सधैँ नै अलमलमा हुन्छु म– के हो कला ? साहित्य के हो ? के लेख्दा बन्छ साहित्य ? कसरी खिप्दा हुन्छ कला ?
के चाहिन्छ कलामा सामग्रीहरू ? साहित्यका मसला के के हुन् ?
यसरी अल्मलिनुको कारण छ– जो जसलाई हामी ‘कला–साहित्यका जानकार’ ठान्छौँ, उनीहरू स्वयंको आत्मस्वीकारोक्ति रहन्छ– ‘मैले के खिपेँ÷के लेखेँ, यसै भन्न सक्दिनँ !’
र, मचाहिँ एउटा ‘भावुक’ पाठक÷दर्शकका रूपमा तिनका कला र सिर्जनामा हुरुक्कै बन्छु । सायद, म कला र सिर्जनाको अत्यन्त कमजोर ‘कालीगड’ हुँ र नै हरेकजसोका कला र सिर्जनामा रमाउँछु ।
अर्को कारण पनि हुन सक्छ कि मलाई कला वा सिर्जना ‘राम्रो’ वा ‘नराम्रो’ कहिल्यै लागेन बरु ‘मनपर्ने’ वा ‘मन नपर्ने’ चाहिँ भयो बारबार ।
म प्रस्ट छु कि कुनै पनि कला वा सिर्जनालाई हेर्ने आँखा र बुझ्ने शैली मात्र भिन्न हो, कला वा सिर्जना आफैँमा राम्रो वा नराम्रो हुँदैन । कुरो– चन्द्रमामा दाग देखेर ‘नराम्रो चन्द्रमा’ भन्ने कि वा ‘दागबाहिरको चन्द्रमा, आहा ! कस्तो सुन्दर ?’ भन्ने भन्ने मात्र हो ।
र, मलाई थाहा भएको तथ्य के पनि हो भने, हरेक चिजमा ‘दाग’ छ र त्यही दागबीचमा पनि उसमा सौन्दर्य अनेक छ ।
यहाँ उठाउन खोजिएको सन्दर्भ ‘अपरिचित अनुहार’को हो ।
साहित्यका अध्येता, साहित्यकै अध्यापक, साहित्यकै प्रयोक्ता÷सर्जक अनि साहित्यकै विश्लेषक र अनुवादक अर्थात् जीवन नै साहित्यमै समर्पित गरेका महेश पौड्यालले सिर्जना गरेको कृति हो– ‘अपरिचित अनुहार ।’
छोटा तर प्रभावकारी र दार्शनिक कविता लेख्ने कविको परिचय बनाइसकेका महेश ‘भावुक’ र ‘संवेदनशील’ कथा कुँद्ने सर्जकको परिचय स्थापित गर्न पनि सफल छन् । उनको अनुवाद कौशल पनि धेरै कृतिमा देखिइसकेको छ ।
‘अपरिचित अनुहार’ महेशको पछिल्लो साहित्यिक कृति हो । कथासंग्रहका रूपमा बजारमा आएको यस कृतिभित्र १८ वटा कथा संगृहीत छन् । कथाहरू विविध सन्दर्भ, विषय र भावका पृष्ठभूमिमा रचिएका छन् ।
यस कृतिभित्रका कथाहरू पढिरहँदा पाठकले विषय र सन्दर्भमा नयाँ कुरा खासै पाउँदैन । परम्परागत र अति सामान्य जस्ता लाग्ने विषय र सन्दर्भ यी कथामा आएका छन् ।
तर नि– अतिसामान्य र सर्वव्यापी विषय र सन्दर्भलाई बुन्ने वा कथाको साँचोमा उन्ने महेशको शिल्प, कौशलले साँच्चै प्रभाव छाडेको छ । कति सहजै, स्वाभाविक रूपमा सरल तरिकाले, सामान्य कुराकानीको शैलीमा कथाको उठान गरिदिन्छन् र भुतुक्क हुनेगरी कथा विस्तारसँगै शिल्प परिष्कार गर्छन् र कथाको अन्त्य हुन्जेलमा ‘यो कथाकार कथाको सुरुवातकै कथाकार हो र ?’ भन्ने प्रश्न पाठकमा उब्जाइदिन्छन् ।
हो, यही कलाले त महेशले नेपाली कथा साहित्यमा आफ्नो भिन्न पहिचानको दाबी गरिरहेका छन्– मुखले होइन, सिर्जनाले÷कामले ।
तर, आफ्नो भनाइमा महेश केही अग्रज र समकालीनले आफूलाई परंपरागत कथाकार भनेका, प्रयोगशील हुन नसकेको र प्रयोगशील बन्न सुझाव दिएका उल्लेख गरेका छन् ।
र, आफू परम्परागत कथाकारकै भीडमा रहेको अनि अग्रज र समकालीनको आग्रह, सुझावअनुसारका प्रयोगशील कथा लेख्ने आफ्नो ‘क्षमता’ नभएको विनम्रतापूर्वक निवेदन गरेका छन् ।
वास्तवमा दुःख छ नेपाली सर्जकलाई– प्रयोगशीलता भनेको के हो ? के र कसरी लेख्दा हुन्छ प्रयोगशील ? प्रा.डा. अभि सुवेदी वा प्रा.डा. गोविन्दराज भट्टराईहरूले पढेका पश्चिमा साहित्य मात्र प्रयोगशील हुन् कि वा महेश पौड्यालहरूले लेखेका ‘बूढो रूख र जुरेली’ कथामा पनि खोजेमा भेटिन्छ प्रयोगशीला ?
प्रयोग विषय, भाव वा शिल्पमा मात्र हुन्छ कि प्रस्तुतिमा पनि ?
प्रयोग ’फन्टुस फिक्सन’ अर्थात् ’नगरकोटी साहित्य’ मात्र हो कि वा ’अर्थपूर्ण’ शिल्प प्रयोग हो ?
छिरौँ ‘अपरिचित अनुहार’भित्रै ।
डेढ दर्जन फरक विषय, भाव र सन्दर्भमा रचिएका कथाहरू समेटेर शिखा बुक्सले प्रकाशन गरेको यस कृतिका कथामा हामी बाँचेको परिवेश र हाम्रो समाजका पात्र अनि चरित्रहरूलाई कथाको फ्रेममा हालेर छर्लंग पारिदिएका छन् महेशले । समाजका बहिष्करणमा रहेका, सीमान्तमा उदास र उपेक्षित जीवन बाँचेका, प्रकृतिले र नियतिले अनि अमानवीयताले विवश बाँचेका पात्र र चरित्रलाई आफ्ना रचनामा छनोट गर्न रुचाउने महेशका कथाले पाठकको संवेदना र हृदयमा प्रहार गरेका छन् ।
महेश स्वयं मस्तिष्कभन्दा बढी हृदय चलाउँछन् । यस्ता व्यक्तिमा कठोर मस्तिष्कले भन्दा भुवादार हृदयले बढी निर्देशन गर्छ । त्यही हृदयको निर्देशनले छनाएका विषय र पात्रकै बाहुल्य यी कथामा देखिन्छ पनि ।
सुरुकै कथा ‘बार्दलीको एउटा अनुहार’मा ३ जना दृश्य पात्रहरूलाई प्रस्तुत गरेर पाठकीय संवेदना तान्दैतान्दै, एउटा पात्र अर्थात् पहिलो ड्राइभरलाई समाजको ‘विसंगत’ पात्रका रूपमा उभ्याउँदै अन्ततः सहचालक ‘मने’लाई आदर्श पात्र देखाएर कथाको मोडमा संवेदना भरिदिएका छन् ।
‘उपहार’ कथामा बालसुलभ क्रियाकलाप र बालमनोविज्ञानलाई उन्दै÷बुन्दै अन्ततः एउटा अबोध बालक कसरी पारिवारिक÷सामाजिक सम्बन्ध सुधार र एकता अनि मानवीय संवेदनाको सेतु बन्न सक्छ भन्ने दृष्टान्त पेस गरेका छन् महेशले ।
उसो त, ‘मृगनयनी’ कथा हाम्रो ‘साहित्य बजार’का ‘बिकाउ’ वा ‘बजारिया’ लेखकप्रतिको चोटिलो व्यंग्य हो । भलै, केही हदसम्म यस कथाले महेश स्वयंलाई पनि व्यंग्य गरेको छ । शारीरिक अशक्ततालाई साहित्यका विषय र पात्र, त्यसमा पनि दया र करुणापेक्षी पात्रका रूपमा चित्रण गरेर ‘आँसुको व्यापार’ गर्ने लेखक÷साहित्यकारलाई ‘भित्तैमा पुग्ने गरी’ ठोकेका छन् महेशले कथामा ।
यस्ता जीवनबोधी, विसंगतबोधी, दार्शनिक र प्रभावकारी कथाहरू संग्रृहीत ‘अपरिचित अनुहार’ ’बूढो रूख र जुरेली’मा गएर टुंगिन्छ ।
‘बूढो रूख र जुरेली’ कथामा पुग्दा पाठकले अर्कै चिज भेट्छ कथामा र कथाकारमा पनि । मानवीय संवेदनामा मात्र कथा खिपिरहेका महेश यस कथामा आएर प्रकृतिलाई नै मानवीकरण गरिदिन्छन् । पर्यावरण माथिको मानवीय अत्याचारबाट तर्सिएका पशु–पक्षी र वनस्पतिको मनोविज्ञानलाई कति प्रभावकारी ढंगले प्रकट गरिदिएर विनाशको संघारमा रहेको मानव अस्तित्वको रक्षाको गम्भीर सन्देश दिएका छन् यस कथामार्फत महेशले ।
अन्त्यमा,
किन हुँदैन निराशामा जीवन ? आँसुमा आदर्श छैन कसले भन्छ ? कसले ‘विचार’ र ‘प्रगतिशीलता’ देख्दैन संवेदनामा ? को ठान्छ कि जीवनमा फूलैफूलको मात्र साम्राज्य हुनुपर्छ ? काँडाबाहेक गरेर किन मुस्कुराउन सक्छ गुलाफ ?
यी प्रश्नको सटिक उत्तर हो– ‘अपरिचित अनुहार ।’
जीवनका मूलतः ‘विसंगत’ पक्षको उद्घाटन बडो दार्शनिक र कारुणिक पारा (शैली) मा गर्न खप्पिस साहित्यकार, समालोचक, अनुवादक उपप्राध्यापक महेश पौड्यालको यो कथाकृतिले पटकपटक पाठकका आँखाका डिल र गालाका भित्ता समाउन बाध्य पार्छ ।
प्रतिक्रिया