देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा ‘आन्तरिक पर्यटकलाई निम्तो’ अभियान

देशान्तर

पोखरा । भूकम्प र नाकाबन्दीका कारण प्रभावित पर्यटकीय नगरी पोखराको पर्यटकीय विकासलाई सहयोग गर्ने उद्देश्यले रेस्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल(रेवान)ले आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि पोखरा महोत्सवमा सहभागी हुन निम्तो अभियान आजदेखि सुरु गरेको छ । 

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाउँ’ नाराका साथ आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा सञ्चालन हुने सडक महोत्सवमा देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकलाई पोखरा बोलाउने लक्ष्यका साथ अभियान सुरु गरिएको हो । 

रेवानका अध्यक्ष गोपिबहादुर भट्टराईका अनुसार अभियानअन्तर्गत आज भैरहवामा त्यहाँका उद्योगी, पर्यटन व्यवसायीसँग समन्वय गरी अन्र्तक्रिया एवम् पत्रकार भेटघाट गरिने भएको छ । 
अभियानअन्तर्गत भैरहवा, चितवन, काठमाडौँलगायतका मुख्य शहरमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ । सो क्रममा स्थानीय व्यवसायी र पर्यटन सम्बद्ध क्षेत्रका व्यक्ति एवम् संस्थासँग पोखरामा आन्तरिक पर्यटक पठाउन आग्रह गरिने छ । विदेशी पर्यटकको अत्यधिक चाप हुने समयमा अहिले पर्यटकको मन्दी छाएका कारण आन्तरिक पर्यटनको विकासले व्यवसायीलाई केही मात्रामा भए पनि राहत पुग्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । 

विभिन्न सांस्कृतिक कार्यक्रममा रम्दै स्वदेशी तथा विदेशी परिकारको स्वाद लिने व्यवस्था महोत्सवमा मिलाइने आयोजनकहरुले बताएका छन् । रेवानले आन्तरिक तथा बाह्य पर्यटन वृद्धि गर्दै यहाँको पर्यटकीय विकास गर्ने उद्देश्यले विगत १६ वर्षयता विभिन्न साँस्कृतिक कार्यक्रमका साथ महोत्सव आयोजना गर्दै आएको छ । 

प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी गरिने महोत्सवले स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरामा आकर्षण गर्ने गरेको छ । पोखरामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी महोत्सव गर्नु अघिसम्म नयाँ वर्ष मनाउन विदेशी मात्र नभएर नेपाली पनि विदेश जाने गरेको व्यावसायीहरुले  बताएका छन् । 

भूकम्प र नाकाबन्दीले पोखराको पर्यटनमा पारेको असरलाई कम गर्न महोत्सव अत्यन्त उपयोगी हुने व्यावसायीहरुले विश्वास लिएका छन् । 

]]>