देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैदेशिक व्यापारमा ३७ प्रतिशत गिरावट

देशान्तर

काठमाडौँ, २४ मङ्सिर । हाल प्रमुख भन्सार बिन्दुमा उत्पन्न असहज परिस्थितिका कारण मुलुकको वैदेशिक व्यापार प्रभावित भई चालु आवको प्रथम चार महिनामा देशको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.५ प्रतिशतले कमी आएको छ । 

 व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार २०७२÷७३ को सो अवधिमा रु एक खर्ब ८१ अर्ब ४८ करोड रहन गएको हो । भारततर्फको निर्यात व्यापारमा उल्लेख्य कमी आए तापनि तेस्रो मुलुकतर्फको निकासी व्यापारमा खासै ठूलो उतारचढाव नदेखिएको केन्द्रले जनाएको छ ।

    कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.५ प्रतिशत र ८८.५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा कुल निकासी ३०.५ प्रतिशतले कमी आई रु २० अर्ब ८५ करोड तथा कुल पैठारीमा ३८.३ प्रतिशतले कमी आई रु एक खर्ब ६० अर्ब ६३ करोड सीमित भएको हो । 

    सो अवधिमा निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र टिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल र जडीबुटी प्रमुख छन् ।

    समीक्षा अवधिमा पेट्रोलियम पदार्थलगायत औद्योगिक कच्चापदार्थ, मसिनरी, यातायातका साधन तथा खाद्यान्नको आयातमा भारी गिरावट आएको देखिन्छ । निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, फ्रान्स, जापान, इटाली, चीन, क्यानडा, टर्की, नेदरलेन्ड्स, अस्ट्रेलिया, बङ्गलादेश र स्वीट्जरल्याण्ड प्रमुुख छन् । 

    त्यसैगरी सोही अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा फलाम तथा स्टिल र टिनका उत्पादनको आयातमा ३६.० प्रतिशतले कमी आई रु १७ अर्ब ४० करोड, पेट्रोलियम पदार्थमा ६२.९ प्रतिशतले कमी आई रु १५ अर्ब ३५ करोड र यातायातका साधन र टिनका पार्टपुर्जामा ४१ प्रतिशतले कमी आई रु १० अर्ब २३ करोडमा सीमित भएको छ । 

    त्यसैगरी इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीमा ४४.३ प्रतिशत, औषधिमा ४०.८ प्रतिशत, मसिनरी तथा पार्टस्मा ३७.७ प्रतिशत, पोलिथिन ग्रेन्युल्समा २९.१ प्रतिशत, कच्चा पाम आयलमा ५०.८ प्रतिशतले कमी आएको छ । 

    निर्यात गन्तव्यमध्ये भारततर्फको निर्यातमा ३९.३ प्रतिशतले कमी आएको हुनाले समग्र निकासीमा ह्रासोन्मुख स्थिति देखिएको छ । यसैगरी आयाततर्फ पनि समीक्षा अवधिमा भारतबाट हुने आयातमा पनि ४३ प्रतिशतले तथा अन्य प्रमुख स्रोत मुलुकबाट पनि उल्लेख्यरुपमा आयातमा कमी आएको छ । 

    अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९.४ प्रतिशतले कमी आई मुलुकको कुल व्यापार घाटा रु एक खर्ब ३९ अर्ब ७८ करोडमा सीमित हुन गएको केन्द्रका निर्देशक सुयस खनालले जानकारी दिनुभयो । 

    प्रथम चार महिनाको मासिक व्यापार साउन, भदौ, असोज तथा कात्तिकमा निकासी व्यापार क्रमशः रु छ अर्ब ४९ करोड, पाँच अर्ब ७८ करोड, चार अर्ब ५६ करोड र चार अर्ब दुई करोडमा सीमित रहेको छ । यसै अवधिमा पैठारी व्यापार क्रमशः रु ६२ अर्ब आठ करोड, ४४ अर्ब २२ करोड, २४ अर्ब ३८ करोड र रु २९ अर्ब ९५ करोड रहेको छ । 

    त्यसैगरी केन्द्रका अनुसार समीक्षा अवधिको प्रथम चार महिनामा पेट्रोलियम पदार्थको मासिक आयात क्रमशः रु छ अर्ब ८६ करोड, रु चार अर्ब ९९ करोड, एक अर्ब ५३ करोड र रु एक अर्ब ९७ करोड छ । 

    यसका साथै विनाशकारी भूकम्पका कारणले चीनतर्फको प्रमुख भन्सार बिन्दुमा दुवैतर्फको सडक यातायातमा अवरोध सिर्जना भई नेपालको चीनतर्फ हुने निर्यात तथा आयात व्यापारमा पनि ह्रास आउँदा नेपालको चीनसँगको व्यापारसमेत प्रभावित भएको केन्द्रले उल्लेख गरेको छ । 

]]>