देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यू–१९ राष्ट्रिय क्रिकेट आजदेखि

देशान्तर

काठमाडौँ । आठ वर्षपछि यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । सन् २०१३–१४ यता नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानमा देखिएको विवाद, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपालमाथि लगाएको निलम्बन, कोभिड–१९ लगायतले उमेर समूहको यस प्रतियोगिता हुन सकेको थिएन ।

नेपाल क्रिकेट संघ (क्यान) ले गत वर्ष नै चौधरी ग्रुपको वाइवाइसँग यू–१९ क्रिकेटका लागि सम्झौता गरेको थियो । तर कोभिडका कारण गत वर्ष प्रतियोगिता हुन सकेन । वाइवाइको प्रमुख प्रायोजनमा मंगलबार सुरु हुने यू–१९ राष्ट्रिय प्रतियोगिता मंसिर १९ सम्म चल्नेछ ।

नेपाली यू–१९ सँग वाइवाइ १६–१७ वर्षदेखि जोडिँदै आएको र अहिले त्यसलाई निरन्तरता दिन लागिएको चौधरी ग्रुपका नायब महाप्रबन्धक लालबाबु प्रसादले बताए । ग्रासरुटको विकास नगरेसम्म नेपाली क्रिकेटले सोच जस्तो फड्को मार्न नसक्ने मनन गर्दै यू–१९ लाई प्राथमिकता दिएको क्यानका कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लले बताए ।

विगतमा समूह विभाजन गरेर राष्ट्रिय प्रतियोगिता आयोजना गरेकाले क्यानले निकै ठूलो आलोचना खेप्दै आएको थियो । राउन्ड रोबिन लिग संरचनामा गर्न लागिएको प्रतियोगितामा सहभागी ७ प्रदेशले एकअर्कासँग खेल्नेछन् र त्यसबाट शीर्ष दुई टोली फाइनल पुग्नेछन् । लिग चरणका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर, मूलपानी मैदान तथा फाइनल कीर्तिपुरमा हुनेछ ।

पुरस्कार राशि भने घोषणा गरिएको छैन । क्यानका क्रिकेट म्यानेजर विनोद दासले पुरस्कार राशिभन्दा पनि स्तरीय क्रिकेटलाई प्राथमिकतामा राखेको जनाउँदै पुरस्कार राशि केही दिनमा घोषणा गरिने जनाए ।