको महत्वपूर्ण भूमिका हुने स्पष्ट पारे ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य महेन्द्र शर्माले संविधान घोषणासँगै मुलुकमा चुनौती थपिएकाले ती चुनौतीको सामना गर्न नेपाली काँग्रेस अग्रसर हुनुपर्ने बताउँदै हिमाल, पहाड र तराईका जनताको समान हकअधिकार कायम हुनेगरी संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य विजुला बर्माले नेपालको राष्ट्रियता हिमाल, पहाड र तराई भएकाले तराईको समस्या समाधान गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताए ।

नेपाली काँग्रेस कालिकोटका नेता भूपेन्द्रजङ्ग शाहीले पार्टीभित्र देखिएको भागबण्डालाई अन्त्य गरेर संविधान कार्यान्वयनमा पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपाल विद्यार्थी सङ्घका कार्यबाहक अध्यक्ष धर्मेन्द्रविक्रम नेम्वाङ, नेविसङ्घ नेता क्षितिज भण्डारी, लिलावल्लभ दाहल, शिव रिमाल, बलदेव तिमल्सेनालगायतले मधेसीका जायज मागलाई सम्बोधन गर्न नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका थिए ।

]]>