म्याग्दी — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङ संलग्न रहेको हाउजिङ कम्पनीका नाममा रहेको सम्पत्तिको मूल्याङ्कन थालेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारीमा रहेको विभागले त्यसअघि उनको संलग्नता रहेको रियल इस्टेट्स कम्पनीअन्तर्गतका घरहरूको मूल्याङ्कन थालेको हो । सोही क्रममा विभागले गत साता तामाङसँग बयान पनि लिइसकेको छ ।
‘भ्यालुयटर्सहरूबाट हाउजिङका घरहरूको मूल्याङ्कन गर्ने काम भइरहेको छ,’ स्रोतले भन्यो, ‘मूल्याङ्कनको काम सकिएपछि मुद्दा दर्ताको प्रक्रिया अघि बढ्छ ।’ तामाङ आवद्ध सिभिल सेभिङ्स एन्ड को(अपरेटिभ्सको विषय बढी संवेदनशील देखिएकाले सम्भव भएसम्म छिटो मुद्दाको प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतले बताएको छ ।
तामाङलाई मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय, विनिमय अधिकारपत्र, बीमा वा सहकारीसँग सम्बन्धित कसुरमा मुद्दा दर्ता गर्ने तयारी विमागले गरेको छ । अनुसन्धानमा तामाङले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर प्रष्ट रुपमै खुलेकाले मुद्दा दर्ताको तयारी भएको विभागले बताएको छ ।
विभागले दुई वर्षअघिदेखि(२०७६ साल) नै तामाङ आवद्ध सिभिल सहकारी र उनी आवद्ध कम्पनीहरूको गतिविधि अनुसन्धान गरिरहेको छ । सोही क्रममा तामाङ, उनकी श्रीमती र छोरीहरूको बैंक खाता र चलअचल सम्पत्तिको कारोबार पनि रोक्का गरिएको छ ।
यस्तै, तामाङ र सिभिल सहकारीका अन्य कर्मचारीहरूको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । दुई साताअघि अदालतले थुनछेक आदेश गर्दै तामाङ र सिभिल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
अदालतले पक्राउ परेका १२ मध्ये अन्य ९ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो । उनीहरूबाट ५० हजारदेखि ५० लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ । जिल्ला अदालतको आदेश चित्त नबुझेपछि यी दश जनालाई पनि मुद्दाको अन्तिम टुंगो नलागुन्जेसम्म थुनामै राख्नुपर्ने मागसहित आफूहरू उच्च अदालत जाने तयारीमा रहेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोज १८ गतेमा तामाङलाई पक्राउ गरेको थियो । उनी आवद्ध सहकारीले दुई हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया