December 1, 2021, Wednesday
२०७८ मंसिर १६
ताजा अपडेट
ताजा अपडेट ×

ए डिभिजन लिगमा विभागीय टोली बराबरी, मछिन्द्रको विजयी सुरुआत


 

Advertisement

 

 

 

 

 

 

 

 

 

काठमाडौं-शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा साविक विजेता मछिन्द्रले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलको ५१ औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको १० मिनेट नबित्दै आर्मीका बिबेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।

दोस्रो खेलमा साविक विजेता मछिन्द्रले एनआरटीमाथि २-१ को जीत निकाल्दा दुवै गोल सुनिल बलले गरे । खेलको १२औं मिनेटमा सुनिलले गरेको गोलसँगै अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा गोल खाएको थियो ।

५४औं मिनेटमा एनआरटीका एरिक विष्टले फ्रि-किकमार्फत गोल गरेसँगै बराबरी भएको खेलमा मछिन्द्रलाई जीत दिलाउन सुनिलले व्यक्तिगत दोस्रो गोल गरे ।

कप्तान सुनिलको पासमा ८०औं मिनेटमा सुनिलले ट्याप इनमार्फत विजयी गोल गरेका थिए । जितसँगै मछिन्द्रले तीन अंक हासिल गरेको छ । मछिन्द्रले दोस्रो चरणमा आर्मीसँग खेल्ने छ भने एनआरटीले ब्रिगेड ब्वाइजको सामना गर्नेछ ।