नेपाली लोकतन्त्रको विषय उठान हुँदासाथ जोडिने दुई नामहरू हुन्, विश्वेश्वरप्रसाद कोइराला (बीपी) तथा गणेशमान सिंह । समाजवादी लोकतान्त्रिक नेता जसले राणाशासनबाट देशलाई मुक्ति दिने क्रान्तिको नेतृत्व गरे, प्रथम निर्वाचित प्रधानमन्त्री भए तथा परम्परावादी महत्वाकांक्षी राजाको कोपभोजनमा परे भन्ने स्थापित पहिचान छ बीपीको ।
राजाले हरण गरेको लोकतन्त्र पुनर्स्थापना आन्दोलनलाई तत्काल निष्कर्षमा पुर्याउन सफलता हासिल गर्ने, सर्वमान्य नेताको पदवीबाट सुशोभित हुने, निष्ठावान, निर्भीकता तथा दृढ व्यक्तित्व भएको लौह पुरुषको पहिचान छ गणेशमान सिंहको । सिंहले राजाले जनप्रतिनिधिलाई सम्बोधन गर्दा तिमी होइन तपाईं भन्नु पर्दछ भन्ने बोध गराए । प्रधानमन्त्री पद सुम्पँदा आफूभन्दा सबल व्यक्तिलाई ‘बक्सन’ अनुरोध गरे।
उमेरले बीपीभन्दा एक वर्ष कान्छो गणेशमान बीपीभन्दा पहिले नै राणाशासनविरुद्ध आन्दोलनमा सक्रिय भएका हुन् । चार दशक जति लामो यी दुई नेताबीचको मैत्री सम्बन्ध यस लेखको विषय हो ।
बीपीसँगको परिचय पाएलगत्तै गणेशमानका निमित्त एकल नेता भए बीपी कोइराला । उहाँ आजीवन बीपीको अनुयायी, सहयात्री योध्दा तथा घनिष्ट मित्र हुनुभयो । बीपीको राजनैतिक जीवनमा थुप्रै सहयोद्धा तथा सहयोगीहरू भए । तीमध्ये अधिकांशले बीपीको साथ छोडे विभिन्न कारणहरूले गर्दा ।
बीपीको छहारीमा रहँदाभन्दा दरबारको सामीप्यमा आफ्नो अभीष्ट पूर्ति हुने निष्कर्षमा पुगेर महावीर शमशेर, महेन्द्रविक्रम शाह, विश्वबन्धु थापा, परशुनारायण चौधरी तथा डा. तुलसी गिरी आदिले दरबारको उन्मुख भए । त्यसैगरी वैचारिक विमतिको कारणले सूर्यप्रसाद उपाध्याय, सुवर्णशमशेर तथा बखानसिंह गुरुङ आदिले बीपीसँगको सम्बन्ध नै त्यागे । तीन दशक लामो राजाको प्रत्यक्ष नेतृत्वमा रहेको पञ्चायती कालखण्डमा हजारौंको संख्यामा बीपीका अनुयायीहरूले उहाँको साथ त्यागेर राजाको शरणमा पुगे । त्यसरी उपियाँ उछिटेजस्तो गरेर बीपीसँग सम्बन्ध पारपाचुके गर्ने अधिकांशका निमित्त व्यक्तिगत तथा पारिवारिक कारणहरू पनि थिए । गणेशमान सिंहले जुनसुकै परिस्थिति आइपर्दा पनि बीपीको साथ छोडेनन् ।
गणेशमान सिंहलाई बीपीले आदर गर्नु हुन्नाथ्यो । नेपाली कांग्रेसको गठन गर्दा गणेशमानकै अनुरोधमा बीपीले काठमाडौंमा आजीवन जेल सजाय भोग्दै गरेका प्रजापरिषद् संस्थापक अध्यक्ष टंकप्रसाद आचार्यलाई नेपाल राष्ट्रिय कांग्रेस दलको प्रथम सभापति चयन गर्न तयार हुनु भयो । गणेशमानकै अगुवाइमा नेपाल प्रजातान्त्रिक कांग्रेस नेता सुवर्णशमशेर राणा तथा नेपाली राष्ट्रिय कांग्रेसबीच सम्बन्धले नेपाली कांग्रेस दलको गठन भयो । बीपीले अहिंसात्मक आन्दोलन (सत्याग्रह) लाई त्यागेर सशस्त्र क्रान्तिबाट राणाशासनको अन्त्य गर्ने निर्णय गर्नुमा गणेशमान सिंहको भूमिका अहम् थियो ।
बीपीको असली अनुयायी गणेशमानका निमित्त बीपीले गर्ने निर्णय अन्तिम हुन्नथ्यो । बीपीकै अनुरोधमा गणेशमान सिंहले नेपाली कांग्रेस दल अध्यक्ष मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलबाट (अन्य दुई सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय) ले राजीनामा दिए । सुन्दरीजलको आठ वर्ष लामो जेल यातना हँुदा होस् अथवा चरम अभावको अर्को आठ वर्ष लामो भारतको निर्वासन जीवन गणेशमानले बीपीको साथ छोडेनन् । सुवर्णशमशेरको प्रजातन्त्र सुदृढीकरण गर्न राजालाई सहयोग गर्ने वक्तव्यको समर्थन सर्तमा सुन्दरी जेलबाट रिहा हुने होस् अथवा बीपीको ‘राष्ट्रिय मेलमिलाप’ को नारामा स्वदेश फर्कने दुवै निर्णयप्रति असहमति हुँदाहुँदै पनि गणेशमान अन्ततोगत्वा आफ्नो नेताको साथ छोडेनन् । त्यसैगरी कम्युनिस्टसँग सहकार्य गरेर भए पनि पञ्चायत प्रणालीको अन्त्य गर्नुपर्छ भन्ने मान्यता राख्दथे गणेशमान । बिना सर्त राजाले आह्वान गरेको जनमतसंग्रहलाई स्विकार्नु हँुदैन भन्ने गणेशमानको अडान थियो । बीपीको निर्णयअनुसार बिनासर्त उहाँ नेपाल फर्कनुभयो, जनमतसंग्रहमा सहभागी हुनुभयो अनि कम्युनिस्टसँगको सहकार्यलाई थाँती राख्नुभयो।
गणेशमान सिंहको चाहना थियो आफूले जन्माएको दलको नेतृत्व गरेर त्यसलाई नयाँ मार्ग प्रदान गर्ने तथा व्यवस्थापन गर्ने । बीपी विश्वस्थ हुनुहुन्थ्यो राजा महेन्द्रले आफू दल अध्यक्ष रहुञ्जेलसम्म आम निर्वाचन अथवा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न दिँदैनन् भन्नेमा । उक्त कारणले गर्दा २०१२ को महाधिवेशन पूर्वसन्ध्यामा उहाँ (बीपी) ले सभापति पदको प्रत्याशी नहुने घोषणा गर्नुभयो । बीपी र सुवर्णशमशेरबीच समझदारी भयो सुवर्णशममेरले सभापति पदमा रहेर पार्टी सञ्चालन गर्ने । राणातन्त्रको अन्त्य गर्ने उद्देश्यले निर्माण गरेको दलको नेता राणा परिवार सदस्य कदापी हुनु हुँदैन भन्ने अडान गणेशमान सिंहको रह्यो ।
उहाँले पनि पार्टी सभापतिको उम्मेदवारीको घोषणा गर्नुभयो । बीपीलाई भने आफूलाई मन नपराउने राजाले कदापि आफूभन्दा कडा शब्दमा राजाको विरोध गर्ने गणेशमानलाई रुचाउँदैनन् भन्नेमा प्रष्ट हुनुहुन्थ्यो । ‘गणेशमानजी पार्टी सभापति हुने हो भने त मैले सभापति पद त्याग्नुको कुनै तुक हुँदैन’ भनेर उहाँले आफ्ना सामीप्यका नेता, कार्यकर्ताहरूलाई भन्नु भएको थियो । दलभित्रको युवा पंंक्ति गणेशमानको समर्थनमा थिए । यस परिस्थितिमा बीपीले आफ्ना निकटका अनुयायीहरूलाई सुवर्णशमशेरको समर्थनमा प्रचारप्रसार नगर्न अह्राउनु भयो । झिनो मतले मात्र गणेशमान पराजय तुल्याउन अनुरोध गर्नु भयो । बीपीको सल्लाह (पार्टी सभापतिको उम्मेदवार नहुन) गणेशमानले उल्लंघन गरेको यो एक मात्र उदाहरण हो ।
दुई मित्रबीच सादा घनिष्टता हुँदाहुँदै पनि मतमतान्तर हुनु स्वाभाविक थियो । गणेशमानले आफ्ना नेताका विषयमा कुनै पनि कुण्ठालाई सार्वजनिक गर्नु भएन । विपरीत ‘आत्मवृत्तान्त’ तथा ‘जेल जर्नल’ मा बीपीले गणेशमानका विषयमा व्यक्त गरेका धारणाहरू सबै भने प्रशंसनीय छैनन् । तर, पनि गणेशमानले तिनको सार्वजनिक प्रतिकार कहिल्यै पनि गर्नु भएन ।
वर्तमान कालखण्डमा नेपाली कांग्रेस दलभित्र सुनिने ‘त्याग तपस्या र बलिदानको कदर पार्टी नेतृत्वले नगरेको’ सिकायतलाई आत्मसात् गर्ने हो भने गणेशमानले जति गुनासो गर्ने अधिकार कुनै पनि कांग्रेस नेता, कार्यकर्ताहरूलाई छैन ।
बीपीलाई हरहमेसा साथ दिने गणेशमानले के पाउनु भयो ? पार्टी सभापति पद उहाँको रोजाइ थियो त्यसलाई उहाँले कहिल्यै पनि पाउनु भएन । देश सञ्चालन गर्न पाएको अवसर पनि त्याग्नु भयो ।
बीपीको जीवनकालमा गणेशमानलाई दलको सभापति पदमा आसीन हुन कुनै नेता कार्यकर्ताले रोक्न सक्ने थिएनन् यदि बीपीले चाहेको भए । बीपीलाई गणेशमानको इच्छापूर्ति गरेर गुण लगाउनु थिएन । किनकि बीपीलाई पद सुम्पेर गणेशमानको समर्थन जुटाउनु पटक्कै थिएन । हेक्का रहोस्, मोरङ जिल्ला कांग्रेस सभापति गिरिजाप्रसादको तथा विश्वबन्धु थापाबीच संघर्ष चल्यो । बहुमत विश्वबन्धुको पक्षमा थियो । पार्टी सभापतिले विश्वबन्धुको साथ दिनु भयो आफ्नो कनिष्ट भाइ गिरिजाप्रसादका बिरुद्धमा । जीवनको अन्तिम घडीमा सुवर्णशमशेरसँग मनमुटाव चुरिएको थियो । परशुनारायण चौधरी सुवर्णशमशेरका अनुयायी थिए । बीपी र सुवर्णशमशेरबीचको सम्बन्ध चिसो पार्नेमा तिनको अहम् भूमिका थियो । तर, पनि बीपीले ‘भविष्यको प्रधानमन्त्री’ भनेर तिनको परिचय गरी दिनु भयो ।
गणेशमान बीपीका निमित्त सबै हुनुभयो तर उत्तराधिकारी भने हुनु भएन । कांग्रेस दलका चार तारा (बीपी, सुवर्णशमशेर, गणेशमान तथा सूर्यप्रसाद) मध्ये बीपीको नजर आफ्नो उत्तराधिकारी हुन लायक केवल सुवर्णशमशेर मात्र हुन् भन्ने थियो । नेतृत्व हस्तान्तरणका निमित्त बीपीले छानेको उत्तराधिकारी उम्मेदवारहरू विश्वबन्धु थापा, सरोज कोइराला, श्रीभद्र शर्मा तथा परशुनारायण चौधरी थिए । सरोजलाई मारियो अन्यले बीपीलाई कुर्नुभन्दा राजाको शरणमा पुग्नुलाई प्राथमिकतामा राखे ।
बीपीले गणेशमानलाई उत्तराधिकारी घोषित नगर्नाका कारणहरू इतिहासको गर्वमा लुकेका छन् । वर्तमान कांग्रेसी संस्कारमा हुर्केको पिँढी जस्ले राजनीतिलाई लगानीको चस्मा पहिरेर हेर्ने गर्दछन् तिनका निमित्त यो शोधको विषय हुन सक्दछ ।
प्रतिक्रिया