देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारबाट ‘बाहिरिने’ बारे एमाओवादी छलफलमा

देशान्तर

काठमाडौं । एमाओवादीले सरकारमा रहिरहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्ने भएको छ । सरकारबाट फिर्ता हुनसक्ने एजेन्डासहित एमाओवादीका मन्त्री र उनीहरूको अनुगमन गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको संयन्त्रको बैठक आइतबार हुँदैछ । एमाओवादीले सरकारको तीनमहिने कार्यकालबारे पनि गम्भीर समीक्षा गर्न लागेको छ । सरकार गठन भएको सय दिन पुग्दासम्म पनि जनतालाई राहत दिने परिणाममुखी काम नदेखिएको भन्दै जनआक्रोश बढ्दै गएपछि एमाओवादीले सरकारको समीक्षा गर्न लागेको हो ।

‘सरकारमा रहने कि समर्थन कायम राखेर बाहिरिने भन्नेमा छलफल हुन्छ’, एक नेताले भने, ‘कुनै पनि कोणबाट नतिजामुखी परिणाम नदेखिएमा सय दिन पुगेलगत्तै सरकारबाट बाहिरिने निर्णय हुन पनि सक्छ ।’ अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा भएको तीन नम्बर प्रदेशको बैठक र शनिबार इटहरीमा भएको एक नम्बर प्रदेशको बैठकमा पनि नतिजा नदेखिने हो भने पार्टी सरकारमा रहिराख्नुको औचित्य नहुने धारणा दोहोर्‍याएका छन् । ‘हामीमाथि चौतर्फी हमला भइरहेको छ । त्यसलाई छिचोलेर अगाडि बढ्नुको विकल्प छैन’, इटहरी बैठकमा दाहालले भनेका थिए ।

दाहालले पार्टीलाई तेस्रोबाट पहिलो नम्बरमा पुर्‍याउन आफूलाई काठमाडौंभन्दा गाउँ प्यारो रहेको बताए । नेता र कार्यकर्ताबाट नेताहरू सुविधाभोगी भएको आरोप लागिरहेका बेला दाहालले आफू गाउँमा खट्न तयार रहेको बताएका हुन् । दाहालले दुई वर्षभित्र पार्टीलाई पहिलो नम्बरमा पुर्‍याउने बताउँदै आएका छन् । एमाओवादीको कोचिला, लिम्बुवान र किराँत प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रममा दाहालले उक्त क्षेत्रका नेताप्रति लक्षित गर्दै भने, ‘म गाउँमा आएर खट्न चाहन्छु । मलाई काठमाडौं बस्ने रहर छैन । मलाई तपाईंहरूले गाउँमा बोलाउनुस् ।’ सुनसरीको इटहरीमा शनिबार भएको एक नम्बर प्रदेशको दुई चरणको बैठकमा दाहालले त्यस क्षेत्रका नेता तथा कार्यकर्ताको गुनासो सुनेपछि जबाफ दिएका हुन् ।

बाबुराम भट्टराई र मोहन वैद्यले पार्टी विभाजन गराएपछि सांगठनिक रूपमा कमजोर बनेको एमाओवादीलाई पहिलो नम्बरको पार्टीमा रूपान्तरण गर्न नेता–कार्यकर्ताले आफ्ना गल्तीकमजोरी स्वीकार गरी सच्चिएर अगाडि बढ्नुको विकल्प नरहेको दाहालले बताए । दाहालका साथमा उपाध्यक्ष श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र उत्पादन ब्युरो प्रमुख लोकेन्द्र बिष्टमगरले पनि प्रशिक्षण दिएका थिए । अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ । 

]]>