काठमाडौं-सरकारले आफ्नै व्यवसायिक स्याटेलाइट राख्नका लागि परामर्शदाता छनोटमा चार कम्पनीलाई संक्षिप्त सूचीमा राखेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको आशयपत्रको मूल्यांकनपछि ४ परामर्शदाता कम्पनीलाई सर्ट लिस्टमा राखेको हो ।
दुबई, फ्रान्स, टर्की र थाइल्यान्डका एक-एक कम्पनी सर्ट लिस्टमा परेका छन् । फ्रान्सको युरो कन्सल्ट, टर्कीको टीआरकेएसएटी-टीटीजी, दुबईको एसथ्री टेल इंक र थाइल्यान्डको थाइकम पब्लिक कम्पनी लिमिटेड सर्ट लिस्टमा परेका छन् ।
स्याटेलाइट खरिद प्रक्रिया अघि बढ्नुअघि त्यसको प्राविधिक र व्यवसायिक पाटोबारे अध्ययन गर्न परामर्शदाता छान्न लागिएको प्राधिकरणले जनाएको छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)ले नेपाललाई स्याटेलाइटका लागि अन्तरिक्षमा ५० डिग्री र १२३.३ डिग्री पूर्वी देशान्तरको ‘अर्बिटल स्लट’ छुट्याएको छ । त्यो स्लट र डिग्री नेपालको लागि कति उपयुक्त छ भन्ने विस्तृत अध्ययन हुन बाँकी छ । अब परामर्शदाता कम्पनी छानेर अर्बिटल स्लटबारे पनि अध्ययन गर्ने सरकारी योजना छ ।
स्याटेलाइटको प्राविधिक पक्ष, लगानी, बजार, बिजनेस मोडालिटी, प्रतिफलको सम्भावनालगायतका विषय अध्ययन गर्न केही दिनभित्रै परामर्शदाता छान्न अर्को बोलपत्र आहृवान गर्ने प्राधिकरणले जानकारी जनाएको छ ।
प्रतिक्रिया