काठमाडौं । कोरोना भाईरसको पहिलो खोप बनाएका फाइजर र बायोटेक कम्पनीले तेस्रो डोज खोपले ओमिक्रोन भेरियन्टको संक्रमणमा मज्जाले काम गर्ने बताएका छन् ।
पहिलो दुई डोज बराबरको काम तेस्रो एकै डोजले गर्ने भन्दै ती कम्पनीहरुले नयाँ नयाँ भेरियन्टबाट बच्न पनि बुस्टर डोज आवश्यक भएको बताएका हुन् ।
उच्च रुपमा उत्परिवर्तित ओमिक्रोनको संक्रमणले फेरि विश्वलाई थला पार्ने हो कि भन्ने त्रास बढिरहेको बेला खोप उत्पादक कम्पनीहरुले आश्वस्त पार्ने कोशिस गरेका छन् । फाइजरका प्रमुख कार्यकारी एल्बर्ट बुर्लाले बुस्टर डोज नै कोरोनाको फैलावट रोक्ने उत्तम उपाय भएको जिकीर गरेका छन् ।
तर, फाइजर र बायोटेक कम्पनीले अहिलेसम्मको नतिजा प्रारम्भिक भएको भन्दै बुस्टर डोजको प्रभावकारिताको विश्वचित्रको मूल्यांकन भईरहेको बताएका छन् ।
उता, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले पनि दक्षिण अफ्रिकामा गरिएको अध्ययनले ओमिक्रोनको असर मध्यम खालको हुने र डेल्टा भेरियन्ट जस्तो घात नहुने देखिएको बताउनु भएको छ ।
प्रतिक्रिया