देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस महाधिवेशनकाे मत परिणामले दिएका केही सन्देशहरु

देशान्तर

नेपाली कांग्रेसको १४औं महाधिवेशनको मत परिणाम आउने क्रम जारी छ । सभापतिसहित पदाधिकारीको मत परिणाम सार्वजानिक भइसकेको छ । सभापतिसहित पदाधिकारीको मत परिणामले केही सन्देशहरू दिएका छन् । नेपाली कांग्रेसको यो महाधिवेशनमा पुस्तान्तरण र रूपान्तरणको नारा चर्कोसँग लागेको थियो । मत परिणामले यो नारालाई स्वीकार ग¥यो भन्दा पनि हुने गरेन भन्दा पनि हुने सन्देश दिएको छ ।

कांग्रेसको पदाधिकारीमा सभापति शेरबहादुर देउवाभन्दा तल तेस्रो पुस्ता समेटिएका छन् । कांग्रेसको १४औं महाधिवेशनले पदाधिकारीमा सभापतिभन्दा झन्डै आधा उमेरका पदाधिकारी समेटिए । यसैले कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको अभिमतलाई ८० वर्षका सभापति शेरबहादुर देउवा ५० वर्षभन्दा तलका महामन्त्री हेर्दा अचम्मलाग्दो देखिन्छ । त्यतिमात्र होइन उपसभापतिमा विजय गच्छदारले पाएको मत र महामन्त्रीमा डा. मीनेन्द्र रिजालले पाएको मत संख्या पनि अचम्म मान्नै पर्ने छ । कांग्रेस महाधिवेशन प्रतिनिधिले जाहेर गरेको यो अभिमतलाई रूपान्तरण पुस्तान्तरण भन्न मिल्छ ।

तर मत परिणामलाई नियाल्दा पाँचवटा सन्देश भने दिएको देखिन्छ । पहिलो आम मतदाता नेतृत्व परिवर्तनको भने पक्षमा देखिएको पाइन्छ । पहिलो दिन भएको मतदानको परिणााम हेर्ने हो भने सभापति पनि मतदाताले परिवर्तन गर्न चाहेको देखिन्छ । सभापतिको पहिलो चरणमा महाधिवेशन प्रतिनिधिले जाहेर गरेको अभिमत नेतृत्व परिवर्तनको पक्षमा हो । सभापति शेरबहादु्र देउवाको पक्षमा र बाँकी सभापतिका उम्मेदवारको पक्षमा देखिएको मत हेर्ने हो भने देउवाको विपक्षमा मत देखिन्छ । तर दोस्रो चरणमा प्राविधिक रूपमा सभापति शेरबहादुर देउवाको पक्षमा पुर्‍याइयो ।

दोस्रो भनेको क्रियाशील सदस्यतामा जति धाँधली भए पनि १३औं महाधिवेशनमा सभापतिका प्रत्याशी रामचन्द्र पौडेलले पाएको मत प्रतिशत र अहिलेका सभापतिका प्रत्याशी डा. शेखर कोइरालाले पाएको मत प्रतिशत उस्तै छ । यसको अर्थ सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यतामा धाँधली गर्दा पनि १३औं महाधिवेशनपछि रामचन्द्र पौडेल पक्षले आफ्नो मत स्पष्ट रूपमा जोगाएको देखिन्छ । सुर्खेत, डडेलधुरा र तराईका केही जिल्लाको मत परिणाम हेर्ने हो भने अहिले डा. शेखर कोइरालाले पाएको मत नआउने स्पष्ट थियो । डा. शेखर कोइरालाको मात्र होइन, पदाधिकारीमा जित निकाल्ने र पराजित हुने पदाधिकारीहरूको मत पनि त्यही हाराहारीमा देखिएको छ । यसले गर्दा १३औं महाधिवेशनपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएको मत जोगिएको स्पष्ट देखिन्छ । अझ भन्ने हो भने डा.शेखरले पाएको यो मत भनेको हिजो गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले कमाएको र १३औं महाधिवेशनपछि रामचन्द्र पौडेल पक्षले जोगाएको मत हो ।

तेस्रो भने गगन थापा र विश्वप्रकाश शर्माले पाएको मत । यी दुई जनाले पाएको मतलाई चाहिँ कांग्रेसभित्रको लोकप्रिय मत मान्न सकिन्छ । डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बनेका गगन थापाले कोइरालाले पाएको भन्दा एक हजारभन्दा बढी ल्याएर विजयी भए । त्यस्तै चार सय मत पनि नपाएका सभापतिका उम्मेदवार प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका विश्वप्रकाशले उनले भन्दा १५ सय मत बढी पाएर विजयी भए । यी दुई जनामा पनि शर्मा लोकप्रिय देखिए । सभापति शेरबहादुर देउवालाई टक्कर दिने समूहका उम्मेदवार थापाभन्दा कमजोर सभापतिका उम्मेदवारसँग जोडिएर नेपाली कांग्रेसको महामन्त्रीमा शानदार मत ल्याउनुलाई लोकप्रिय मान्नै पर्छ । महामन्त्रीमा थापा र शर्माको जितलाई कांग्रेसभित्रको पुस्तान्तरण र रूपान्तरणका रूपमा व्याख्या गर्न थालिएको छ । तर कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले यी दुवैलाई परीक्षा हलमा छोडेर परिणाम १५औं महाधिवेशनमा घोषणा गर्ने सन्देश दिएका छन् ।

चौथोे धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियारले पाएको मतको सन्देश हो । गुरुङ, पाण्डे र परियारले पाएको मत भनेको महाधिवेशन प्रतिनिधिहरूको मायाको मत हो । यी तीन जना १२औं महाधिवेशनपछि प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षणमा देशभर पुगेका थिए । जसका कारणले देशभरका महाधिवेशन प्रतिनिधिहरूको माया पाए । देशभर पुगेको, प्रतिस्पर्धामा रहेका पाका नेता भएका कारण पनि यी तीन जनालाई सहज भयो । गुरुङ, पाण्डे र परियारको जित भनेको चाहिँ साँच्चै पुस्तान्तरण र रूपान्तरण हो । सुजाता कोइराला, महेश आचार्य, विजय गच्छदार र डा. चन्द्र भण्डारीलाई पछि पार्दै धनराज गुरुङले नेपाली कांग्रेसको उपसभापति पद हात पारे । पार्टीभित्रका दिग्गज नेताहरूलाई पछि पार्दै धनराज उपसभापति बन्दा साँच्चै कांग्रेसमा पुस्तान्तरण भएको हो ।

बद्री पाण्डेले पनि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरे । यो कांग्रेसभित्र रूपान्तरण र पुस्तान्तरण भएको हो । शाहीभन्दा पाण्डे सम्पूर्ण रूपमा कांग्रेसलाई पाण्डेको आवश्यकता थियो । महाधिवेशन प्रतिनिधिनले पाण्डेलाई रोजे यो रूपान्तरण पनि पुस्तान्तरण पनि हो । त्यस्तै मानबहादुर विश्वकर्मालाई पराजित गर्दै सहमहामन्त्री बनेका परियारको जित पनि रूपान्तरण र पुस्तान्तरण दुवै हो । आरक्षणको व्यवस्था भएदेखि सोही पदमा टाँसिरहने मानबहादुर झन्डै झन्डै देउवाकै उमेर हाराहारीममा मानबहादुरलाई भन्दा जीवनलाई मतदाताले मन पराउनु स्वाभाविक थियो । क्रियाशीलता, आवश्यकता सबै हिसाबले विश्वकर्माभन्दा परियार आवश्यक थिए । महाधिवेशन प्रतिनिधिले उनैलाई रोजै रूपान्तरण र पुस्तान्तरण भनेको यही हो ।

पाँचौं अर्थात् अन्तिम सन्देश डा. मीनेन्द्र रिजाल र डा. प्रकाशशरण महतको मतले दिएको छ । यो भने महाधिवेशन प्रतिनिधिमाथि पनि ठेकेदारी कायम रहेछ भन्ने सन्देश हो । डा. प्रकाशशरण महतलाई हराउनै पर्ने उनी उम्मेदवार बनेको सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू जसको असहयोगका कारण प्रकाशशरण पराजित भए । अन्यथा गगन र प्रकाशशरण महामन्त्री बन्छन् भन्ने धेरैको अनुमान थियो । त्यो अनुमानलाई असत्य सावित प्रकाशशरणलाई उनकै समूहबाट भयो । त्यस्तै डा. मीनेन्द्र रिजाललाई पनि चुनाव जित्ने अवस्था नभए पनि डा. शेखर कोइरालाको भन्दा केही कम मत आउनुपर्दथ्यो । तर डा. मीनेन्द्रले हजार मत पनि पु¥याएनन् । यो भनेको महाधिवेशन प्रतिनिधिमाथि पनि ठेकेदारी कायम छ भन्ने सन्देश हो ।