देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस किन खुम्चिँदै छ ?

देशान्तर

बीपी कोइरालाले आफ्नो एउटा अन्तर्वार्तामा भनेका छन्, –‘२००७ सालको क्रान्तिपूर्व हामीले देशभर जय नेपालको ‘कल’ दियौं, त्यतिबेलासम्म नेपाल भनेर काठमाडौंलाई मात्र चिनिन्थ्यो । क्रान्तिको क्रममा मेची महाकालीलाई नेपाल हो भन्ने सन्देश दियौं । हामीसंँग पार्टी थियो, नेपाली कांग्रेस पार्टी । पार्टीले नै देशलाई जोड्न सक्छ । विचार बोकेको पार्टी बाहेक कसैले पनि देशलाई जोड्ने सामथ्र्य राख्दैन ।’
बीपीको त्यो अन्तर्वार्तामा प्रयोग भएको भाषा फरक हुन सक्छ, तर आसय यही थियो । हुन पनि कांग्रेस देशव्यापी पार्टीका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल छ । आधुनिक नेपाली राजनीतिमा कांग्रेसको भूमिका यस कारण पनि महत्वपूर्ण रहँदै आएको छ कि उसले आफ्नो स्थापनाकालदेखि नै गर्दै आएको निर्णयले सिंगो देश तरंगित हुन्छ । तर आजको दिनमा आउँदासम्म कांग्रेसको त्यो प्रभाव कायम छ कि छैन ? भनेर समीक्षा गर्नुपर्ने देखिएको छ ।

गत मंगलबार राष्ट्रियसभाका लागि हुँदै गरेको निर्वाचनमा कांग्रेसको जसरी उम्मेदवारी प¥यो, त्यसले कांग्रेसको राष्ट्रिय प्रभावका बारेमा धेरै कुरा सोच्न बाध्य वनाएको छ । १९ सिटका लागि हुँदै गरेको निर्वाचनमा एमालेले १९ जना उम्मेदवार खडा गरेको छ भने कांग्रेसले जम्मा ६ जनालाई उम्मेदवारका रूपमा अगाडि बढाएको छ । जुन संख्या माओवादी र एकीकृत समाजवादीको भन्दा जम्मा एक मात्र बढी हो । यो उम्मेदवारीले एउटा प्रश्न खडा गरिदिएको छ कि के कांग्रेस अब निर्वाचनमा तेस्रो हुने कि दोस्रो हुने भनेर प्रतिस्पर्धामा उत्रने हैसियतमा पुगेको हो त ? कांग्रेसका सामु यो प्रश्न गम्भीर चुनौती बनेको छ । नेपालको राजनीतिक दलका बारेमा चासो राख्नेहरूले पनि यो प्रश्नलाई गम्भीर र आश्चर्यजनक रूपमा लिएको हुनुपर्दछ ।

कांग्रेसको अर्को पनि विशेषता छ । कांग्रेसले नेपालभित्रको कुनै पनि दल, समुदाय, वर्ग वा भूगोललाई दुस्मन वा शत्रु किटान गरेको छैन । यो दलभित्र सबै अटाउन सक्छन् भन्ने मान्यताका साथ स्थापना भएको पार्टी हो कांग्रेस । जबकि कम्युनिस्टहरूको स्थापनाको उद्देश्य हेर्दा उनीहरू सर्वहारावर्गको पार्टी भनेर घोषणाका साथ स्थापित भएको पाइन्छ भने धेरै पछिसम्म कांग्रेसलाई मुख्य दुस्मनका रूपमा किटान गर्दथे । यसले के देखाउँछ भने कांग्रेस मात्र सिंगो देशको दल थियो भने अन्य दलहरू निश्चित समूह, वर्गको । पछि त तराई केन्द्रित दलहरू पनि जन्मे, जस्ले निश्चित भूगोललाई आफ्नो कर्म क्षेत्र बनाएका छन् ।

यो पृष्ठभूमिमा नेपाली कांग्रेस एक्लै देशभर चुनाव लड्न नसक्ने, तोकिएको सिटमा आफ्नो उम्मेदवारी दिन नसक्ने अवस्थामा पुग्नुले कांग्रेस कहीँ न कहीँ चुकेको छ भन्ने निष्कर्ष निकाल्न सकिने अवस्था छ । टोल तहसम्म संगठन निर्माण गरेको पार्टी निर्वाचनमा जान नसक्दा किन त्यसरी संगठन गर्न पर्‍यो त ? भन्ने सवाल कार्यकर्ता पंक्तिमा पनि स्वाभाविक रूपमा उब्जन्छ । यस्तो सवालले कार्यकर्तामा निराशाबाहेक अरू केही पनि सञ्चार हुन दिँदैन । निराश कार्यकर्तासहितको पार्टी पक्कै पनि विघटनको मार्गतर्फ उन्मुख हुने गर्दछ । के कांग्रेसले त्यस्तै बाटो रोजेको हो त ? यो प्रश्नले पनि कार्यकर्ताको मनमा घर जमाउन थालेको पाइन्छ । जबकि कांग्रेसभित्र बरु चुनाव हार्ने, तर एक्लै चुनावमा जाने भन्ने मत बलियो छ । केही समय अगाडिको एउटा कार्यक्रममा कांग्रेसका तत्कालीन सहमहामन्त्री डा.प्रकाशशरण महतले कांग्रेस भित्र अझै पनि गठबन्धन गरेर चुनावमा जाने कुरालाई स्वीकार गर्न सक्ने संस्कृतिको विकास भई नसकेको बताएका थिए । नेतृत्व तहमा पनि यस्तो बुझाइ भएको अवस्थामा पनि एक्लै चुनावमा जान नसक्ने बाध्यता कांग्रेसका लागि किन आइप¥यो भन्ने जवाफ नेतृत्वले आम कार्यकर्ता र शुभेच्छुकहरूलाई दिनु पर्दछ ।

मन परेको पार्टी रोज्ने मतदाताको अधिकारको अभ्यास निर्वाचनका माध्यमबाट हुने गर्दछ । त्यसकारण मतदाताले त्यो अधिकार प्रयोग गर्ने अवसर पाउनै पर्दछ । त्यसका लागि दलहरू पहिले नै मिलेर चुनाव लड्ने अभ्यासले नागरिकको त्यो अधिकारको सही उपयोग हुन सक्दैन । निश्चित एजेन्डा वा जनमत संग्रहका लागि दलहरू मिलेर चुनावमा जान सक्छन् । तर नियमित प्रक्रिया अन्तर्गतको निर्वाचनमा पनि दलहरू मिलेर चुनाव लड्नु भनेको चुनावसँग डराएको मानसिकता हो । कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहले भनेका थिए, ‘एउटा चुनाव मात्र हेरेर राजनीति गर्ने राजनेता हुन सक्दैन, नेताले त १०–२० वर्षसम्मको परिकल्पना गरेर अगाडि बढ्न सक्नु पर्दछ ।’ यस्तो स्कुलिङमा हुर्किका कांग्रेसजनहरू चुनावसँग डराएर मिलेर चुनाव लड्ने कुरालाई कसरी सहज रूपमा स्वीकार गर्न सक्लान् । कार्यकर्ता पंक्तिको यो मनोविज्ञानलाई पनि नेतृत्वले गम्भीर रूपमा लिनु पर्दछ । होइन भने कांग्रेसको संगठन निर्माणका आधार मानिने कार्यकर्ताहरू निराश भएर बस्नेछन् । अर्को पार्टीको चुनाव चिह्नमा मत हाल्नुपर्ने, माग्नुपर्ने हो भने किन आफ्नो पार्टी निर्माणका लागि पसिना चुहाउने ? कार्यकर्ताको मनमा उब्जने यो प्रश्नको जवाफ नेतृत्वले दिन सक्ने ठाउँ रहँदैन ।

गएको स्थानीय निर्वाचनमा कांग्रेसले केही ठाउँमा तालमेल गरेको थियो । त्यो तालमेललाई कांग्रेस कार्यकर्ताले नै रुचाएका थिएनन् । चितवनमा त त्यहाँका नेताहरूले ‘अब केन्द्रमा तालमेल भए पनि जिल्लामा हामी मान्दैनांै’ भनेर चुनौती नै दिइरहेका छन् । अन्य ठाउँमा पनि तालमेललाई सहजै रुचाइएको छैन । राष्ट्रिय सभामा भएको तालमेललाई पनि कार्यकर्ता पंक्तिले खासै रुचाएको देखिँदैन । यद्यपि सीमित मतदाता भएका कारण त्यो असन्तुष्टि प्रकट भएको छैन । नेपाली राजनीतिमा प्रमुख दलहरूमा तालमेलको अभ्यास अझै सहज बनिसकेको छैन । यो एउटा पक्ष हो । यहाँ उठाउन खोजेको पक्ष भनेको कांग्रेस जस्तो पार्टी एक्लै चुनाव लड्न नसक्ने अवस्था किन आयो भन्ने हो । कार्यकर्ताले पनि नरुचाउने गरी नेतृत्वले किन यस्तो बाटो लिन थाल्यो भन्ने नै हो ।

के कांगे्रस कमजोर भएकै हो त ? के कांग्रेसले सत्ता तालमेलका लागि मात्र आफ्नो रणनीति बनाउने हो त ? कांग्रेसको केही लक्ष्य छैन त ? देशका लागि आफ्नो तर्फबाट योगदान दिन सक्ने कुरामा आत्मविश्वास गुमेकै हो त ? बीपी कोइरालाले बीबीसीसँगको एउटा अन्तर्वार्तामा ‘दक्षिण एसियामा नै योगदान दिन सक्ने लक्ष्य’ रहेका बताएका थिए । अहिलेको अवस्थामा कांग्रेसका नेताहरूले देखेका त्यस्ता महान् लक्ष्यहरू कांग्रेसले बिर्सेकै हो त ? अब आफ्नै बहुमतको सरकार बनाउँछु भन्ने लक्ष्यसमेत कांग्रेसले लिन छाडेको हो त ? लोकतन्त्रका लागि एक्लै लड्दै आएको कांग्रेस अब लोकतन्त्रीकरणको अभियन्ता बन्दै अगाडि बढ्न नसक्ने गरी थलिएको हो त ? यस्ता तमाम प्रश्नहरू यतिबेला नेपाली राजनीतिमा चासो राख्नेहरूको मानसपटलमा जन्मिरहेका छन् ।

यी प्रश्नले कांग्रेस नेतृत्वलाई झकझक्याउन सक्नु पर्दछ । नेतृत्वले पनि अगाडिको निर्वाचन र सत्ता मात्र हेर्न कुराबाट माथि उठेर कांग्रेसको लक्ष्य पहिचान गर्दै त्यसलाई पछ्याउने मार्गमा आफूलाई हिँडाउने प्रण गर्नु पर्दछ । कार्यकर्ताको मौनता र नेतृत्वको आत्मसमीक्षा बिनाको निर्णयले सही ठाउँमा पार्टीलाई पु¥याउँदैन । कांग्रेसको पहिचान र नेपाली समाजका लागि आफ्नो आवश्यकतालाई जीवन्त राख्न पनि कांग्रेसले फेरि एकपटक आफ्ना नीति रणनीतिहरूको निर्मम समीक्षा गर्न आवश्यक देखिएको छ । यो पटकको महाधिवेशन नेतृत्व चयनका लागि मात्र थियो ।

अब कांग्रेसले नीति, रणनीति निर्माणका लागि महाधिवेशन गर्नै पर्ने छ । त्यो महाधिवेशन यस्ता सबालहरूमा गम्भीरतापूर्वक निर्णय लिन सक्षम हुनुपर्दछ । आफ्नो अलग र फरक उपस्थिति प्रदर्शन गर्न सकेन भने कांग्रेस पनि के कांग्रेस ? लोकतन्त्रको सही अभ्यासका लागि संस्थाहरू बलिया हुनु पर्दछ ।

राजनीतिक अभ्यास गर्ने राजनीतिक दलहरू महत्वपूर्ण संस्था हुन् । यी संस्था नै कमजोर बन्न थाले भने, आफ्नो राष्ट्रिय स्वरूपलाई खुम्च्याउन थाले भने त्यसले अन्ततः लोकतान्त्रिक अभ्यासलाई नै कमजोर बनाउँछ । त्यसकारण कांग्रेसले आफ्नो रणनीति तय गर्दा गम्भीर बनेर समीक्षा गर्न जरुरी देखिएको छ ।