देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुमिसुधार मन्त्रालयका तीन मन्त्रीबीचमा विवाद

देशान्तर

काठमाडौं । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तीन मन्त्रीबीचको विवाद पार्टीमा पुगेको छ । राप्रपा नेपालले लिएको उक्त मन्त्रालयमा रामकुमार सुब्बा मन्त्री, विक्रमबहादुर थापा राज्यमन्त्री र दिनेश श्रेष्ठ सहायक मन्त्री छन् । तीनैजनाका आ–आफ्नै स्वार्थका कारण विवाद सुरु भएको मन्त्रालयको पछिल्लो समय मन्त्री सुब्बा र सहायक राज्यमन्त्री श्रेष्ठ एक पक्ष र राज्य मन्त्री थापा अर्को पक्षमा हुँदा समस्या उत्पन्न भएको छ ।

मन्त्रीहरू एकले भनेको अर्काले नमान्ने अवस्था रहेको मन्त्रालय स्रोतले जनाएको छ । कर्मचारी सरुवा, आफ्नो कार्यकक्ष, स्वकीय सचिव, नापी विभागले दिएको स्कार्पियो गाडीलगायत विषयमा मन्त्रीहरूबीच विवाद छ । मन्त्रालय प्रवेश गर्नुअघिको द्वन्द्व त्यसयता अझ बलियो बन्दै गएको छ । पार्टीको भागमा मन्त्रालय पर्नेबित्तिकै अध्यक्ष कमल थापाले सुब्बा, थापा र श्रेष्ठलाई बोलाएर जिम्मेवारीबारे छलफल गरेका थिए । सुनसरीका सुब्बा, काठमाडौंका थापा र भक्तपुरका श्रेष्ठले आफैंलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

सुब्बाले पार्टीलाई पूर्व क्षेत्रमा बढी भोट ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, थापाले आफ्नो भूमिकामा काठमाडौंबाट पार्टीले बढी मत ल्याएको र श्रेष्ठले पार्टीमा आफ्नो भूमिका रहेको भन्दै राम्रो पदका लागि दाबी गरेका थिए । पार्टीले मिलाएर पठाए पनि मन्त्रालय पाउनासाथ उनीहरूबीच द्वन्द्व सुरु भएको हो । पछिल्लो समय गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीलाई हटाउने र कर्मचारी प्रशासन शाखा प्रमुख यदुनाथ खनालको स्थानमा नयाँलाई ल्याउने सम्बन्धमा मन्त्री सुब्बा र राज्यमन्त्री श्रेष्ठबीच विवाद भएको छ । राज्यमन्त्री थापा ज्ञवालीको स्थानमा आफू निकटका मान्छे ल्याउन चाहन्थे तर सुब्बाले रोकिदिए । आफू निकट मान्छे ल्याउने प्रतिस्पर्धामा खनालको स्थानमा अर्को कर्मचारीलाई नियुक्त गर्न सकेका छैनन् । साथमा नापी विभागले दिएको गाडी राज्यमन्त्री थापाले कब्जामा लिई आफू र निकटका व्यक्तिहरूका लागि प्रयोगमा ल्याएपछि विवाद अझ उत्कर्षमा पुगेको हो । मन्त्रालयमा तीन मन्त्री नियुक्त हुँदा दुई वटा मात्र गाडी थिए ।

संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीसँग मागेर अर्को गाडी ल्याइएको थियो । उक्त गाडी राज्यमन्त्री थापाले प्रयोग गर्दै आइरहेका छन् । शाहीलाई भने गृह मन्त्रालयले गाडी दिएको छ । थापाले शाहीले दिएको र नापी विभागले पठाएको दुवै गाडी प्रयोग गर्दै आएका छन् । ‘अर्कोले लान्छ भनेर मन्त्रीले गाडीको साँचो समेत लुकाउँछन्,’ मन्त्रालय स्रोतले भन्यो । राप्रपा नेपालको तीन मन्त्रालय परराष्ट्र, संघीय मामिला तथा स्थानीय विकास र भूमिसुधार तथा व्यवस्थापनको नेतृत्व गरेको छ । आन्तरिक खिचातानीका कारण सुब्बा, थापा र श्रेष्ठले हालसम्म स्वकीय सचिव नियुक्त गर्न सकेका छैनन् । उपप्रधान, परराष्ट्र र संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले पनि हालसम्म स्वकीय सचिव राखेका छैनन् । भूमिसुधार राज्यमन्त्री थापाले युवा मोर्चाका संयोजक केदार धमलालाई स्वकीय सचिव बनाउन लागेपछि अन्य पदाधिकारीले अध्यक्ष थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउने टोलीका एक पदाधिकारीका अनुसार संयोजक जस्तो मान्छे स्वकीय सचिव बन्न नहुने, उसले संगठन चलाउनु पर्ने र स्वकीय सचिवको पद अरूलाई दिनुपर्ने कुरा आएको छ । पार्टीको भागमा कम मन्त्रालय र मन्त्री परेका कारण धेरैलाई स्वकीय सचिव बनाउन नसकिने नेताहरूले बताउन थालेका छन् । ‘एउटालाई बनायो भने अर्को रिसाउने र टाढिने डरले कसैले स्वकीय सचिव राख्न नसकेका हुन्,’ पार्टीका एक नेताले भने । थापा र श्रेष्ठबीच पहिलो तलाको एक कार्यकक्षलाई लिएर झगडा भएको छ ।

थापाले दुई महिनाबीचमा तीन पटक कार्यकक्ष फेरिसकेका छन् । सुरुमा भुइँतलामा बसेका उनी त्यसपछि पहिलो र हाल दोस्रो तलामा पुगेका छन् । थापाले सहायक मन्त्री श्रेष्ठ बसेको कोठामा बस्न चाहेका थिए । तर, दोस्रोबाट तेस्रो तलामा पुगेका श्रेष्ठले थापाका लागि त्यो कार्यकक्ष छाडेनन् । कान्तिपुर दैनिकमा  समाचार छ  । 

]]>