श्रीआचार्य
कांग्रेसभित्र आउँदो नेतृत्वको चर्चा हुन थालेको छ । यद्यपि, मधेस आन्दोलनको कारण नेपाली कांग्रेसको आगामी महाधिवेशन यथासमय हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन । कांग्रेसलाई यो महाधिवेशन चैत २ गते भित्र नगरी हुँदैन, गर्नैपर्छ । नयाँ संविधानमा ६ महिना थप गर्ने प्रावधान राखेपछि कांग्रेसले यो मौका पाएको हो । अन्यथा नेपाली कांग्रेसको महाधिवेशन भइसकेको हुन्थ्यो वा यो पार्टीको वैधता सकिइसकेको हुन्थ्यो । अहिलेको अप्ठेरो के भने, तराई–मधेसका जिल्लामा चलेको आन्दोलनले गर्दा त्यहाँ अन्य दलको राजनीतिक गतिविधि सम्भव देखिएको छैन । आन्दोलनकारी पार्टीबाहेक अरू पार्टीको उपस्थिति सहज छैन । कांग्रेसले जनकपुर र वीरगन्जमा कार्यक्रम गर्न सकेन । यसबाट यै अनुमान हुन्छ कि तराई–मधेसको आन्दोलन अन्त्य भएर त्यहाँ शान्ति नहुँदासम्म कांग्रेसले मधेसमा कुनै पनि गतिविधि सञ्चालन गर्न सक्दैन । विशेष गरेर बारादेखि सप्तरीसम्मका आठ जिल्लाको राजमार्गको दक्षिणी भेग आन्दोलनबाट अति प्रभावित छ । पश्चिममा कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा पनि लगभग त्यस्तै असहज अवस्था छ । यो अवस्थामा ती जिल्लाका गाउँ, नगर र जिल्ला अधिवेशन गर्न कांग्रेसलाई सम्भव छैन । त्यसैले यो अवस्थामा सुधार नआउँदासम्म कांग्रेसको महाधिवेशन पूर्वनिर्धारित समयमा हुने वा नहुने यकिन गर्न गाह्रो परेको हो । तथापि कांग्रेससँग विकल्प छैन । देशको राजनीतिक र मधेस आन्दोलनको अवस्था जे जस्तो भए पनि कांग्रेसले आफ्नो महाधिवेशन फागुनभित्रमा गरिसक्ला, गर्नैपर्छ । सहज र असहज कुन परिस्थितिमा हुन्छ, त्योमात्रै कुरा हो ।
कुरा कांग्रेसको भावी नेतृत्वको छ । यस विषयमा प्रवेश गर्दा, पहिलो यो स्वीकार गर्नैपर्छ कि नेपाली कांग्रेसभित्र प्रत्यक्षत: दुइटा लवी छन् । अथवा भनौं, यो पार्टी नाममा एक भए पनि काम र व्यवहारमा दुइटा छ । एउटा शेरबहादुर देउवाको ‘कलश’वाला पार्टी र अर्को आफ्नै रूख चिन्हवाला संस्थापन पार्टी । सत्य हो, कांग्रेस छोडेर कलश चिन्हमा अर्कै पार्टी दर्ता गरेका देउवा पुन: कांग्रेसमा आए पनि उहाँ आफूलाई समस्त कांग्रेसको नेता ठान्नुहुन्न । रूखवालाको मुख हेर्नुहुन्न । कलश भए पुग्छ । सानेपा मन पर्दैैन । त्यसैले बानेश्वरमा कार्यालय खोलिसक्नु भएको छ । कांग्रेस कार्यकर्ताका बीचमा ‘तान्त्रिक–नेता’ भनेर चिनिने उहाँले नयाँबानेश्वर सम्पर्क कार्यालयबाट आफ्नो उम्मेदवारीको प्रचार र चुनावी अभियान सुरु गरिसक्नु भएको छ । त्यस्तै अरूलाई दुक्की र आफूलाई एक्का ठान्ने ‘मध्यममार्गी’ रामचन्द्र पौडेल कांग्रेसको नेतृत्व लिन यसपटक कसैले पनि आफूलाई रोक्न नसक्ने बताउँदै हुनुहुन्छ । कार्यकर्ता भेटघाट र विज्ञहरूसँगको सल्लाह सुझाव लिनमा उहाँ पनि व्यस्त देखिनुभा’छ । संस्थापन पक्षको मूल चुरो अर्थात् कोइराला क्याम्पमा के खिचडी पाक्दैछ, त्यसको छनक बाहिरिएको छैन । अधिकांशको विश्वास छ– वर्तमान सभापति सुशील कोइराला पुन: सभापतिको उम्मेदवार बन्नुहुन्छ । अझ एकथरी भित्रियाहरू त कोइराला उठ्नैपर्छ भन्ने दबाब सिर्जना गरिरहेका छन् । जस्को दबाबमा उहाँ हार्ने थाहा हुँदाहुँदै पनि प्रधानमन्त्रीको उम्मेदवार बन्नुभयो र जनताको नजरमा नराम्ररी गिर्नुभयो । कार्यकर्ताको नजरमा के छ– त्यो चैं महाधिवेशनको चुनावमा देखिनेछ ।
वास्तवमा भन्ने हो भने, यी तीनैजनाबाट नेपाली कांग्रेसले नयाँ दिशा र ऊर्जा पाउँदैन । अहिलेका ६० माथिका अन्य धेरैको पनि पार्टी र सत्ता–सरकारमा हालीमुली देखिइसक्यो । तिनको पनि काम छैन । पेन्सनमा बसे हुन्छ । चर्चामा रहेका तीनजना हुन् : कोइराला, देउवा र पौडेल । देउवा पद र स्वार्थका खातिर प्रजातन्त्र र पार्टी भर्सेलै परोस् भन्ने इतिहास प्रमाणित व्यक्ति हुनुहुन्छ– दरबारमा प्रजातन्त्र उहाँले बुभाएकै हो । त्यसैले, उहाँका पछि स्वार्थीहरूको मात्र भीड छ । यसर्थ देउवालाई कांग्रेसको नेतृत्व दिनु भनेको कांग्रेस र प्रजातन्त्रको भविष्यप्रति सधंै सशंकित भइरहनु हो । पौडेल आफू र आफ्नो पारिवारिक वृत्तबाट बाहिर नपुग्ने ‘छोटो दिल’ को व्यक्तिका रूपमा जानिनुहुन्छ । केही ‘एसम्यान’ बाहेक अन्य कार्यकर्ताले उहाँको नेतृत्वमा सुरक्षित महसुस गर्न सक्दैनन् । तर उहाँले कांग्रेसलाई कुबाटो लाग्न दिनुहुन्न, लग्नुहुन्न । यो चै पक्का हो, पौडेलको सैद्धान्तिक निष्ठामा देउवामा जस्तो अंश पनि शंका गर्न सकिन्न तर निष्ठाले मात्र पार्टी हाकिँदैन । पार्टीमा सैद्धान्तिक निष्ठा प्रथम तत्व हो तर सबथोक होइन । नेताले लिने मात्र हैन दिन सक्नुपर्छ । कार्यकर्ताले भन्ने गर्छन्– जति भए पनि उहाँलाई नै पुग्दैन । कोइराला सबथोक छ, निष्ठा, त्याग, धैर्य, समर्पण । त्यसैले उहाँ सबैको हुनुहुन्छ र उहाँमा विश्वास पनि थियो, छ । संविधान निर्माणमा उहाँले पार्टी सभापतिको हैसियतले निर्वाह गर्नुभएको भूमिका प्रशंसा गर्न कन्जुसी नगर्ने खाँटी कार्यकर्ता र शुभचिन्तकको कमी उहाँलाई छैन । तर उहाँ बूढो र बिरामी पनि हुनुहुन्छ । अब पहिले झै खट्न सक्नुहुन्न । त्यसैले अब पुन: पार्टी हाँक्न उहाँ समर्थ देखिनुहुन्न ।
त्यसो भए के र को त ? प्रश्नको उत्तर कांग्रेसका कार्यकर्ताले आफैंले खोज्नुपर्छ । भएका कसैमा विश्वास गर्न सकिन्न, कसैमा अपनत्व भेटिँदैन र कोही बार्धक्यले अशक्त भइसकेको छ भने निश्चित हो– नयाँ अनुहार अघि सार्नु बुद्धिमत्ता हुन्छ । जोस, जाँगर र होसले भरिएका निष्ठावान् कार्यकर्ताबाट त्यो अभाव पूर्ति गर्न सकिन्छ । संस्थापन कांग्रेसमा त्यस्ता व्यक्तिहरूको खडेरी छैन । युवाहरू आफू मिलेर जो भए पनि जोतिन तयार हुनु पर्यो । पौडेलले लोभ छोड्नुपर्यो र कोइरालाले ‘तपार्इं नभए त कांग्रेस डुब्छ’ भनेर उक्साउनेहरूको कुरा सुन्न भएन । पौडेल र कोइरालाको सहमतिपूर्ण अभिभावकत्वमा नयाँ पुस्तालाई दाउने हो भने कांग्रेसले नव ऊर्जाका साथ काँचुली फेर्छ र त्यो नेतृत्वप्रति निश्चिय नै भर गर्न सकिन्छ । के कांग्रेसको आगामी महाधिवेशनमा त्यस्तो देख्न पाइएला ? अहँ, पत्यार छैन । स्थिति के देखिन्छ भने– कोइराला, देउवा र पौडेलकाबीच नेतृत्वको स्पर्धा हुन्छ र यिनै तीनमध्ये एकको बाध्यकारी नेतृत्व कांग्रेसजनले केही वर्ष फेरि व्यहोर्नु पर्नेछ । जसबाट केही नयाँ प्राप्ति हुने छैन । हात लाग्नेछ: जोस, जाँगर र ऊर्जा सिद्धिएको सशंकित वा लोभी वा बूढो अशक्त कांग्रेस ।
]]>
प्रतिक्रिया