काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात वर्षयताकै न्यून विन्दुमा झरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा नियोग (आईईए) का अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ३९ डलरमा झरेको हो । यो मूल्य अघिल्लो जुनमा १ सय ५ डलरसम्म पुगेको थियो । एक वर्षयता तेलको मूल्यमा भारी गिरावट आइसके पनि नेपाली उपभोक्ताले भने त्यसको उपभोग गर्न नपाएको आजको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।
महाभूकम्पयता नेपाल आयल नियमले स्वचालित मूल्य प्रणालीअन्तर्गत तेल मूल्य समायोजन गरेको छैन । चार महिनायता नाकाबन्दीका कारण आपूर्ति सहज नहुँदा उपभोक्ताले तेल नपाएर अझ महँगो मूल्यमा कालोबजारीमा किन्नु परिरहेको छ ।
आईईएले तेलको माग घट्ने अनुमान गरेसँगै अन्तर्राष्ट्रिय मूल्य घट्न थालेको केही समाचार संस्थाले जनाएका छन् । केहीले भने अमेरिका र रुसको इन्धनमाथिको शीतयुद्धले तेल मूल्य घटेको जनाएका छन् । रुसले ग्यास र इन्धनको मूल्य घटाउँदै आपूर्ति बढाएपछि इन्धन उत्पादक मध्यपूर्वी एसियाको पनि मूल्य घटाइएको दाबी गरिएको छ । यो मूल्य अझ घटेर २० डलरमा झर्ने अनुमान समाचार संस्थाहरूले गरेका छन् ।
आईईएका अनुसार अघिल्लो त्रैमासिकमा तेलको माग दैनिक २ दशमलव २ मिलियन ब्यारेलबाट घटेर १ दशमलव ३ मिलियनमा झरेको छ । आईईएले आगामी वर्ष प्रतिदिन १ दशमलव २ मिलियन ब्यारेलले तेलको मूल्य घट्ने अनुमान गरेको थियो । एक सातायता तेलको मूल्य १० प्रतिशतले घटिसकेको छ ।
एक वर्षयता अन्तर्राष्ट्रिय बजारमा ६४ प्रतिशतले मूल्य घटिसकेको छ । अन्तर्राष्ट्रिय बजारसँग मूल्य समायोजन नगरेकै कारण निगमले गत आर्थिक वर्ष १८ अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो । भूकम्पअघि निगमको नाफा मासिक १ अर्ब रुपैयाँभन्दा बढी थियो । यही नाफाबाट निगमले आफ्नो सञ्चिति घाटा साढे ३३ अर्बबाट १२ अर्ब १० करोड रुपैयाँ झारिसकेको छ । ‘यसै आर्थिक वर्षभित्र घाटा शून्यमा झार्ने योजना छ,’ निगमका एक अधिकारीले भने, ‘नाफामा जान थालेपछि मात्र अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न सकिन्छ ।’ ती अधिकारीका अनुसार चार महिनायता निगमले मासिक १० करोड रुपैयाँभन्दा बढी नाफा गर्न सकेको छैन ।
तेलको मूल्य घटेकामा गत साता अन्त्यमा तेल उत्पादकको संगठन ओपेकको बैठक बसेको थियो । बैठकले सदस्य मुलुकहरूलाई आफ्नो उत्पादनलाई कायमै राख्ने सहमतिमा पुर्याउन सकेन । सन् २००८ को अन्त्ययता अन्य कुनै महिनाको तुलनामा नोभेम्बरमा ओपेकका उत्पादकहरूले थप उत्पादन गरेका थिए । प्रतिदिन झन्डै ३२ मिलियन ब्यारेलसम्म उत्पादन गरिएको थियो । यो त्यस बेला भएको थियो जब विश्वको अर्थतन्त्र विस्तारै सुधारोन्मुख हुँदै वृद्धितर्फ उन्मुख थियो ।
आईईएले तेस्रो चौमासिक माग १ दशमलव २ मिलियन ब्यारेल प्रतिदिन खपत हुनुलाई राम्रै मान्नुपर्ने जनाएको छ । यो साताको सुरुमा अमेरिकी इनर्जी इन्फोर्मेसन एडमिनिस्ट्ेरसनले अमेरिकी तेल उत्पादन हाल तेल आपूर्तिको प्रमुख स्रोतको हिसाबले अगामी जनवरीमा नौ महिनाका लागि घट्ने सक्ने जनाएको छ । बजारमा तेलको मूल्यबारे भविष्यवाणी गर्नेहरूले भने प्रतिब्यारेल २० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्य गिरावटसँगै इन्धनको मूल्य घट्न थालेको छ । नेपालमा पनि मूल्य स्वचालित प्रणालीबाट अन्तर्राष्ट्रिय बजार अनुसार घटबढ गर्दै हुन्छ ।
७ वर्षअघि प्रतिकच्चा प्रदार्थको मूल्य ३७ अमेरिकी डलर हुँदा नेपालमा प्रतिलिटर पेट्रोलको मूल्य ७१ रुपैयाँ थियो । अहिले नेपाली उपभोक्ताले १ सय ४ रुपैयाँ तिर्न बाध्य छन् । सरकारले असोज १३ गतेबाट पेट्रोलियममा स्वचालित मूल्य प्रणाली लागू गरेपछि नेपाल आयाल निगमले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य सामायोजन गर्दै आएको बताएको छ । निगमको घाटा बर्सेनि बढ्न थालेपछि घाटा न्यूनीकरण गर्न स्वचालित मूल्य प्रणाली लागू गरिएको थियो ।
स्वचालित प्रणालीमा गएपछि इन्धनको मूल्य घटदै गएको छ । एक रिपोर्टअनुसार तेलको विश्वव्यापी माग २०१५ मा १५ दशमलव ३ लाख ब्यारेल प्रतिदिन बढेर औसर ९ दशमलव २८८ करोड ब्यारेल रहने छ । सन् २०१६ मा यो माग १२ दशमलव ५ लाख ब्यारेल प्रतिदिन बढेर औसत ९ दशमलव ४१ करोड ब्यारेल प्रतिदिन रहने पनि रिपोर्टमा छ । सन् २०१६ का लागि यसअघि पनि यस्तै अनुमान गरिएको थियो ।
गैरओपेक तेल आपूर्ति २०१५ मा १० लाख ब्यारेल प्रतिदिन बढेर औसत ५ दशमलव ७५ करोड ब्यारेल प्रतिदिन रहने अनुमान गरेको छ । एक अर्को रिपोर्टअनुसार आर्थिक सहयोग तथा विकास संगठन ओईसीडी को वाणिज्य तेल भण्डार अक्टोबरमा २९५ दशमलव ५ करोड ब्यारेल रहेको थियो, जुन पाँच वर्षको औसतभन्दा करिब २४ दशमलव ४ करोड ब्यारेल बढी हो । सन् २०१६ मा ओपेकको कच्चा तेलको माग १५ लाख ब्यारेल प्रतिदिन बढेर ३ दशमलव ०८ करोड ब्यारेल प्रतिदिन रहने अनुमान गरिएको छ, जुन पछिल्लो अनुमानभन्दा पृथक् छैन ।
]]>
प्रतिक्रिया