नेपाली कला-मनोरञ्जनको क्षेत्रमा आरती अधिकारी (आचार्य) कुनै नौलो नाम होइन । ख्यातिप्राप्त, चर्चित र लोकप्रिय व्यक्तिचित्र, वृत्तचित्र, सानो पर्दाको चलचित्र तथा चलचित्र लेखकको रूपमा चिनिनुहुन्छ उहाँ । आरती नारी वृत्तमा अहिलेसम्मकै सर्वोत्कृष्ट चलचित्र लेखकको रूपमा दरिनु भएको छ । उहाँले ‘द निर्मला’, ‘दिलमा सजाएँ तिमीलाई’, ‘उल्झन’, ‘मेरो आफ्नो’, ‘माया बस्छ कि के हो’, ‘ब्ल्याक बक्स’लगायत सफल र ऐतिहासिक चलचित्रको कथा लेखिसक्नुभएको छ । यसरी दुई दर्जनभन्दा बढी चलचित्रका कथा लेखिसक्नुभएको छ । जसमध्ये उहाँका धेरै कथाले ‘सर्वोत्कृष्ट चलचित्र लेखक अवार्ड’ हात पारिसकेका छन् । प्रस्तुत छ– उहाँसँग गरिएको छोटो भलाकुसारी ।
तपाईंको पृष्ठभूमि संक्षेपमा बताई दिनुहोस् न ?
मेरो जन्म २०३५ साल वैशाख २० गते चितवन जिल्लाको हालको भरतपुर महानगरपालिका–१० मा भएको हो । मध्यमवर्गीय परिवारमा जन्मिएकी मेरो बाल्यकाल रमाइलो ढंगले बित्यो । त्यतिबेला बुबा सरकारी जागिरे हुनुहन्थ्यो भने आमा गृहिणी । त्यस्तै ३-४ वर्षको उमेरमा मलाई घरबाट करिब ५ मिनेट टाढाको तत्कालीन श्री भरतपुर माध्यमिक विद्यालयमा भर्ना गरियो । त्यहाँ मैले कक्षा ९ सम्म अध्ययन गरें । त्यसपछि पर्साको श्री खैरेनी माध्यमिक विद्यालयमा कक्षा १० मा भर्ना भएँ । किनभने म गणितमा अलि कमजोर थिएँ, मेरो काका अशोक रैला खैरेनी विद्यालयमा गणितकै शिक्षक हुनुहुन्थ्यो, त्यहाँ पढ्दा सुधार हुने भएकाले गएको हुँ । यसरी २०५३÷५४ सालमा मैले त्यहाँबाटै एसएलसी पास गरें । एसएलसीपछि उच्च शिक्षाका लागि भरतपुरस्थित सप्तगण्डकी कलेज भर्ना भएँ । २०६३ सालमा त्यहाँबाटै स्नातक तह पूरा गएँ ।
चलचित्र लेखनको क्षेत्रमाचाहिँ कसरी प्रवेश गर्नुभयो ?
म सानैबाट अरूलाई भन्न नसकेको, अव्यक्त कुरा डायरीमा टिप्ने गर्दथें । कति कुरा भन्न अप्ठ्यारो लाग्ने हुन्थ्यो । तर, आफूलाई मनमा लागेका कुरा लेख्दा आनन्द आउँथ्यो । त्यसैको विकसित रूप होला, पछि चलचित्र लेखन बन्यो । यद्यपि व्यावसायिक रूपमा नै व्यक्तिचित्र, वृत्तचित्र तथा सानो–ठूलो पर्दाको चलचित्र लेखनमा लागेको चाहिँ २०६३ सालबाट हो ।
घरपरिवारको सहयोग कत्तिको रह्यो ?
पहिले बुबा–आमा तथा आफन्तले पनि प्रोत्साहन गर्नुभयो । कारण हाम्रो परिवार बौद्धिक नै थियो । पछि त श्रीमान् राजु अधिकारी नै चलचित्र निर्देशक हुनुभएकाले सहयोग नपुग्ने त कुरै भएन । त्यसपछि चलचित्र क्षेत्र हाम्रो पारिवारिक पेसा जस्तै भयो ।
अहिलेसम्म कतिवटा चलचित्रमा कथा लेख्नुभयो ?
व्यक्तिचित्र, वृत्तचित्र, छोटा–लामो चलचित्र गरी दुई दर्जन जति पुगे । त्यसका अतिरिक्त केही चलचित्रमा गीत पनि लेखेको छु ।
तीमध्ये सफल-सफल ऐतिहासिकको नाम लिनु पर्दा ?
मैले लेखेको चलचित्र प्रायः सबै सफल र ऐतिहासिक नै प्रमाणित भएको छन् । तीमध्ये पनि निकै चर्चितको नाम लिनुपर्दा ‘द निर्मला’, ‘दिलमा सजाएँ तिमीलाई’, ‘उल्झन’, ‘मेरो आफ्नो’, ‘माया बस्छ कि के हो’, ‘ब्ल्याक बक्स’ आदि हुन् । ‘द निर्मला’ (२००८), ‘दिलमा सजाएँ तिमीलाई’ (२०१२) र ‘उल्झन’ (२०१९) ले विभिन्न समारोहमा ‘सर्वोत्कृष्ट चलचित्र लेखन अवार्ड’ पाए । त्यस्तै छोटो चलचित्रमा ‘तिमी नारी’ र ‘लकडाउन’ले समेत ‘सट फिल्म फेस्टिभल’मा ‘सर्वोत्कृष्ट लेखक अवार्ड’ पाएको छ ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
लेखनमा नै व्यस्त छु । छोटो चलचित्र ‘छाल’ छिट्टै आउने तयारीमा छ । अर्को छोटै चलचित्र ‘थड आई’को लेखनकार्य पनि चल्दै छ । ‘थड आई’ को सवालमा यो नितान्त सामाजिक चलचित्र हो । विश्वका १० प्रतिशत मात्रै मानिसले आँखा दान गरे भने पनि कोही नेत्रहीन भएर बस्नु पर्दैन । आँखा दान उत्कृष्ट जीवन दान हो । मृत्युपछि आखिर डढेर जाने आँखा दान गर्दा कसैले नयाँ जीवन पाउँछ भने किन नगर्ने ? त्यसैले सकेसम्म सवैले आँखा दान गरौं भन्ने यसको मूल सन्देश हो । अर्कोतर्फ चलचित्र लेखन कार्यमा सरसल्लाह दिनका लागि आइदिन क्यानडाको सम्बन्धित संघसंस्थाले अनुरोध गरेका छन् । समय मिलाएर जाने मेसो गर्दैछु ।
कुनै सामाजिक संघसंस्थामा पनि आबद्ध हुनुहन्छ कि ?
छु । म इन्टरनेसनल कल्चर सोसाइटीकी अध्यक्ष तथा फुलारा साहित्य प्रतिष्ठान नेपालकी मानार्थ सदस्य छु ।
प्रशंसापत्र, सम्मान, पुरस्कार, अवार्ड चाहिँ कत्तिको पाउनु भएको छ नि ?
मैले अनगिन्ती पाएको छु । दर्जनौं राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्थाले अभिनन्दन, पुरस्कृत र अवार्डसहित सम्मान पनि गरिसकेका छन् । त्यसैगरी केही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने अवसर पनि पाएिकी छु । पछिल्लो समय ‘रिबन इन्टरटेनमेन्ट फिल्म फेस्टिभल–२०२१’, ‘नेपाल सट फिल्म फेस्टिभल–२०७७’, ‘स्टार अवार्ड–२०७७’ लगायतमा ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान अवार्ड’, ‘चलचित्रकर्मी सम्मान अवार्ड’, तथा ‘सर्वोत्कृष्ट चलचित्र लेखक सम्मान अवार्ड’ आदिबाट सम्मानित हुने अवसर पनि हात लागिसकेको छ । म राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यक्तित्वको हातबाट सम्मानित पनि भइसकेकी हुँ ।
आफ्नो पेसा–क्षेत्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पूर्ण सन्तुष्ट छु । मानिसले आफ्नो सोख र चाहना कहिल्यै मार्नु हुँदैन । आफूले इच्छाएको काम गर्दा सन्तुष्टि मिल्नेमात्रै होइन– छिट्टै सफलता पनि हात लाग्छ । त्यसमा मैले पनि पहिलेबाटै यही सूत्र अपनाएँ । फलतः अहिलेको अवस्थासम्म आइपुग्दा आफूले गरेको कामप्रति गर्व लाग्छ । तथापि मेरो लक्ष्य, उद्देश्य र गन्तव्य पूरा भइसकेको भने छैन । संघर्ष र लगाव अभैm निरन्तर अगाडि बढिरहनेछ ।
प्रस्तुतिः कालिका महत
प्रतिक्रिया