देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यायालयका विषयमा कांग्रेस बोल्नुपर्छ : डिला संग्रौला

देशान्तर

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला पन्त संग्रौलाले न्यायालयमा देखिएको विवाद समाधान हुन जरुरी रहेकी बताएकी छिन् । सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै पन्तले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति पृथकीकरणको सिद्धान्तअनुसार चल्ने संस्था भएकाले अहिले देखिएको विवाद समाधान न्यायालयभित्रै खोज्नु पर्नेमा जोड दिइन् । राजनीतिक नेतृत्व पछिल्लो समय न्यायालयको विषयमा नबोलेको गुनासो भइरहेका बेला नेतृ पन्तले कांग्रेसको आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुने पनि बताइन् । महाधिवेशनको प्रसंगमा नेतृ पन्तले आफूले १४औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार बन्ने बताउ“दै त्यसको तयारीमा रहेको उल्लेख गरिन् । नेपाली कांग्रेसले १४औं महाधिवेशनलगत्तै तीन तहको निर्वाचनमा जुट्नुपर्ने भएकाले सबै एकजुट भएर नेपाली कांग्रेलाई पहिलो नम्बरको पार्टी बनाउने अभियानमा लाग्नुपर्नेमा पनि पन्तको जोड छ । प्रस्तुत छ, पन्तसँग देशान्तरका लागि मुक्तिबाबु रेग्मीले गरेको यो कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसको नेतृत्वमा अहिले सरकार छ, यो सरकारको समीक्षा गर्ने बेला भएन ?
सरकार गठन भएको एक सय दिन पुगेपछि समीक्षा गर्ने बेला हुन्छ । अहिले सरकारले एक सय दिन पनि पूरा गरिसकेकाले अब समीक्षा गर्दा हुन्छ । वर्तमान सरकार बन्दै गर्दा दुई, तीन वटा जल्दाबल्दा समस्याहरू थिए । एउटा कोभिडको संक्रमण व्याप्त थियो । नेपाली जनताले खोप पाइरहेका थिएनन् । भेन्टिलेटर र अक्सिजनको समस्या थियो । अहिले त्यो सबैले पाइरहेका छन् । सदनमा र बाहिर पनि प्रधानमन्त्रीले खोप, खोप, खोप भन्नु भएको थियो । अहिले सरकारले त्यसमा सफलता हासिल गरेको छ । यसैबीचमा अर्को चुनौती आयो । जलवायु परिवर्तनका कारण पहाडमा पहिरो र तराईमा जनधनको क्षति भयो । किसानले बालीनाली गुमाए । यसमा वर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारले राहत पनि दिएको छ । नेपाली जनताले अनुभूत गर्ने भनेको विकास र सुशासन पनि हो त्यसका लागि सरकारले केही कदमहरू चालिरहेको छ ।

सुशासनको कुरा गर्दा त सरकारले काम गर्न सकेन भन्ने आरोप त लाग्ने गर्छ नि ?
अहिले नेपाली कांग्रेसको एकलौटी सरकार छैन । नेपाली कांग्रेस अहिले गठबन्धनको सरकार चलाएर बसेको छ । नेपाली जनताले त हामीलाई प्रतिपक्षमा बस्न पठाएका हुन् । जनताले त पाँच वर्षका लागि सत्ता त अहिलेको एमालेलाई दिएका हुन् । पाँच वर्षको सत्ता जिम्मेवारी लिएर आएको एमाले आफ्नै कारणले बीचमै बहिर्गमन भयो । त्यसैले संयुक्त सरकारको नेतृत्व गर्दा जसरी हामीले गर्न सक्नु पर्ने हो त्यसरी भएको छैन । परिस्थिति पनि मुलुकको त्यहीतर्फ गइरहेको छ । तर, यो बीचमा पनि सबै दलको संयुक्त सरकार र नेतृत्व कांग्रेसले गरेको हुनाले अहिले राम्रो काम गरेको छ भन्छु म । विगतको सरकारको पालामा धेरै नै भ्रष्टाचारका काण्डहरू आए । औषधि उपचारको कुरा लगायतमा पनि थुप्रै भ्रष्टाचारहरू भएका थिए । यो सरकारको न्यूनतम साझा कार्यक्रममा प्रतिबद्धताहरू जाहेर भएको छ । त्यो कार्यान्वयन यो सरकारले गर्नुपर्छ ।

प्रतिपक्ष भनेको एमाले हो भन्ने त अहिलेको संसद्मा देखिएको घटनाले पुष्टि गरेको छ होइन ?
यस्तो होइन । आफू सरकारमा हुँदा झिंगो पनि नमार्ने, जहिले पनि गालीगलौज गरेर उफ्रिँदै गर्दा उहाँको पार्टी पनि त टुक्रिएको छ नि । उहाँहरूले राम्रो काम नगर्दा त गठबन्धन बनेको हो । यो सरकार बनेको हो । नेपाली कांग्रेस जहिले पनि लोकतन्त्रको हिमायती भएको हुनाले हामी प्रतिपक्षमा रहँदा जहिले पनि रचनात्मक कार्यको समर्थन ग¥र्यौं । जनविरोधी, लोकतन्त्र विरोधी र संविधान विरोधी सरकारले काम गर्दा त्यसको हामीले विरोध ग¥र्यौं । अहिले एमाले प्रतिपक्षमा हुँदा संसद्को सर्वोच्चता कायम गर, कायम गर भनेर नारा लगाउनु भयो । पछिल्लो अधिवेशनमा संसद् अवरोधबाहेक अरू केही पनि भएन । जसले संसद्लाई मानेन, दुईदुई पटक भंग गर्‍यो । जसले संविधानको मूल्य र मान्यताविपरीत गयो । जसले संसद्मा जहिले पनि आफू सत्तामा हुँदा प्रतिपक्षका कुराको कुनै सुनुवाइ गरेन । त्यसले संसदीय सर्वोच्चता कायम गर भनेर संसद् अवरोध भएको छ । संसद् अवरोध गर्ने मात्रै प्रतिपक्ष होइन नि त ।

अहिले न्यायालयको विवाद छताछुल्ल भएको छ, तर यस विषयमा तपाईंहरू किन मौन बस्नुभयो, धारणा के हो ?


यसमा मेरो धारणाभन्दा पनि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक छ । प्रधानन्यायाधीशको राजीनामा कानुनविद्, न्यायाधीश र बार एसोसिएसनबाट मागिरहनु भएको छ । जसका कारण अहिले न्यायालय डिस्टर्ब पनि भएको छ । लोकतन्त्रको सुन्दर पक्ष भनेको विधिको शासन, स्वतन्त्र न्यायपालिका हो । जनताको आस्था र विश्वासको धरोहर भनेको न्यायपालिका हो । न्यायपालिका पनि शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका चल्छन् । त्यसैले अहिलेको न्यायालयको समस्या न्यायपालिकाको क्षेत्राधिकारभित्र रहेको निरूपण गरिनुपर्छ । त्यसैले नै संसद्मा ल्याउने विषयमा छलफल भएको छैन । तर यसलाई यथास्थितिमा राखिरहने भन्ने हुँदैन । राजनीतिक दल संसद् गठबन्धबाट बनेको सरकारले यो विषयमा छलफल नै नगर्ने भन्ने हो भने यसरी चल्दैन । यस विषयमा नेतृत्वबाट स्पष्ट जवाफ आउनुपर्छ । त्यसैले अबको बैठकमा यो मुद्दाले पनि प्रश्रय पाउँछ ।

एमसीसी पारित गराउनका लागि सरकार अघि बढेको हो ?
एमसीसीको विषयमा प्रष्ट धारणा के छ भने यथास्थितिमा यो एमसीसी सम्झौता पारित गर्नु हुँदैन भनेर नेपाली जनताले एक प्रकारले आन्दोलन पनि गरे । नेपाली जनता र मुलुकको लागि हामीले काम गर्ने हो भने जनताको मागअनुसार नेपाली कांग्रेसभित्र यस विषयमा पनि अब छलफल गर्नुपर्छ ।

एमसीसी पारित हुन्छ भनेर पत्र पठाएको कुरा पनि सार्वजनिक भयो, के अझै पार्टीमा छलफल भएको छैन ?
एमसीसीको विषयमा बाहिर हामीले सुनिरहेका छौं । नेपाली कांग्रेसभित्र यस विषयमा कुनै पनि छलफल भएको छैन । अब बस्ने केन्द्रीय समितिको बैठकमा सायद छलफल होला । छलफल गरेर एमसीसीलाई अघि बढाउनु पर्छ । यथास्थितिमा यसलाई अघि बढाउनु हुँदैन ।

अहिले गठबन्धनको सरकार छ, फेरि सरकारलाई साथ दिनका लागि समिति किन चाहियो ?
सबै कुरामा अहिले नै नेगेटिभ कमेन्ट नगरौं । शीर्षस्थ नेतृत्व बसेर अहिले एउटा राजनीतिक संयन्त्र बनाउनु भएको छ । उहाँले अहिले निकास दिनका लागि यो संयन्त्र बनाउनु भएको हो ।

तपाईंहरूको गठबन्धन कहिलेसम्म ?
यो गठबन्धन तीनै तहको निर्वाचन गराउने गरी संविधानत निर्वाचन होस् भनेर नै यो सरकारको गठन भएको हो । संसद् पूरै कार्यकाल चलोस् भनेर नै यो गठबन्धन निर्माण भएको हो । अल्पायुमा दुई पटक संविधानसभाको विघटन भएपछि पूर्णकालीनरूपमा चलोस् भन्ने सोचअनुसार संयुक्त गठबन्धन सरकार चलेको हो भने त तीनै तहको निर्वाचनसम्म यो सरकार चल्नु प¥यो नि त ।

निर्वाचनसम्म नै यो गठबन्धन कायमै राख्ने ?
निर्वाचन त सबै पार्टीले एक्लाएक्लै लड्नु पर्छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४–२६ तोकिएको छ, यो बाध्यकारी हो ?
हो अब १४औं महाधिवेशन नगरेर सुखै छैन । यो भनेको हाम्रा लागि लास्ट डेटलाइन हो । मंसिरभित्र सबै अधिवेशन सक्नुपर्छ । अधिवेशन भएन भने नेपाली कांग्रेसलाई ठूलो क्षति हुन्छ । त्यसैले अहिले नै क्षतिको आकलनभन्दा पनि हामी अधिवेशनको संघारमा छौं । जसरी पनि मंसिरभित्र अधिवेशन सकिन्छ । अहिले म पनि अधिवेशनको प्रचारप्रसारमा लागिसकेकी छु ।

अबको कांग्रेस कस्तो कांग्रेस ?


अबको कांग्रेस विचारशील कांग्रेस हुन्छ । जनतामुखी कांग्रेस हुन्छ । मुलुकलाई भोलिको दिनमा हाँक्न सक्ने कांग्रेस तीनै तहमा नेतृत्व गर्न सक्ने हुनुपर्छ । जनताको अधिकार रक्षाका लागि काम गर्ने कांग्रेस बन्छ ।

भनेको अहिलेको नेतृत्वले त त्यो काम गर्न नसकेको हो ?
काम गर्न सक्ने नसक्नेभन्दा पनि धेरै परिस्थिति सिर्जना भएको छ । अधिवेशनले धेरै कुराहरू निक्र्योल गर्छ ।

अहिले कांग्रेसमा त नीति कस्तोभन्दा पनि नेता को भन्ने होडबाजी छ ?
यो राम्रो कुरा होइन । पार्टीमा नेता प्रधानभन्दा पनि नीति प्रधान हुनुपर्छ । एजेन्डा प्रधान हुनुपर्छ । नीति र एजेन्डाको आधारमा नेतृत्व चयन हुनुपर्‍¥यो । क्षमतावान् नेताहरू पाखा लाग्ने र नेताको वरिपरी हुनेहरूले मात्रै अबसर पाउने हुनु हुँदेन । त्यसले गर्दा नेपाली कांग्रेसलाई घाटा पनि लागेको छ । हामी प्रतिपक्षमा पुग्यौं, दोस्रो दल भयौं । यो घटनाको पुनारबृत्ति गर्नु हुँदैन । देशभरबाट महाधिवेशनमा आउने गरी साथीहरू तयारीमा बस्नु भएको छ । मंसिर ६ गते महाधिवेशन प्रतिनिधि चयन र मंसिर १० गते जिल्ला अधिवेशन हुँदैछ । त्यसपछि नेतृत्वले आफूलाई नीति र नेतृत्वका लागि प्रस्तुति गर्नुपर्छ ।

तपाईं कहाँनेर ?
म नीति लिएर हिँड्ने हो । सहमहामन्त्रीको उम्मेदवार हुँ ।

तपाई किन सहमहामन्त्री ?
नेपाली कांग्रेसभित्र अहिले पनि नेतृत्व तहमा कोषाध्यक्ष पदमा मात्रै सीमित रहें । प्रतिनिधित्वमा मात्रै विधानअुनसार महिला पुगे नेतृत्वमा पुग्न सकेनौं । त्यसैले नेपाली कांग्रेसको विधानले विभिन्न कलस्टरको व्यवस्था गरेको छ । महिलाहरूलाई आरक्षण गरेको छ अरूमा पनि खुल्ला उठ्न सक्छन् । महिलाहरूको अधिकारका लागि सबली र सशक्तीकरणको लागि पार्टी निर्माणको लागि नेपाल महिला संघको राष्ट्रिय अध्यक्ष भएर मात्र होइन देशभरि संगठन निर्माण र महिलाहरूमा जागरण र ऊर्जा पनि भरें । महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन मेरै नेतृत्वमा सफल पनि भयो । त्यसैले गर्दा महिलाहरू पदाधिकारीमा पनि पुग्नुपर्छ भन्ने आवाज आइरहेको छ । पार्टीलाई जहिले पनि संस्थागत रूपमा चलाउनु प¥यो । संस्थागत मूल्य र मान्यता विचारमा आधारित कांग्रेस बनाउनु पर्छ । हामीले वैचारिक कांग्रेस खोजिरहेका छौं । वैचारिक कांग्रेस बनाउने अभियानमा मेरो योगदान हुन्छ । देशभित्र ठूलाठूला चुनौतीहरू छन् । जनताको लोकप्रिय पार्टी कांग्रेस बनाउने अभियान लिएका छौं । त्यसैले जनताको सुख र दुःखको साथी कांग्रेस बन्नुपर्छ । अर्को भनेको युवा र महिला समावेशी पार्टी आजको आवश्यकता हो ।

टेस्ट भइसकेको नेतृत्व नै फेरि उम्मेदवार बन्ने आकांक्षामा छन्, कसरी वैचारिक कांग्रेस बन्छ ?
यो आवश्यकता हो । १३औं महाधिवेशनको भन्दा अहिले धेरै नै परिवर्तन भएको छ विधानमा । २० प्रतिशत मात्रै मनोनीत छ भने ८० प्रतिशत इलेक्सनबाट आउँछन् । इलेक्सनबाट प्रतिस्पर्धा गरेर कार्यकर्ता र साथीहरूको मन जितेर आउने मान्छे वैचारिक हुन सक्छ । विगतमा हाम्रा के कति कमजोरीहरू रहे ती समीक्षा गरेर नेतृत्व चयन गर्नुपर्छ ।

वैचारिक कांग्रेस, नीतिगत कांग्रेस बनाउनका लागि अहिलेको चुनौती के हो ?
चुनौतीहरू थुप्रै छन् । पार्टीभित्र आन्तरिक र बाह्य चुनौती पनि छन् । प्रतिस्पर्धाको राजनीति पनि छ । राष्ट्रिय राजनीतिमा देखिएका चुनौती समाधान गर्नका लागि अरूभन्दा नेपाली कांग्रेस सक्षम छ भन्ने अनुभूति पनि दिनुप¥यो, अहिलेको अवस्था पनि त्यस्तै देखायो । जसले जनताले ठूलो पार्टी बनाए उसले नेतृत्व गर्न सकेन । पार्टीभित्रको अर्को चुनौती भनेको अधिवेशनलगत्तै तीनै तहको निर्वाचन फेस गर्नु पर्नेछ । त्यसैले अहिलेको अधिवेशनलाई महायज्ञको रूपमा सम्पन्न गर्न जरुरी छ । अहिलेको अधिवेशनलाई हामीले बुद्धि, विकेक र मूल्यांकनको अधिवेशन बनाउनु पर्छ । गुटकै आधारमा मात्रै हामी कुद्यौं भने केही साथीहरू मात्रै पुग्छन् र केही साथीहरू पछाडि पर्छन् । त्यसपछि आउने निर्वाचनमा यसले त फाइदा गर्दैन ।

कुनै पदमा उम्मेदवार बन्न गुटकै आवश्यकता किन ?
गुट स्वाभाविक हो । लोकतन्त्रमा गुट भनेको सुन्दर पक्ष पनि हो । अधिवेशनमा लाइक, डिसलाइक हुन्छ, लवि हुन्छ । यो नभए त देशभरबाट आउन करिब चार हजार महाधिवेशन प्रतिनिधिलाई कुनै व्यक्तिले कसरी प्रभावित गर्ने त । त्यसको लागि टिम चाहिन्छ । टिमलाई यहाँ गुट, उपगुटको संज्ञा दिइएको हो । गुटलाई अधिवेशनसम्म मात्रै राख्नुपर्छ । अधिवेशनपछि पार्टी नेतृत्वले सबैलाई समान अवसर दिएर अघि बढ्दा राम्रो हुन्छ ।

तर गुटले प्रतिशतमा हिसाब गरिरहेको छ ?
विगतमा यस्तो हुँदा अर्थात् नेपाली कांग्रेसभित्र आन्तरिक एकता कमजोर हुँदा मुलुक र जनताले नै दुःख पाए नि । लोकतन्त्र, गणतन्त्र र संविधानमाथि पटकपटक प्रहार भयो । प्रतिगामी तत्वहरू सल्बलाए । कतिपय शक्तिहरू अहिले पनि त्यही आडमा सल्बलाइरहेका छन् । विभिन्न खालका घटना र परिदृश्यहरू घटिरहेका छन् । यो सबैलाई जोड्ने लोकतन्त्र हो नि । लोकतन्त्रको सञ्जीवनी बुटी कांग्रेस हो । कांग्रेसभित्र रहने हामीहरूले जित्नेले हार्नेलाई समेट्न नसक्ने र हार्नेले जित्नेको सधैं विरोध गर्ने हो भने कांग्रेस पहिलो पार्टी बन्न सक्दैन ।