काठमाडौँ । संगठित मानव तस्करको भर परेर अवैध रूपमा टर्कीबाट ग्रिस छिर्न खोज्दा भएको गाडी दुर्घटनामा मृत्यु भएका चार नेपालीको पहिचान खुलेको छ ।
ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किमि पूर्वमा गत कात्तिक २५ मा भएको दुर्घटनामा ७ जनाको ज्यान गएकामा चार जना नेपाली परेको सोमबार मात्रै पुष्टि भएको हो । प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले पहिचानका लागि दुर्घटनामा मृत्यु भएकाहरूको तस्बिर नेपाल प्रहरीको इन्टरपोल शाखामा पठाएको थियो ।
इन्टरपोल नेपालमार्फत प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका तस्बिर परिवारजनले सोमबार सनाखत गरेका थिए । ब्युरोका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा नगरपालिका–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापाको उक्त दुर्घटनामा मृत्यु भएको हो ।
ग्रिस इन्टरपोलले पठाएको पत्रअनुसार सवारी लाइसेन्स नभएका मोल्दोभाली चालकले चलाएको कालो कारमा १५ जना सवार थिए । ग्रिस प्रहरीले रोक्न खोजेपछि तीव्र गतिमा हुइँकिएको कार पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।
प्रतिक्रिया