श्रीआचार्य
राष्ट्रिय रूपमा सम्बोधन गरिनुपर्ने सबै समस्याको जड राजनीतिक अस्थिरता हो । राजनीतिक व्यवस्थाको सही छनोट नहुँदासम्म मुलुकमा अस्थिरता रहिरहन्छ । हाम्रो मुलुकमा राजनीतिक व्यवस्थाको सही छनोटले कहिल्यै दिगोपन पाएन । त्यसैले हामी सधैं अस्थिर र समस्याग्रस्त रह्यौ, छौं । राजनीतिको सही बाटो भनेको जनताको सेवा हो । जनतामाथि शासन गर्नु होइन । जनता आफैंले आफ्नो सेवाको लागि चुनेका प्रतिनिधिले सत्ता समाले भने तिनले जनताको सेवा गर्छन्– यो सिद्धान्तमा धेरैले विश्वास गर्छन् । यस्तो सत्ता–व्यवस्थालाई प्रजातान्त्रिक व्यवस्था भनिन्छ । नेपालमा २००७ सालदेखि प्रजातान्त्रिक व्यवस्थाको निम्ति राजनीतिक आन्दोलन भए र प्रजातन्त्र पटकपटक बहाल भयो तर त्यो व्यवस्था स्थिर हुन सकेन । अत: सधैं राजनीतिक अस्थिरता रह्यो । त्यसैले राज्यका समस्या सात सालदेखि उही र उनै छन् । राज्यले सम्वोधन गरेन, गर्दै गर्दैन ।
किनभने जनता सचेत थिएन । अहिले पनि नेपाली जनता राजनीति वा प्रजातन्त्रका प्रति सचेत छैन । हामी के सोच्छौं भने, राजनीति केही नेता, दल र तिनका कार्यकर्ताको पेवा हो । प्रजातन्त्रका नाममा तिनीहरूले जे भन्छन् वा गर्छन्– त्यसमा हामीले सहमति वा विमति दिने हो । दिन्छौं । त्यो सहमति र विमतिको आधार नितान्त स्वार्थ प्रेरित हुन्छ । किनभने हामी लोभी छौं । लोभी मनले कहिल्यै पनि सही र गलत हेर्दैन । मात्र आफ्नो अनुकूलता हेर्छ । आफ्नो अनुकूलता र स्वार्थमा बिक्नेले कहिल्यै सही निर्णय गर्न सक्दैन । त्यस्तो व्यक्ति दासवत् जिउँछ । त्यसैमा रमाउँछ । नेपाली समाज त्यस्तै छ । त्यसैले यहाँ मत बेचिन्छ, किनिन्छ । जनता आफ्नो मत बेच्छन् र तिनका प्रतिनिधि आफूलाई बेच्छन् । प्रजातन्त्र हाम्रा निम्ति कुन्नि केलाई स्वर्ग मन नपरे जस्तो हो । अत: यहाँ जे जे शासनकाल भए पनि सधैं एउटै वर्गले राज गरेको छ । त्यो वर्ग हो : ठगवर्ग । पहिला ठगहरूले आफंै देश चलाउँथे । आजकल हामी जनता ठगहरूलाई देश चलाउन पठाउछौं । फरक सारमा छैन, रूपमा मात्र छ । मतलव हामी राजनीतिक जिम्मेवारीबाट मुक्त छांै । आफैंले आफैंलाई राजनीतिबाट अलग राखेका छांै । यसकारण कि, यसो गर्दा नेताहरूलाई गाली गर्न हामीलाई छुट हुन्छ । नेता जति पनि गाली खान तयार हुन्छ ताकि चुनावमा उसलाई जिताइदिनुस्– पुग्छ । त्यो गाली खाएबापत उसले देश लुट्ने मौका पाउँछ । त्यस निम्ति उसले के गर्दैन, सबथोक गर्छ । यसरी प्रजातन्त्र नेतातन्त्र हुन्छ । हुन पुग्छ । हामीकोमा भएको यही हो । त्यसैले परिवर्तन जति भए पनि समस्याहरू सधैं ज्यूँका त्यूँ रहे । देश लुटिइरह्यो ।
हामीले कहिल्यै सोचेनौं कि, प्रजातन्त्र जनताको व्यवस्था हो । मेरो व्यवस्था हो । हामी जनता सचेत नभए यो व्यवस्था राम्रो र टिकाउ दुवै हुँदैन । यसका हर दोष र गुण पक्षमा मेरो संलग्नता रहेको हुन्छ । जस अपजस म आफैं लिन्छु– यो सोच हामीमा न हिजो थियो न आज आएको छ । राजनीति र प्रजातन्त्रप्रति जनचेतनाको अभावको अवस्था भनेको यही हो । यो अवस्था रहँदासम्म सही र गलत छुट्याउन सकिन्न र देशको राजनीतिले स्थिरता पाउँदैन । अस्थिर राजनीतिको मूल विशेषता नै समस्यामाथि समस्या थप्नु हो । त्यसैले त्यस्तो देश– जहाँको जनता सक्षम छैन, अझ भनौं बढी स्वार्थी र लोभी छ– त्यहाँको राजनीति सधैं समस्याग्रस्त हुन्छ । नेताहरू समस्यामा रमाउने र समाधान नचाहने हुन्छन् । यसकारण नेताहरू स्वयं समस्या उत्पन्न गर्छन् र समाधानको नाटक पनि देखाउँछन् । जनता त्यही नाटक हेरेर रमाउँछन् । जनतालाई त्यति भए पुग्ने भए पछि नेताले त्योभन्दा बढी किन गर्ने ? समस्याहरूको समाधान किन खोज्ने ?? र राजनीति दिगो बनाउने ???
गल्ती हामी जनता आफैंको हो । राजनीतिमा, यो र यही व्यवस्था हाम्रो लागि उचित छ भन्ने निर्णय लिन हामीले सकेनौं । यतिसम्म कि हामी प्रजातान्त्रिक व्यवस्थाको विकल्प खोज्नमा पनि रमाउँछौं । प्रजातन्त्र मासेर निर्दलीय व्यवस्था लागू गर्दा हामीले बत्ती बालेकै हो । त्यसको परिणाम २९ वर्ष राजाका रैती भएर बस्नु पर्यो । देशको नागरिक भइएन । तर अझै पनि ज्ञानेन्द्रोदयको सपना देख्न छोडेका छैनौं । त्यसपछि मान्छे जो स्वभावैले स्वतन्त्र हुन्छ, प्रजातन्त्र चाहन्छ– उसलाई बन्धन राख्ने र नियन्त्रणमा लिने जुन राजनीतिक सोच छ, त्यसका पछि मान्छे काट्दै दगुर्ने हामी नै भयौं । अझै छौं । तर पनि भन्छौं : हामी र हाम्रो पार्टी प्रजातान्त्रिक छ । अर्थात् कमल थापा र पुष्पकमल दाहालहरू प्रजातन्त्रको पाठ पढाउँछन् र हामी ज्ञानी भएर त्यो पत्याएर घोक्छौं । ओलीका चुट्किला सुनेर मक्ख पर्छौ । भट्टराईको नयाँ शक्तिको जालमा फस्ने होडमा लाग्छौं । बीपीको विचार रित्याएर भुसको भारी बोकेको कांग्रेस हुनमा रमाउँछौं । भने, अहाँ यो मुलुक सारमा कहिल्यै पनि परिवर्तन हुँदैन । दक्षिणको नाकाबन्दी फेरिफेरि पनि दोहोरिरहन्छ । उत्तरको ढोका खुल्दैन । किनभने, हामीमा राजनीतिक चेतना नै छैन । छ त, स्वार्थ र लोभ ।
]]>
प्रतिक्रिया