देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक सुरक्षाको प्रत्याभूति दिँदै श्रम क्षेत्रका समस्या समाधान गरौँ– वरिष्ठ उपाध्यक्ष ढकाल

देशान्तर

 

काठमाडौं –नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली सुरु भएको चार वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सबैको साझा लक्ष्य भएको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘सामाजिक सुरक्षा प्रणाली हाम्रा लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाइ देखिएका र सूचीकरण प्रकृया शुस्त गतिमा रहेको भए पनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म सूचिकृत प्रतिष्ठान र श्रमिकको संख्याबाट निराश हुनुपर्ने छैन ।’

नयाँ व्यवस्था लागू गर्दा केही समस्या त आउछन् नै भन्दै त्यसबाट विचलित हुनुभन्दा प्राप्त गरेको अनुभव र सुरक्षा प्रणालीको कार्यान्वयनमा देखिएका चूनौतीहरुलाई मनन् गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफलपूर्वक अघि वढाउन कोष सक्षम हुने विश्वास उनले व्यक्त गरे ।

उनले आजसम्म करिब १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिकको सूचीकरण भई सकेको जानकारी पनि दिए । सूचिकृत श्रमिकहरूले सामाजिक सुरक्षा कोषवाट सुविधा पनि पाउन थालिसकेको जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले यस प्रणालीबारे अझै पनि धेरै भ्रम र बुझाइको कमी रहेकाले त्यो भ्रम हटाउनुपर्ने बताए ।

सामाजिक सुरक्षा प्रणाली लागू गर्दा विभिन्न व्यवहारिक कठिनाइ आउने गरेको धेरै मुलुकको अनुभव रहेको उनले सुनाए । उनले भने, ‘अहिले हामीकहाँ पनि केही समस्या छन्, हामी सबै सरोकारवालाले त्यस्ता समस्याको उपयुक्त समाधान खोजी अघि वढ्नु पर्दछ भन्ने हाम्रो धारणा हो ।’ विद्यमान विवाद र द्विविधाको अन्त्य हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई हाम्रो आफ्नै परिवेश अनुकूल र आकर्षक बनाउन ऐन कानून र कार्यविधिमा थप सुधार र परिमार्जन गर्नेतर्फ सोच्न पनि उनले सरोकारवालाहरुलाई आग्रह गरे ।

अहिले प्रचलनमा रहेको सञ्चयकोष र उपदानको व्यवस्थालाई बढीभन्दा बढी श्रमिकको हितमा हुनेगरी व्यवस्थापन गर्न र त्यसका लागि सुविधा योजनालाई व्यवहारिक वनाउन पनि सोच्नु्पर्ने ढकालको सुझाव थियो ।

उनले भने, ‘यस प्रणालीका विषयमा श्रमिक र रोजगारदाताले अपेक्षा गरेकाले त्यसतर्फ सोच्न कोषलाई ग्रह गर्न चाहन्छु ।’

सामाजिक सुरक्षा प्रणालीलाई आकर्षक र भरपर्दो वनाउन सबैले आ–आफ्नो तहवाट योगदान गर्न पनि उनले आग्रह गरे ।