देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डढेलोमा परी युवतीको मृत्यु, चार घाइते

देशान्तर

पाँचथर । वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ । चारजना घाइते भएका छन ।

कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो ।

बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जंगल गएका थिए ।

आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरु डढेलोमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए ।

घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिमाको गए राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको धरानमा उपचार भइरहेको छ ।

उक्त वनमा लागेको आगो अझैसम्म नियन्त्रण नआएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिए । हावाहुरी चल्नासाथ डढेलो बस्तीमा पस्ने खतरा रहेको उनको भनाइ छ । आगो निभाउन गएका स्थानीय खगेन्द्र विक लडेर घाइते भएका छन् ।

यस्तै, फिदिम नगरपालिका–१३ जैवारीस्थित रानीवन सामुदायिक वनमा लागेको डढेलोमा परेर फिदिम–१४ की ४७ वर्षीया उषा नेम्बाङ राई घाइते भएकी छिन् ।

दाउरा बोकेर आउने क्रममा उनी डढेलोमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको धरानमा उपचार भइरहेको छ ।