देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रमुख दलबीच साझा अवधारणा बनाउने सहमति

देशान्तर

काठमाडौँ। तराई मधेसको समस्या समाधान गर्न प्रमुख तीन राजनीतिक दल साझा अवधारणा बनाएर अगाडि बढ्न तयार भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलको बैठकले मुलुकलाई लामो समयसम्म अन्योलको बन्दी बनाएर राख्न नहुनेमा जोड दिएको छ । 

संविधानप्रति असन्तुष्ट रहेकाहरुबाट विगत चार महिनाभन्दा लामो समयदेखि तराई मधेस अशान्त रहेको, सोही बहानामा भारतले अघोषित नाकाबन्दी जारी राखेका कारण जनजीवन प्रभावित भएको र अर्थतन्त्र नराम्ररी प्रभावित भएको भन्दै समस्या समाधान गर्न सहमतिका साथ अगाडि बढ्ने निष्कर्ष निकालिएको छ । 

संविधानको विषयलाई लिएर प्रकट भएको असन्तुष्टि लम्बिँदै जाँदा समग्र मुलुक नै अस्तव्यस्त भएको भन्दै तीन दलले आ–आफ्ना पार्टीमा छलफल गरेर समस्याको शीघ्र समाधान गर्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी नेताहरुले  बताएका छन् । 

एमाले, एकीकृत नेकपा(माओवादी) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच आज अरु दिनभन्दा असाध्यै सघन र समस्या समाधान गर्ने लक्ष्यका साथ छलफल भएको जानकारी दिँदै नेताहरुले एकाध दिनमै निष्कर्षमा पुगिने विश्वास व्यक्त गरेका छन्  । 

प्रधानमन्त्री निवासको खुला चौरमा बसेको बैठकमा खुला र स्पष्ट छलफल भएको बताइएको छ । पछिल्लो दिनमा काँग्रेस, एमाओवादी र मधेसी मोर्चाका नेताबीच त्रिपक्षीय बैठक र काँग्रेस र एमाओवादीबीच भएको द्विपक्षीय बैठकका आधारमा दलहरुबीच सहमतिको वातावरण बन्न लागेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नै बैठक बोलाउनुहुने बताइएपनि शीर्ष नेताबीच समय अभावका कारण स्थगित भएको थियो । बैठकमा प्रधानमन्त्री ओली, वरिष्ठ नेता खनाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह तथा नेताहरु डा रामशरण महत र डा मीनेन्द्र रिजाल सहभागी  थिए  ।

]]>