काठमाडौं – प्रधानमन्त्री कप टि –२० क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मीलाई पराजित गर्दै अर्को विभागीय टिम नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ।
समूह ए अन्तर्गत दोस्रो खेलमा आर्मीलाई पुलिसले चार विकेटले पराजित गरेको हो। अंक तालिकामा पुलिस दुई जितसहित चार अंक बनाएर शीर्ष स्थानमा छ।
मंगलबार टियु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा आर्मीले पुलिसलाई जितका लागि १३८ रनको लक्ष्य दिएको थियो। जवाफमा उक्त लक्ष्य पुलिसले १२ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गर्यो।
पुलिसलको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट इनिङ खेल्दा मध्यक्रम पनि राम्रो लयमा देखियो। पुलिसको जितमा कुशलले २२ बलमा ३५ रन बनाए। त्यस्तै‚ अनिल साहले २२ रन बनाउँदा दिलिप नाथले २५ रन बनाएका थिए।
त्यस्तै‚ रसिद खानले १९ बलमा २८ रनको इनिङ खेल्दा योगेन्द्र सिंह कार्की ९ रनमा अविजित रहे। आर्मीका सहाव आलमले ३ विकेट लिए भने जितेन्द्र मुखियाले २ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले १९.५ ओभरमा अलआउट हुँदै १३७ रनमा समेटियो। आर्मीलाई पूरा ओभर खेल्न नदिने क्रममा करण केसीले उत्कृष्ट बलिङ गरेका थिए। उनले चार विकेट हात पारे।
प्रतिक्रिया