देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रविको ‘पक्राउ पुर्जी’बारे शंकर पोख्रेलले के भने ?

देशान्तर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका नेताहरूलाई रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्था स्मरण गराएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई ‘थाहा’ नहुने कुरै भएन । तर पनि ‘सुधार’को खोजी यस्तै वेलामा हुने त हो नि !

लामिछाने गृहमन्त्री भएका बेला कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यालयमा गएर पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले कान्तिपुरकै कार्यालयमा पुुगेर सिरोहियाविरुद्ध पक्राउ पुर्जी लेखेको थियो ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार राति हेपाली हाइटस्थित उनको निवासबाट पक्राउ गरेको हो ।

यता पक्राउ पुर्जी नलिएरै प्रहरी लामिछानेलाई पक्राउ गर्न गएकोप्रति रास्वपाले असन्तुष्टि पोखेको छ । ‘सभापतिको घरमा — त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पुर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन’, रास्वपाको भनाइ छ ।

शुक्रबार नै सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो ।