देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज विश्व मधुमेह दिवस, कसरी बच्ने ?

देशान्तर

काठमाण्डौँ । आज १४ नोभेम्बर । विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रुपमा संयुक्त राष्ट्रसंघले पनि आधिकारिकता दिन थालेको हो ।

मधुमेह उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा दिवस मनाउन थालिएको हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रुपमा मधुमेह वा डायबेटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।

यो वर्ष अर्थात् सन् २०२१ का लागि विश्व मधुमेह दिवसको नारा चाहिँ ‘एक्सेस टु डायबेटिज केयर’ रहेको छ । अर्थात्, मधुमेह उपचारमा पहुँच ।

जीवनशैली र वंशानुगत कारणले वर्षेनी विश्वभर लाखौँ मानिसहरु मधुमेहको शिकार बनिरहेका छन् ।अहिले मधुमेह वा डायबेटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरुबाट प्रताडित हुनु पर्दैन ।

के हो मधुमेह ?
मधुमेह वा डायबेटिजलाई हामीले बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भनिरहेका हुन्छौँ । विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबेटिज भएको हुनसक्ने अनुमान भएको छ । चिकित्सकहरुले डायबेटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् ।

डायबेटिज दुई प्रकारका हुन्छन् । टाइप वान डायबेटिज र टाइप टु डायबेटिज ।
हाम्रो प्यान्क्रियाजका कोषहरु भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबेटिज वा मधुमेहलाई टाइप वान डायबेटिज भनिन्छ । यो विशेषतः बच्चाहरुमा देखिन्छ । तर, यसको अर्थ अरु उमेर समूहका मानिसहरुमा यो हुँदैन भन्ने होइन । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो ।

दोस्रो प्रकारको मधुमेह नेपालमा वा विश्वका मानिसहरुमा देखिने सबैभन्दा कमन डायबेटिज हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकीय भाषामा टाइप टु डायबेटिज भनिन्छ । हाम्रो प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबेटिज हुन्छ ।

हाम्रो शरीरमा आवश्यक ‘सुगर’को सही सन्तुलन नहुँदा यस्तो हुन्छ । हामीलाई केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ । तर, शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ ।यो डायबेटिज हुने प्रमुख कारण चाहिँ मोटोपना हो । अहिले विश्वभर मानिसहरुमा मोटोपनाको चिन्ता देखिन थालेको छ । अहिले देखिएको डायबेटिजको मुख्य कारक पनि मोटोपना भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरुले देखाएका छन् ।

आधुनिक हुने नाममा हामीले गर्ने हेलचक्र्याइँका कारण पनि हामी डायबेटिजको शिकार हुने सम्भावना बढ्दै गएको छ । डायबेटिजको अर्को कारण हो, तनाव लिनु वा स्ट्रेस । त्यस्तै, उच्च रक्तचाप भएका र कोलेस्ट्रोरेल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ । त्यस्तै, वंशानुगत रुपमा पनि मधुमेह सर्न सक्छ ।

मधुमेह कुनै ठूलो रोग नभएको पछिल्लो उपचार पद्धतिले पनि प्रमाणित गरिसकेको छ । यसलाई समयमा नै उपचार गर्ने हो भने यसबाट हामीले छुटकारा पाउन सकिन्छ । त्यसो त समय समयमा हामीले रगत जाँच गरेर समयमा नै यसको उपचार गर्ने हो भने यसलाई नियन्त्रणमा लिन त्यति सजिलो छैन । प्रिडायबेटिज भएको थाहा पाउँदा नै हामीले शरीरको तौल घटाउने हो भने विश्वभर भएका अनुसन्धानबाट के प्रमाणित भएको छ भने हामीलाई मधुमेह नै हुँदैन ।

प्रिडायबेटिज थाहा पाएपछि शरीरको तौल ७ प्रतिशत घटाएकाहरुलाई नै डायबेटिजको सम्भावना निकै कम भएको अध्ययनहरुले प्रमाणित गरेका छन् । यसको अर्थ हो, डायबेटिजबाट बच्न सबैभन्दा पहिले हामीले शरीरको तौललाई सन्तुलनमा राख्नु पर्ने हुन्छ ।

डायबेटिजको डर पनि हुने तर हामीले बजारमा पाइने जंक फुड, रक्सी तथा चुरोट पनि नछोड्ने हो भने मधुमेह सन्तुलनमा आउन निकै गाह्रो हुन्छ । त्यसो त धेरै जंक फुड खाने, चुरोट र रक्सी सेवन धेरै गर्नेहरुको हृदयघातको सम्भावना पनि बढी हुन्छ । त्यसैले पनि मधुमेह नियन्त्रणमा ल्याउन चाहनेहरुले पनि यस्ता बानी तत्काल त्याग्नु पर्छ ।

मधुमेह नियन्त्रणका लागि हामीले हाम्रो खानामा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । मधुमेह भएका मानिसहरुले त खानामा विशेष ध्यान दिनु पर्छ । डायबेटिज भएको प्रमाणित भयो भने धूमपान र मध्यपान गर्नै हुँदैन । सबैभन्दा पहिले हामीले प्रोसेस्ड खानेकुरा खाने बानीलाई कम गर्नुपर्छ । बजारको प्रोसेस्ड खानेकुरा भन्दा घरमा पकाइएका पौष्टिक तथा ताजा खानेकुराले हामीलाई स्वास्थ्य राख्न आवश्यक हुन्छ ।

डायबेटिज भइसकेको प्रमाणित भएमा खाने कुरामा हामीले सकेसम्म काब्रोहाइड्रेट खानु हुँदैन । जस्तो कि हामीले दैनिक खाने भातमा काइब्रोहाइड्रेट निकै धेरै हुन्छ । अनि योसँगै हामीले खाने तरकारीमा आलु राखिएको छ भने त यो झन् खतरानक हुन्छ ।
मधुमेह भएका मानिसहरुले पनि दैनिक एक पटक भात खाँदा त हुने चिकित्सकहरुले बताउँछन् । तर, यसका लागि पहिले चिकित्सकीय सल्लाह लिनु पर्ने उनीहरु बताउँछन् । त्यस्तै, फलफूललाई प्राथमिकतामा राखे पनि मधुमेह हुनेहरुले क्यान जुसहरु खानै नहुने बताउँछन् । त्यस्तै, डायबेटिज हुनेहरुले रातो मासु खानै नहुने पनि चिकित्सकहरुले सुझाव दिन्छन् ।

मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ । मिर्गौला, कलेजो, मुटु, आँखालगायतका हाम्रा महत्त्वपूर्ण अंगमा ठूलो असर गर्न सक्ने भएकाले मधुमेहबाट समयमा नै बचौँ । यसका लागि समयमा नै चिकित्सकसँग सल्लाह गरौँ ।

समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्नु होला, मधुमेह र अन्य रोगबारे समयमा नै थाहा भयो भने यस्ता रोगहरुको उपचार सम्भव छ ।