देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

औषधि सिमापारी थन्कियो

देशान्तर

वीरगन्ज। नेपाल ल्याउन खोजिएको करिब रु ४५ करोड मूल्य बराबरको ७० ट्रक औषधि सिमापारी रक्सौलमा थन्किएको छ । 

भारतबाट औषधि लिएर वीरगन्ज नाकामा आइपुगेका मालबाहक गाडी मधेसकेन्द्रित दलको आह्वानमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतमै थन्किएको हो । आयातमा आएको रोकावटका कारण यस क्षेत्रमा अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । मागको ४० प्रतिशत औषधि अझै पनि बजारमा अभाव देखिएको नेपाल औषधि व्यवसायी महासङ्घले जनाएको छ । 

औषधिको आयात हुन नसकेपछि अहिले शल्यक्रिया तथा मुटुरोगसम्बन्धी औषधिको अभाव सुरु भएको छ । शल्यक्रिया गर्दा प्रयोग हुने उपकरण, स्लाइन तथा हृदयाघात हुँदा प्रयोग हुने औषधि तथा अक्सिजनको अभाव भएको व्यवसायीहरु बताउँछन् । 

भारतबाट आयातित अधिकांश औषधि वीरगन्ज भन्सार नाका हुँदै नेपाल भित्र्याउने गरिन्छ । भारतको पटना, मुम्बई, लखनउ, मद्रास, तमिलनाडुलगायतका क्षेत्रबाट औषधि नेपाल भित्रिने गरेका छन् । करिब ८० प्रतिशत औषधि वीरगन्ज नाकाबाट मात्र आयात हुने गर्छ । नेपालमा वार्षिक करिब रु ३५ अर्ब मूल्य बराबरका औषधि भारत र तेस्रो मुलुकबाट आयात भइरहेका छन् । भारतबाट आयात हुने औषधिमध्ये रु १२ अर्ब मूल्य बराबरका औषधिजन्य शल्यक्रियासम्बन्धी सामानमात्र नेपाल भित्रिने गरेका छन् ।

]]>