देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तेल ठगीमा सहसचिव र थानकोट डिपो प्रमुख पक्राउ

देशान्तर

काठमाडौं । डिजिटल प्रविधिमार्फत पेट्रोलपम्प ठगीमा सघाएको आरोपमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव रामआधार साह तथा नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्मा पक्राउ परेका छन् । ठगीमा संलग्न अभियुक्तहरूको बयानका आधारमा महानगरीय अपराध महाशाखाले उनीहरूलाई आइतबार साँझ पक्राउ गरेको हो । प्रहरीले शर्मालाई थानकोट र साहलाई गौशालाबाट पक्राउ गरिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

पेट्रोलपम्पहरूमा डिजिटल प्रविधिमार्फत ठगी कार्यमा सघाएको प्रमाण भेटिएपछि गुणस्तर तथा नापतौल विभागका तत्कालीन महानिर्देशक साह र डिपो प्रमुख शर्मालाई प्रहरीले पक्राउ गरेको हो । शर्मालाई ठगीका साथै कालोबजारीलाई प्रश्रय दिएकोबारे छानबिनका लागि पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

शर्माले घुस बुझाउने पम्पहरूलाई कोटाभन्दा धेरै पम्प इन्धन वितरण गर्दै आएको प्रहरीले जनाएको छ । पम्प ठगीको आरोपमा पक्राउ परेका अभियुक्तको बयानका आधारमा शर्मालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी खनालले बताए ।

विभागका तत्कालीन महानिर्देशक साहले ठगी गर्ने मेसिनबारे जानकारी दिएर मिस्त्रीसमेत भारतबाट झिकाएको प्रहरी अनुसन्धानमा खुलेको छ । अकुत सम्पत्ति कमाएको आरोपमा साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्दै आएको छ ।

पम्पको ठगीमा गुणस्तर तथा नापतौल विभागका अन्य कर्मचारीको पनि संलग्नता हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन् । विभागका कर्मचारीहरू पनि छानबिनको दायरामा रहेको महाशाखाका एसपी सहकुल थापाले बताए । पेट्रोलपम्पहरूका मेसिनमा विभागका कर्मचारीले सिल लगाएका हुन्छन्, सिल लगाएको पम्प मर्मत गर्दासमेत विभागको अनुमति लिनुपर्ने हुन्छ । त्यसकारण विभागका कर्मचारीको मिलेमतोविना डिजिटल चिप्सहरू राखेर ठगी हुन नसक्ने प्रहरीको भनाइ छ ।

त्यस्तै, निगमका थानकोट डिपो प्रमुख शर्माले ठगी गर्ने पेट्रोलपम्पहरूबाट मासिक १० हजारका दरले पैसा लिँदै आएको खुलेको छ । पेट्रोलियम डिलर्स एसोसिएसन कार्यालयका कर्मचारी हेमविक्रम बरालले सबै पम्पहरूबाट पैसा उठाएर शर्मालाई बुझाउने गर्दथे । डिपो प्रमुखको कार्यकाल दुई वर्ष हुनेमा शर्मा थानकोटमा साढे दुई वर्षदेखि कार्यरत थिए ।

ठगीमा दुई दर्जन पम्पको संलग्नता खुलिसकेको छ । तर, प्रहरीले प्रमाण फेला पारेका १३ वटाविरुद्ध मात्र मुद्दा दायर गर्ने तयारी गरेको छ । महानगरीय अपराध महाशाखाले गत ६ असोजमा २३ वटा पेट्रोलपम्पमा एकैपटक छापा हानेको थियो, जसमध्ये १३ वटामा इन्धनको परिणाम मिटरमा देखाएभन्दा कम वितरण हुने सिस्टम जडान गरेको खुलेको थियो । अपराध महाशाखाले आयल निगमसँग डाटा लिएर गरेको अनुसन्धानमा उनीहरूले १५ करोड २२ लाख रुपैयाँसम्म ठगी गरेको खुलेको हो । प्रहरीले विवरण र ठगीको परिमाण हिसाब गरी चार्टर्ड एकाउन्टेन्टमार्फत हिसाब निकालेको थियो । सोही आधारमा बिगो दाबी गरी प्रहरीले उनीहरूविरुद्ध ठगी मुद्दा चलाउने अन्तिम तयारी गरेको छ ।

प्रहरीले सातवटा पम्पका सञ्चालक तथा मिटर बिगार्ने डिजिटल प्रविधि जडान गर्ने पाँचजनालाई पक्राउ गरी थुनामा राखेको छ । त्यस्तै, पेट्रोलियम डिलर्स एसोसिएसनकै कर्मचारी हेमविक्रम बराल पनि थुनामा छन् । पक्राउ पर्ने पम्प सञ्चालकहरूमा गायत्रीदेवी आयल स्टोर एकान्तकुनाका शैलेन्द्रनाथ वादे, महालक्ष्मी विश्वकर्मा ट्रेडर्स चापागाउँका शिव तिमल्सिना, युनिक फ्युल सेन्टर बालकुमारीका गोपाल महर्जन, त्रिशक्ति फ्युल सेन्टर सानेपाका युनुस प्रधान, क्रिस्टल फ्युल सप्लायर्स बालाजुका कल्याण खड्का, भक्तपुर फ्युल सेन्टर आदर्श बसस्टपका सञ्चालक पुण्यराम बखाडेया र बंगलामुखी आयल स्टोर्स सानोभर्‍याङका सञ्चालक सीताराम घिमिरे छन् । त्यस्तै, मेसिन बिगार्ने भारतीय नागरिकहरू नसिम सिद्दिकी, अयुब आलम, हमिद हुसेन, मोहम्मद अबरार र रौतहटका शेख इम्तिहास पनि प्रहरी हिरासतमा छन् ।

राजधानी आयल स्टोर्स गोपीकृष्णका सञ्चालकद्वय बुद्धरत्न महर्जन र दीपक थपलिया, न्यु पुष्पाञ्जली आयल ट्रेडर्स जयबागेश्वरीका अमिर लामा, पूजाकोठी पेट्रोलपम्प नयाँ बसपार्कका राजीव शर्मा, दिव्या सप्लायर्स कोटेश्वरका दिव्या श्रेष्ठ, प्रवीण आयल स्टोर्स ठिमीका प्रवीणकृष्ण श्रेष्ठ र कामाख्या आयल स्टोर्सका वासुदेव दाहाल भने फरार छन् ।

प्रहरीले राजधानीका अन्य १३ वटा पम्पमा छापा हाने पनि उनीहरूले पहिले नै सूचना पाएकाले इन्धन ठगी गर्ने प्रविधि हटाएका थिए । त्यसरी प्रहरीले छापा हान्नुभन्दा पहिले नै रिमोट र चिप हटाउने पम्पहरूमा सूर्य ट्रेड लिंक नागढुंगा, डिएम आयल स्टोर्स सतुंगल, अम्बे पेट्रोलपम्प नैकाप, न्यु भद्र फ्युल कन्सर्न कपन, सीता पेट्रोलपम्प नक्साल, हिमाल इन्टरप्राइजेज थानकोट, मकालु पेट्रोलपम्प कलंकी, हिमाल इन्टरप्राइजेज वाणभञ्ज्याङ, महापद्यमा आयल स्टोर्स दक्षिणढोका, न्यु लामा इन्टरप्राइजेज नारायणटार र हामा फ्युल सेन्टर स्वयम्भू छन् ।

पक्राउ परेका भारतीय मिस्त्रीहरूले आफूहरूले ती पेट्रोलपम्पहरूमा पनि मेसिन जडान गरेको बताएका थिए । उनीहरूले पाँच लिटर बिक्री गर्दा दुई सयदेखि तीन सय मिलिलिटरसम्म ठगी गर्दै आएका थिए । डिजिटल सिस्टम भएकाले रिमोटबाटै इन्धन धेरै र कम जाने सिस्टम मिलाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ । अपराध महाशाखाले काठमाडौंमा छापा हानेपछि अन्य जिल्लामा पनि यसरी ठगी गर्ने पेट्रोलपम्पका सञ्चालकहरू धमाधम पक्राउ पर्न थालेका छन् । तर, काठमाडौंमा कारबाही थालेलगत्तै धेरै पम्पले भने यस्तो ठगी गर्ने प्रविधि हटाएका छन् ।

यसरी भएको थियो ठगी
रिमोटबाटै इन्धन तल–माथि हुने गरी मिस्त्रीहरूले पम्पका डिजिटल मेसिनको नोजलमै डिभाइस जडान गरेका थिए । तेल दिँदा रिमोटबाटै चाहेको वेला इन्धन नापभन्दा तल–माथि गर्न मिल्ने बनाइएको थियो । धेरै इन्धन भर्ने वेलामा रिमोटबाट एक–दुई लिटर तल–माथि गर्ने गरेको प्रहरीको भनाइ छ ।

बजारको अनुगमन गर्ने निकाय गुणस्तर तथा नापतौल विभागको समेत मिलेमतो भएकाले पेट्रोलपम्पहरूले ढुक्कैसँग ठगी गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ । देशभरिकै पम्पको मर्मत एउटै समूहले गर्ने गरेको थियो । त्यही समूहका मिस्त्रीहरूले भारतबाट डिजिटल प्रविधि भित्र्याएर रिमोटबाट ठगी गर्ने गरी जडान गरेको बयान प्रहरीलाई दिएका हुन् ।

मेनुअल पम्पहरूमा भने बुस गियर, मिडल गियर, बबिल गियर, सेफ्टी पिनजस्ता प्रविधिमार्फत ठगी हुँदै आएको प्रहरीले जनाएको छ ।

]]>