देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश २ मा देउवाविरुद्ध कोइराला निधि एक ठाउँमा

देशान्तर

नेपाली कांग्रेसको बाँकी रहेको प्रदेश–२ अधिवेशन आज देखि हुँदैछ । आज दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार चुनाव भने भोलि बिहीवार हुनेछ । प्रदेश–२ मा सभापति शेरबहादुर देउवाविरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ । देउवा समूहले सभापतिमा कृष्ण यादवलाई उम्मेदवारका रुपमा अघि बढाउँदा निधि रामसरोज यादवलाई कोइराला समूहले पनि स्वीकार गरेको जनाइएको छ ।

प्रदेश सभा संसदीय दलका नेता समेत रहेका रामसरोज यादव अहिले भौतिक पूर्वाधार मन्त्री हुन् भने गृह प्रदेशमा आफ्नो प्रभाव स्थापित गराउने प्रयासमा निधि रहेका छन् ।

कोइराला समूहले पनि प्रदेश–२ को अधिवेशनलाई प्रतिष्ठाको रुपमा लिएको छ । प्रदेश–२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् । गएको मंसिर १७ गते प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाइ भएको भन्दै अधिवेशन केन्द्रीय महाधिवेशन पछि मात्रै गर्ने गरी स्थगित गरिएको थियो ।

प्रदेश २ को सहित अझै १६ जिल्लामा जिल्ला कार्यसमितिका लागि अधिवेशन भएको छैन । अब बाँकी जिल्लामा पनि अधिवेशन शुरु गर्ने कांग्रेस निर्वाचन समितिले तयारी गरेको छ ।