विगतको स्थानीय निकायको चुनावको सबैभन्दा रोचक पक्ष के थियो भने देशका प्रमुख ठूला दलले संविधानसभाबाट संविधान निर्माणको एजेन्डा आफ्नो दलले स्थापित गरेकाले त्यसको कार्यान्वयनको जिम्मा पनि आफैंले पाउनुपर्ने दाबीमा निर्वाचन लडेका थिए । तसर्थ, संविधानसभाको एजेन्डा आफ्नो दलको भएकाले त्यसको श्रेय आफूले पाउनुपर्छ भन्ने सवालमा उनीहरूबीच लुछाचुँडी नै मच्चिएको थियो । त्यसमा माओवादीको डाँको, अरूको भन्दा ठूलो र व्यापक थियो, जसलाई अस्वाभाविक पनि मानिएको थिएन ।
त्यो एजेन्डा, वास्तवमा पराइको भए पनि थाप्लामा नाम्लोको डामै बस्नेगरी त्यसको भारी बोकेर ठस्टसी कन्दै रुकुम, रोल्पाका पाखापखेरा हुँदै दिल्ली पु¥याएर १२ बुँदे सम्झौताको तारतम्मे मिलाइदिने काम त उसैले गरेको हो । त्यो यथार्थ, अहिले कांग्रेस र एमालेका नेताको विस्मृतिमा परे पनि जसले उसलाई त्यो काम गर्ने जिम्मा लाए–अह्राएको थियो, उसले बिर्सने कुरै थिएन । दुर्भाग्य के भैदियो भने त्यो भ्रमलाई मतमा परिणत गर्न चाहिने संगठनात्मक शक्ति मात्र होइन, चुनावी तिकडममा समेत माओवादीले एमालेलाई उछिन्न सकेन ।त्यसैले काम गर्ने कालु, मकै खाने भालु बन्नपुग्यो– एमाले । ओलीले प्रचण्डको कमजोरीलाई आफ्नो ताकत तुल्याउन भ्याए । जनयुद्ध र संविधानसभाको नारालाई भजाएर जितमा परिणत गर्न चाहिने शक्ति, कौशलता र अनुभव माओवादीसँग नभएको मूल्यांकन गरेर उसको कमजोरीलाई आफ्नो ताकतका रूपमा प्रयोग गर्न ओली समर्थ मात्र होइन, सफल पनि भए ।
२०७४ को पहिलो स्थानीय तहको चुनावको त्यही परिणामलाई उदाहरण बनाएर ओलीले प्रदेश र संघीय संसद्को चुनावमा माओवादीलाई चुनावी गठबन्धनका लागि तयार मात्र पारेनन्, पार्टी एकीकरणको उधारो जाल फाल्न पनि सफलता प्राप्त गरे । त्यही जालमा परेर माओवादीले ओलीको नेतृत्वमा नेकपा निर्माणको सपना साकार तुल्याउन झन्डै दुई तिहाइ बहुमतको अकल्पनीय परिणाम थमाउन पुग्यो । थोरै लगानीबाट अनपेक्षित उपलब्धि हासिल भएकाले ओलीका लागि सत्ता बाँदरका हातमा नरिवल हुनपुग्यो । त्यसको परिणाम के भयो, त्यो निकट अतीतको घटना भएकाले सबैका स्मृतिमा ताजै छ, दोहोर्याइरहन पर्दैन ।
२०७९ मा हुने स्थानीय तहको चुनाव, हिजो कांग्रेसका लागि जसरी फलामको चिउरा सावित भएको थियो, त्यस्तै परिणाम एमालेका निम्ति हुन किन निश्चित छ भने यसपालिको चुनावी हावा उसका विरुद्ध वहन थालेको छ । यद्यपि चुनावी सरकारको नेतृत्व पहिले पनि कांग्रेसले थियो, अहिले पनि कांग्रेसले नै गर्दैछ, तथापि यसपल्ट कांग्रेससँग सरकारमा नेकपा फुटेर अलग भएको माओवादी मात्र छैन, एमाले समाजवादी पनि छ । दुवैले भोट काट्ने भनेको एमालेको हो, कांग्रेसको होइन ।
कांग्रेस, सबै प्रकारका कमजोरीका बावजुद एक ढिक्का भएर चुनावमा जान कटिबद्ध छ । उतिबेला पनि समग्रमा कांग्रेसको भोट घटेको थिएन, कम्युनिस्टहरू मिलेकाले थोरै मतले मात दिन नेकपा समर्थ भएको थियो ।यसपालि त्यो स्थिति पर्लक्क पल्टिनेमा शंका छैन । किनभने कम्युनिस्ट फुटेका र कांग्रेस जुटेका छन् ।
अबको तीनै तहका चुनावमा कांग्रेसलाई अनेक कारणले सबैतिरबाट सत्र पल्टिएको छ । उसलाई सत्तामा जाने त्यस्तो राजमार्ग ओली आफैंले खोलिदिएका हुन् । उनले प्रचण्ड बहुमतको नेकपालाई तीन टुक्रामा विभाजित गरिदिएर भष्मासुरको नयाँ अवतार बनेकाले मात्र होइन, त्यस्तो फुट र विभाजनलाई गाउँपालिका र नगरपालिकाका वडा तथा टोलसम्म पुर्याइदिएकाले पनि उनको त्यो कार्य कांग्रेसलाई सत्ताको भ¥याङ बन्न पुगेको हो । त्यसमाथि उनको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई आफैंमा लागू गरेर उनका कार्यकर्ता समृद्ध हुनु भनेकै सबै नेपाली सुखी हुनु हो भन्ने अद्भुत परिभाषा लगाउन पुगे । त्यसो गरेर उनले कांग्रेसलाई चुनावी मुद्दा खोज्न कतै जानै नपर्ने तुल्याइदिएकै छन् ।
त्यत्ति मात्र होइन, कोरोनाजस्तो महामारीमा समेत उनले चीनबाट औषधि झिकाउने नाममा आफ्ना प्रियजनहरूलाई त्यसको लाइन्सेस दिएर भ्रष्टाचार गर्न लगाएको घटनाले उनलाई मुर्दाको कात्रो पनि चोर्न लगाउने भ्रष्टाचारीको तल्लोस्तरको उदाहरण प्रस्तुत गरिदिएका छन् ।फलस्वरूप तस्बिर यस्तो बन्नपुगेको छ, नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष सबैले टोल र गाउँमा सबैभन्दा राम्रा घर निर्माण गरेर भ्रष्टाचारी खोज्न अन्त कतै जानु नपर्ने प्रबन्ध गरिदिएका छन् ।
भ्रष्टाचारबाट अर्जित पैसाले डोजर खरिद गर्दै विकासका योजना बनाउने, बजेट छुट्ट्याउने, आफ्ना मान्छेलाई ठेक्कापट्टा दिने, अनुगमन गर्ने मात्र होइन, भुक्तानी पनि आफैं दिने विचित्रको आर्थिक नियम र विकास पद्धति बसालेर गरेको भ्रष्टाचारको चक्रवर्ती पद्धति जनताबाट छिपेको छैन । उनीहरू एमालेलाई ती सबैको जवाफ दिने अवसर कुरेर बसेका छन् । जनताले राजनीतिक दल तथा तिनका नेतालाई पाठ सिकाउने अवसर भनेको चुनाव नै हो । त्यही मौकामा चौका हान्न उनीहरू तत्पर भएर बसेका छन् ।
यसपालि कांग्रेसलाई चुनावी मुद्दा बनाउन ओली नेतृत्वको सरकारले गरेका असंख्य भ्रष्टाचार केलाउने खाँचो पनि नपर्ने भएको छ । एमाले र ओलीको शासकीय असक्षमता नै सबै तहका चुनावमा भोट नदिन पर्याप्त छ, थप कारण खोजी रहनै पर्दैन । जसले दुई तिहाइको बहुमत जुटाउन उपेन्द्र यादवको पार्टीलाई सरकारमा सामेल गरेको हो, उसैले यादवलाई सरकारमा टिकाइराख्नुको बदला घोक्र्याउने काम गरेर विनाश काले विपरीत बुद्धिको उदाहरण प्रस्तुत गरे । तैपनि त्यो सरकारलाई नेकपाबाहेक अन्त कतैबाट समस्या र संकट थिएन । ओली आफैंले प्रचण्ड र माधव नेपाल दुवैलाई चिढाएर पार्टीभित्र एकसाथ दुईतिर मोर्चा खोल्न पुगे ।
त्यही मूर्खता उनको पतनको कारण मात्र बनेन, आफ्नो नेतृत्वको सरकार गिराउने आधुनिक भष्मासुरको उदाहरण पनि बन्नपुगे । त्यस्ता व्यक्ति र उनले नेतृत्व गरेको पार्टीलाई मतदान गर्नु भनेको आफैंलाई मूर्खका पंक्तिमा खडा गर्नु हो । ठोकेर भन्न सकिन्छ, नेपाली मतदाता त्यत्ति मूर्ख छैनन् ।
कांग्रेसले यही एउटा विषयलाई शिष्ट र सभ्य तरिकाले मतदातासम्म पुर्याउने जतन गर्न सक्यो भने ओली र एमालेलाई पराजित गर्न अरू कुनै आक्षेप लगाउन र गालीगलौज गरिरहन पर्दैन । सञ्चारका माध्यमहरूको सहयोगमा यही एउटा विषयलाई विभिन्न कोणबाट प्रस्तुत गर्ने र पार्टीका सबै इकाई तथा भ्रातृसंगठनले समवेत स्वरमा त्यही नारा दोहोर्याई तेहर्याई मतदातासम्म पुर्याउन सके भने एमालेविरुद्ध उसले छुच्चा कुरा उठाइरहनै पर्ने छैन । जनताले देखेका र भोगेका यथार्थ, सम्झाइदिनु मात्र पर्छ सचेत मतदाता आफैं जुर्मुराउने छन् । त्यसरी जनता जुर्मुराएर उठेपछि ठूल्ठूला तानाशाहका सम्राज्य ध्वस्त भएका छन्, त्यो परिवेशमा आकलन गर्दा ओली र एमाले त झुसे बारुला ठहरिने छन् ।
प्रतिक्रिया