नयाँ दिल्ली — रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार भारत भ्रमणका लागि आउँदैछन् । दिल्लीमा केही घण्टा मात्रै व्यतित गर्ने पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।
साँझ ५स् ३० बजे पुटिन र मोदीबीच शिखर वार्ता हुने बताइएको छ । यद्यपि पुटिन कति बजे नयाँ दिल्ली आइपुग्ने अझैसम्म सार्वजनिक गरिएको छैन । सुरक्षाको कारण दर्शाउँदै उनको कार्यसूचीलाई गोप्य राखिएको छ । मोदीसँगको वार्ता र रात्री भोजपछि राति नै पुटिनले नयाँ दिल्ली छाड्ने छन् ।
भारत र रुसबीच लामो समयदेखि स्थायी प्रकारको सम्बन्ध छ । भारतका लागि रुस महत्त्वपूर्ण सुरक्षा सहयोगी छ । रुस भारतका लागि महत्त्वपूर्ण हतियार आपूर्ति गर्ने देश हो । नयाँ दिल्लीमा हुने दुई देशबीचको शीर्ष तहको वार्तामा पनि आधुनिक हतियार खरिद तथा भारतमा हतियार उत्पादनको कारखाना चालू गर्ने सम्बन्धमा सहमति हुनसक्ने भारतीय सञ्चारमाध्यममा उल्लेख छ । यद्यपि भारतीय विदेश मन्त्रालयले यस विषयमा औपचारिक रुपमा केही जानकारी गराएको छैन ।
भारत रुसबाट अत्याधुनिक मिसाइल एस–४०० र एके–२०३ राइफल खरिद गर्न इच्छुक मानिएको छ । जुन सम्झौता ५ हजार १ सय करोड भारतीय रुपैयाँ बराबरको हुने बताइएको छ । उक्त राइफल उत्तर प्रदेशको अमेठीमा उत्पादन हुने हिन्दुस्तान टाइम्सले जनाएको छ ।
एके- २०३ राइफलले तीन दशक पुरानो इन्सास राइफललाई विस्थापित गर्नेछ । भारतीय सेनालाई करिब साढे ७ लाख संख्यामा उक्त राइफल उपलब्ध गराइने बताइएको छ । त्यस बाहेक दुई देशबीच व्यापार, उर्जा, संस्कृति, रक्षा, आंतरिक्ष तथा अद्यौगिक क्षेत्रमा कतिपय सम्झौताहरुको सम्भावना छ ।
प्रतिक्रिया