काठमाडौं । साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू–१९ महिला फुटबल टिम फाइनल समेत पुग्न असफल भएको छ ।
पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरियो । आइतबार भएको आफ्नो अन्तिम खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाल फाइनल समेत पुग्न सकेन ।
ढाका जानुअघि राष्ट्रिय टिमकी सदस्य समेत रहेकी कप्तान तथा गोलकिपर अन्जना राना मगर र प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको लक्ष्य उपाधि जित्ने नै रहेको बताएका थिए ।
तर त्यो लक्ष्य पूरा नगरी नेपाली टोली स्वदेश र्फकने भएको छ । लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई १२–० को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल बाहिरिने औपचारिकता पूरा भएको थियो । आयोजक बंगलादेश अपराजित रहँदै ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुग्यो ।
चारमध्ये तीन खेल जितेको भारत ९ अंक जोडेर दोस्रो हुँदै फाइनल पुग्यो । अब बंगलादेश र भारतबीच फाइनल खेल हुनेछ । नेपाल भने २ जित, १ बराबरी र १ हारपछि ७ अंक जोडेर तेस्रो भयो । सम्भावित १२ अंकमध्ये नेपालले ५ अंक गुमाउँदा ७ अंक फाइनल पुग्न पर्याप्त भएन ।
पहिलो खेलमै बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाललाई फाइनल पुग्न बाँकी तीन खेल जित्नैपर्ने दबाब थियो । श्रीलंका र भुटानविरुद्ध क्लिनसिट राख्दै सहज जित निकालेको नेपालका लागि भारतसँगको एक गोल अन्तरको हार नै महँगो बन्यो ।
बराबरी मात्र खेलेपनि नेपाललाई फाइनल पुग्न पर्याप्त थियो । तर दोस्रो हाफमा प्रियंका देवीले गरेको गोल नै भारतलाई फाइनल पु¥याउन निर्णायक साविक बन्यो । यसअघिको खेलमा बंगलादेशसँग पराजित भएको भारतलाई फाइनल पुग्न नेपालविरुद्ध खेल जित्नैपर्ने थियो । नेपालले भने हार टारे पुग्ने थियो ।
तर भारत नेपाललाई हराउँदै फाइनल पुग्न सफल भयो ।कुनै पनि खेलमा भारतसँग खेल्नु नेपालको लागि चुनौतीपूर्ण बन्दै आएको छ ।
प्रतिक्रिया