देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोर्चासंगको वार्ताप्रति सरकार मौन वार्ता कांग्रेससंग

देशान्तर

काठमाडौं ।  आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासित वार्ता गर्न भनेर सरकारले दुई पटक संसद् स्थगित गरिसक्यो, तर मंसिर २७ यता कुनै वार्ता हुन सकेको छैन । बरु प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मोर्चाको दिनहुँजसो उठबस छ । पछिल्ला दुई सातामा मोर्चा नेतासँग कांग्रेस सभापति सुशील कोइरालाले मात्रै चारपल्ट भेटवार्ता गरिसके । कांग्रेस भन्छ, ‘यो सरकारले समाधान दिँदैन, त्यसैले हामी जिम्मेवारीपूर्वक अघि बढ्नु स्वाभाविक हो ।’ मोर्चा भन्छ, ‘जसले वार्ता गर्नुपर्ने हो, ऊ चुपचाप छ, त्यसैले हामी जो संवादमा आउँछ, ऊसँग भेट्न जानु स्वाभाविक हो ।’  

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘वार्ता गर्ने सरकारी टोलीका संयोजक कहिले दिल्ली, कहिले लन्डन कहिले बेइजिङ उडेका छन्, अरूलाई वार्ताको चासै छैन । यस्तोमा कसरी हुन्छ सरकारसँग वार्ता ?’ । मोर्चाले कात्तिक १५ गतेको वार्तामा सरकारसमक्ष ११ बुँदे माग राखेयता सरकारको औपचारिक प्रतिक्रिया नआइरहेका बेला आइतबार मन्त्रिपरिषद् बैठकले तीनबुँदे प्रस्ताव तयार पारेको थियो ।

त्यसका आधारमा सोमबार अपराह्न सरकारी वार्ता टोली संयोजकसमेत रहेका परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको टोलीले मोर्चाको वार्ता टोलीलाई सिंहदरबारमा भेटेको थियो । थापाले उक्त मन्त्रिपरिषद् निर्णयलाई वार्ताका लागि प्रस्तावका रूपमा मोर्चा टोलीसामु थमाएका थिए । भलै, त्यो औपचारिक वार्ता थिएन । बरु यसबीच कांग्रेस सभापति सुशील कोइरालाले मंसिर २५ गते, पुस २ गते, पुस ४ गते र पुस ७ गते गरी चार पटक भेट गरिसकेका छन् ।

साउन ३१ गतेयता सुरु मधेस आन्दोलनको क्रममा मारिएका ५६ मध्ये ४७ को ज्यान जाँदासम्म कोइराला स्वयं प्रधानमन्त्री थिए । उनी प्रधानमन्त्री छँदै असोज ३ गते संविधान जारी भयो, जसलाई मोर्चाले बहिष्कार गर्दै आफ्नो प्रभाव क्षेत्रमा ब्ल्याक आउट गर्‍यो । त्यसको भोलिपल्टैदेखि भारतले अघोषित नाकाबन्दी थाल्यो भने असोज ६ गतेदेखि मोर्चाले औपचारिक रूपमा नेपाल–भारत सीमानाका धर्नाको घोषणा गर्‍यो । कान्तिपुर दैनिकमा समाचार छ ।  

]]>