देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्टरनेट सेवा प्रदायक संस्थाले सर्वसाधारण ठग्दै, स्पिड वृद्धिको प्रचार राउटर बेच्ने फन्डा मात्र

देशान्तर

इन्टरनेट सेवाप्रदायक संस्थाले सर्वसाधारण जनतालाई ठगी गरेको पाइएको छ । नेपालमा रहेका नाम चलेका इन्टरनेट सेवा प्रदायक संस्थाले ग्राहक बनाउने बेला गरिएको सम्झौताभन्दा कम क्षमताको इन्टरनेट वितरण गरिरहेको पाइएको हो ।

बजारमा राम्रो सुविधा दिने भनेर चलेको भायोनेट, वर्डलिंक, सुबिसुलगायत इन्टरनेट सेवा प्रदायककै सेवा गुणस्तरीय नभएको पाइएको छ । सिनामंगल बस्ने सृष्टि भण्डारीले भायोनेट कम्पनीले दिएको नेट प्रयोग गरेको चार महिना भयो । तर, उनले भनेको जस्तो सुविधा नपाएको गुनासो गरिन् । त्यसैगरी अन्य इन्टरनेट सेवा प्रदायकको पनि अवस्था त्यस्तै रहेको छ ।

इन्टरनेट आजको अनिवार्य आवश्यकता भएको छ । जस्तोसुकै सूचना हेर्नुपरे पनि इन्टरनेटमै निर्भर हुने अवस्था छ । घरघर विस्तार भएको इन्टरनेटबाट टीभी च्यानल हेर्ने सुविधाले यसको स्तरीय सेवाको आवश्यकता बढाएको छ । लकडाउनका बेला इन्टरनेट प्रयोग गर्नु बाध्यता थियो । लकडाउनपछिको समयमा पनि लकडाउनमा इन्टरनेटको प्रयोग गरेको अभ्यासका कारण लकडाउनपछिको समयमा पनि इन्टरनेट प्रयोगकर्ता बढेको पाइएको छ ।

मानिसको दैनिक जीवनमा इन्टरनेटको आवश्यकता बढेको छ । खर्चका हिसाबले मोबाइल डाटा चलाएर साध्य हुँदैन । तर सेवा प्रदायक कम्पनीले गुणस्तर सुधार्न छोडेर स्पिडवारतर्फ केन्द्रित हुँदा सेवामा ध्यान भने दिएको पाइँदैन । समग्रमा नेपाल टेलिकमको फाइबर ने निजी सेवा प्रदायकको तुलनामा गुणस्तर रहेको पाइएको छ । तर, सरकारी भएको हुनाले भनेको बेलामा मर्मत गर्न समस्या हुने गरेको र सबै ठाउँमा सेवा सञ्चालन नभएका कारण निजीमा केन्द्रित हुनुको विकल्प छैन ।

इन्टरनेट प्रदायक संस्थाले समस्या समाधान गर्नुको सट्टा समस्यालाई नै राउटर बेच्ने फन्डा बनाएको उपभोक्ताको आरोप छ । सिनामंगलकी सृष्टि भण्डारीले गति बढाउन कम्पनीमा फोन गर्दा नयाँ राउटर लिनु पर्ने भनिएको देशान्तरलाई जानकारी गराएकी छन् ।

त्यसैगरी आईएसपीहरूले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट दिने भन्दै ग्राहक आकर्षण गर्न खोजिरहेका छन् । केही समय अगाडि २५ एमबीपीएस स्पिड पाउने गरी इन्टरनेट जोडेका एक जना उपभोक्तालाई सोही मूल्यमा २०० एमबीपीएस स्पिड दिइएको एउटा आईएसपी कम्पनीबाट एसएमएस आयो । उनले सेवा प्रदायकलाई फोन गरे र सोधे, २०० एमबीपीएस दिएको भने पनि नआएको बताए । उनले चलाएको राउटर हटाएर अर्को राउटर किन्नुपर्ने जानकारी पाए । ‘गुणस्तर छैन स्पिड मात्रै भनेर के गर्नू’, उनले देशान्तरसँग गुनासो पोखे ।

यसअघि सानो प्याकेजको लागि जडान गरिएका राउटरले हाल ती कम्पनीले दिएको स्पिडलाई नथेग्ने भन्दै चालू अवस्थामा रहेको राउटर हटाएर महँगो मूल्यमा अर्को राउटर बेच्ने गरेका हुन् । आईएसपीले साबिककै स्पिडमा गुणस्तरीय सेवा दिन छाडेर आफूखुसी स्पिड बढाउँदै डुअल ब्यान्डका राउटर उपभोक्तालाई थमाइरहेका छन् ।

ग्राहकले इन्टरनेट जडान गर्दा गरेको सम्झौतामा उल्लेख भएअनुसारको क्षमता नपाए दूर सञ्चार प्राधिकरणमा उजुरी गर्न सक्ने व्यवस्था छ । तर स्पिडको नाममा उपभोक्ताको गुनासोमा नियामक निकाय प्राधिकरण भने मौन रहेको छ ।

इन्टरनेटको स्पिड कम भएका कारण कार्यालय सञ्चालन गर्नेहरूले दुःख पोख्ने गरेका छन् । आईएसपीएनका पूर्वअध्यक्ष भोजराज भट्ट समयअनुसारका अपग्रेड प्रविधिको प्रयोग हुनु राम्रो भएको बताउँछन् । मूल्य घट्नु र स्पिड बढ्नु राम्रो हो तर गुणस्तरबिनाको स्पिडवारले इन्टरनेट व्यवसायी र यो व्यवसायलाई नै अप्ठ्यारो पार्ने उनको तर्क छ ।

नेपाली बजारमा सीजी इन्टरनेट आएपछि स्पिडवार सुरु भएको छ । सीजीले सुरुवाती समयमा व्यापार वृद्धि गर्ने नीतिअनुसार विभिन्न ठूला प्याकेज सार्वजनिक गर्‍यो । पछि सोही प्याकेजलाई निरन्तरता दिएपछि भने अन्य कम्पनी पनि ठूला प्याकेज सार्वजनिक गर्दै जान बाध्य भए ।

कोभिड– १९ को महामारी फैलिरहँदा नेपालमा भएको लकडाउनले लाखौं मानिसहरू घरभित्र बस्न बाध्य भएपछि इन्टरनेट बाध्यकारी माध्यम बन्न पुग्यो र यसको परिणामस्वरूप आईएसपीहरूको व्यापार विस्तारमा अत्यधिक वृद्धि भएको छ । नेपालमा विभिन्न इन्टरनेट सेवा प्रदायक र तीन ओटा दूरसञ्चार कम्पनीहरूले इन्टरनेट सेवा दिइरहेका छन् ।

तर, जसरी बजारमा इन्टरनेट सेवा प्रदायक संस्थाले करार गरेबमोजिम इन्टरनेटको स्पिट दिन नसक्ने धेरै उपभोक्ता रहे पनि सम्बन्धित ठाउँमा उजुरी दिने भने कम रहेको पाइएको छ । सेवा प्रदायकमा पनि पहिला ठूलो सपना बाँड्ने र त्यसअनुसार सेवा दिन नसक्ने विषय बारम्बार दोहोरिने गरेको छ ।