गणतन्त्रको आवरणमा वंशवादको धङधङ्गी पाल्नै पर्ने पेसा अपनाएका एकथरी कथित् बुद्धिजीवी तथा तिनका मतियार बन्न अभिशप्त सञ्चारका माध्यमका कामदारलाई प्रजातन्त्र पच्दैन, त्यसैले नेपाली कांग्रेसमा शेरबहादुर देउवालाई उनीहरू फुटेका आँखाले देख्न सक्तैनन् । उनीहरू कांग्रेसको नाम यसकारण मात्र जप्छन्, किनभने त्यसो गर्ने रोजगारी जो प्राप्त गरेका छन् । त्यहीकारण हो कि लोकतन्त्रका पक्ष र देउवाको विपक्षमा उनीहरू आफ्नो ऊर्जा खर्च गरिरहेका छन् ।
महाधिवेशनबाट सभापतिमा देउवा पुनः निर्वाचित भएको सत्यलाई उनीहरूले अझै पचाउन सकिरहेका छैनन्, झन् उनका अठोट र संकल्पका बारेमा छलफल अघि बढाउने कुरा त धेरै परको विषय हो । उल्टो, कांग्रेसमा हार्नेहरूको एजेन्डा पो स्थापित भयो भनेर थाकिरहेका छैनन् । के जित्नेको एजेन्डा हार्यो त ?
पुस्तान्तरणका आडमा उनीहरूले देउवाका विरुद्ध जिहाद नै छेडेका कुरा कसैले बिर्सेका छैनन् । विकल्पमा उनीहरूको जोड घुमिफिरी रुम्जाटार अर्थात् कोइराला वंशमै नेतृत्व फर्कनुपर्छ, किनभने कांग्रेस भनेकै कोइरालाका आर्जन हुन् भन्ने आग्रह र एडिचोटीको प्रयास थियो, त्यो पनि कसैले भुलेका छैनन् । परिणाम उनीहरूको अपेक्षा अनुकूल आएन ।
कांग्रेसमा देउवाको देनको मूल्यांकन तथा भविष्यको सुरक्षाको आकलन गर्दा देश–विदेशबाट काठमाडौंमा जुटेका महाधिवेशन प्रतिनिधिहरू देउवाबाट विश्वस्त र आश्वस्त हुन सके, अरू कसैलाई उनीहरूले पत्याउन सकेनन् । त्यसैले कांग्रेसका मतदाताहरूले दोस्रो पटक अवसर पाउँदा पनि देउवालाई नै रोजे, विरासत र वंशवादतिर फर्किन मानेनन् । वर्तमान अवस्थामा देउवाबाट मात्र देश, कांग्रेस र प्रजातन्त्र सुरक्षित रहन सक्छ भन्नेमा उनीहरू आश्वस्त भए । अरूबाट त्यो जिम्मेदारी निर्वाह हुन सक्छ भन्नेमा उनीहरू विश्वस्त हुन सकेनन् । परिणामले त्यही सावित गर्यो । तैपनि एकथरी कथित् कांग्रेसका शुभेच्छुकहरूलाई त्यो निर्णय सुपाच्य हुन सकेन । उनीहरूका झुसिला डकारले त्यही पुष्टि गरिरहेछ ।
कांग्रेसका स्वाभिमान कार्यकर्तालाई थाहा थियो, विश्वमा प्रजातन्त्रवादीमाथि ठूलो संकट छ, कम्युनिस्ट तथा प्रतिक्रियावादीका चुनौतीबाट । त्यसको सामना गर्न अमेरिकाले नेतृत्व प्रदान गर्ने अठोट प्रकट गरिसकेको छ । कांग्रेसको अधिवेशनकै संघारमा डेमोक्राटिक पार्टीबाट राष्ट्रपति बनेका जो वाइडेनले ११० देशका प्रजातन्त्रवादी राष्ट्रका सरकार प्रमुखहरूलाई भर्चुयल कन्फरेन्सका माध्यमबाट सम्बोधन गरेर त्यसको खुलासा गरेका हुन् । त्यस प्रकारको विश्वव्यापी समस्याको सामना गर्न एकताबद्ध हुन उनले आव्हान मात्र गरेका छैनन्, त्यसका चाहिने पहल नै गरिसकेका छन् । पहिलो चरणमा, प्रजातान्त्रिक विश्वले सामना गर्नु परेका विभिन्न प्रकारका चुनौतीका बान्कीको पहिचान गर्ने र तिनको सामूहिक समाधानमा जुट्न सबैलाई तत्पर तुल्याउने अमेरिकी अठोट प्रकट गरिएको छ । नेपाललगायत सबैले वाइडेनको अग्रसरताको स्वागत मात्र गरेका छैनन्, त्यस्तो महान् प्रयासमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिसकेका छन् ।
नेपालमा प्रजातन्त्र, अहिले मात्र संकटमा परेको होइन, पहिलेदेखि नै संकटग्रस्त रहँदै आएको छ । त्यसको सामना कांग्रेसबाहेक अरुबाट हुन सक्तैन, त्यो पनि स्पष्टै छ । किनभने प्रजातन्त्रको स्थापनाको निर्णायक आन्दोलनको नेतृत्व गरेदेखि नै त्यसको संरक्षण र संवर्धनको दायित्व पनि उसैले निर्वाह गर्दै आएको छ । नेपालको प्रजातन्त्रले प्रतिक्रियावादी र उग्रवादीबाट मात्र होइन, प्रजातन्त्रका लागि सहयोग गरेका मित्रहरूबाट समेत भितरघातको सामना गर्नु परेकाले ठूलो दुर्घटनाबाट गुज्रनु परेको तथ्य कसैबाट छिपेको छैन । प्रजातन्त्र पुनस्र्थापनाका निम्ति उसले जुन कालखण्डमा ठूलो र बलिदानी लगानी गर्नु पर्यो, त्यसलाई आधुनिक नेपाल निर्माणको महायज्ञमा लगाउन सकेको भए प्रजातन्त्र र राष्ट्रियताको अहिले जस्तो बिजोग छ, त्यस्तो दुर्दशा झेल्नुपर्ने थिएन ।
नेपाल पनि आर्थिक शक्तिमा रूपान्तरित भएर विकसित विश्वसँग कुम जोरेर हिँड्न सक्ने भइसकेको हुने थियो । हामी सबैको दुर्भाग्यले त्यसो हुन सकेन । फलस्वरूप प्रजातन्त्रलाई जोगाउने चिन्ताकै चिन्तनमा चिन्तित लागिरहनु परेको छ । प्रजातन्त्रलाई अझ उन्नत अवस्थामा उचाल्ने र त्यसका माध्यमबाट आर्थिक विकासका नयाँ कीर्तिमान स्थापित गर्ने र सबैका लागि रोजगारी सिर्जना गर्ने दिशामा ठोस कदम चाल्ने कुरा अझै कल्पनातीत नै रहन पुगेका छन् ।
नेपालको प्रजातन्त्रलाई चौतर्फी संकटबाट जोगाएर नेपाल र नेपालीको उन्नति र प्रगतिको औजार सावित गर्न कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला र अमूर्त सपना देखाएका छैनन् । उनले केवल एउटा लक्ष्य निर्धारित गरेका छन्, त्यो हो, निकट भविष्यमा हुने स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचनमा कांग्रेसलाई स्पष्ट बहुमत दिलाउने संकल्प । अहिले उनलाई कार्यकर्ताहरूले आस्था र विश्वासको जुन निधि सुम्पेका छन्, त्यसको तत्कालीन र दीर्घकालीन अर्थ र महत्व त्यत्ति हो । उनले आफ्ना मित्र, साथी तथा सहयोगसँंग मागेको सहयोग त्यही लक्ष्य पूरा गर्न चाहिने ऊर्जा पैदा गर्न हो । उनको त्यस्तो अपेक्षाको पहिलो चरण पूरा भएको छ ।
अब देश र जनतालाई उनको परीक्षा होइन, परिणामको प्रतीक्षा छ । त्यसप्रति उनीहरूलाई कांग्रेसका कार्यकर्तालाईभन्दा बढी विश्वास छ । किनभने देउवाले उनीहरूलाई आश्वस्त जो तुल्याएका छन् !
देउवाको आश्वासनप्रति जनताको विश्वासको कारण हो, उनको संघर्षपूर्ण विगत र स्वार्थबिनाको आगतले प्रदान गर्ने विश्वसनीयता । शेरबहादुर देउवाको गणना, आफ्नो प्रतिबद्धता कुनै पनि हालतमा पूरा गरिछाड्ने नेताका रूपमा गरिन्छ । उनको राजनीतिक सफलताका पछाडि सबैका कुरा सुन्ने र सबैलाई साथमा लिएर अघि बढ्ने उदात्तता एक प्रमुख गुण मानिन्छ । त्यसका अतिरिक्त उनी मानिसको योग्यता र क्षमताको कदर गर्न जान्ने र तिनको उपयोग गर्न सिपालु नेता पनि मानिन्छन् ।
भनिन्छ, उनको छाती यति विशाल छ कि त्यसभित्र आफ्ना मित्र तथा सहयोगी साथीहरू मात्र होइनन्, उनका उग्र विरोधी पनि अटाउँछन् । उनको अर्को विशेषता हो, कसैलाई निराश पारेर आफ्नो ढोकाबाट रित्तो नफर्काउने अद्भुत गुण । यिनै साधारण लाग्ने असाधारण विशेषताले देउवालाई साँच्चैको ‘शेर’ बनाएको मानिन्छ ।
देउवा आफ्नो जीवनको चरमोत्कर्षमा पुगिसकेका छन् । अब भविष्यमा पार्टीभित्र उनको राजनीतिक विरासत बोकेर अघि बढ्ने जमात तयार पार्नुबाहेक उनले गर्न बाँकी केही शेष बचेको छैन । स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनमा कांग्रेसलाई जिताएर विश्राम लिने उनका संकल्पमा सबैले विश्वास प्रकट गरेका कारण पनि त्यही हो । किनभने देउवाको उचाइ र स्वीकार्यता भएका नेता आजको नेपालमा अर्का छैनन् । तसर्थ जनताले विश्वास र भरोसा बिसाउने चौतारो बन्न पुगेका छन्– शेरबहादुर देउवा ।
प्रतिक्रिया