काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याण र विश्व कल्याणको कामना गर्दै आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेकी छन् ।
मुलुकमा भइरहेको सङ्कटबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पसहित विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले शेषनारायण, लालगणेश, सूर्यनारायण, गङ्गामाई, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, सितलामाई, चतुःषष्टि महादेव, उन्मुक्त भैरव र नवग्रहको दर्शन गरेर मूल भट्ट र अन्य भट्टद्वारा विशेष पूजा अर्चना गर्नुभएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए ।
उनले पशुपतिनाथको मूल मन्दिरको दर्शन गरी नन्दी, हनुमान, सत्यनारायणको पनि दर्शन गरेकी थिइन् ।
राजतन्त्र कालमा राजाले पनि पर्व पर्वमा पशुपतिनाथमा दर्शन एवम् पूजा गर्ने परम्परा थियो ।
अन्तरिम कालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र दोस्रो संविधानसभाको निर्वाचन गराउने मन्त्रिपरिषद् अध्यक्ष बनेका खिलराज रेग्मी पनि विशेष पूजाका लागि पशुपतिनाथ मन्दिरमा गएका थिए ।
]]>
प्रतिक्रिया